+
+
Shares

बाँदर र बँदेल नियन्त्रणको माग गर्दै संसद् पुग्यो जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २५ गते १६:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाँदर र बँदेलबाट हुने बालीको क्षति नियन्त्रण गर्न माग गर्दै संसद्‌मा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरिएको छ ।
  • प्रमुख राजनीतिक दलहरूले बाँदरको वैज्ञानिक संख्या व्यवस्थापन र बँदेलको उचित नियन्त्रणका लागि स्पष्ट सरकारी कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गरेका छन् ।
  • प्रस्तावमा वन्यजन्तुबाट किसानको खाद्य सुरक्षा र ग्रामीण बसोबासमा परेको असरलाई राष्ट्रिय समस्याको रूपमा उल्लेख गरिएको छ ।

२५ साउन, काठमाडौं । बाँदर र बँदेल नियन्त्रणको माग गर्दै संसद्‌मा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पुगेको छ । नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, नेकपा एमाले र श्रम संस्कृति पार्टीले यस्तो प्रस्ताव प्रतिनिधिसभामा दर्ता गरेका हुन् ।

नेपालका पहाडी तथा ग्रामीण क्षेत्रमा बाँदर र जंगली बँदेलबाट कृषि बालीमा भइरहेको क्षति पछिल्ला वर्षहरूमा गम्भीर हुँदै गएको उक्त प्रस्तावमा उल्लेख छ ।

‘यो समस्या अब सामान्य मानव वन्यजन्तु द्वन्द्वमा मात्र सीमित नरही किसानको उत्पादन, आम्दानी, खाद्य सुरक्षा, कृषि पेशाप्रतिको आकर्षण तथा ग्रामीण बसोबासमै प्रत्यक्ष असर पार्ने राष्ट्रिय समस्याका रूपमा देखिएको छ,’ प्रस्तावमा उल्लेख छ ।

नेपालको संविधानको धारा ३६ ले प्रत्येक नागरिकलाई खाद्यसम्बन्धी हक र खाद्य सम्प्रभुताको हक सुनिश्चित गरेको छ । खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन २०७५ ले राज्यलाई नागरिकको खाद्य सुरक्षा सुनिश्चित गर्ने दायित्व प्रदान गरेको छ।

यस पृष्ठभूमि राखेर विपक्षी दलहरूले बाँदर र बँदेल नियन्त्रणको माग गर्दै जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव लगेका हुन् ।

वैज्ञानिक बाँदर संख्या व्यवस्थापन गर्नुपर्ने उनीहरूको आग्रह छ ।

‘बाँदरको हकमा उच्च द्वन्द्व भएका क्षेत्रमा वैज्ञानिक अध्ययन र निरन्तर अनुगमनसहित लक्षित बाँझोपन तथा अन्य उपयुक्त जनसंख्या व्यवस्थापन कार्यक्रम सञ्चालन गरियोस्’ प्रस्तावमा भनिएको छ ।

साथै, जंगली बँदेलको हकमा नियमित संख्या अध्ययन गरी अत्यधिक प्रभावित क्षेत्रमा प्रचलित कानुन, वैज्ञानिक मापदण्ड, पारिस्थितिक सन्तुलन तथा स्पष्ट सरकारी निगरानीअन्तर्गत आवश्यक नियन्त्रण कार्यक्रम सञ्चालन गर्न माग गरिएको छ ।

अगाडि भनिएको छ, ‘कुनै पनि नियन्त्रण कार्य अनियन्त्रित वा अवैज्ञानिक हुन नदिइयोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?