News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा रोजगारीको अभावमा शिक्षित युवाहरू विदेशिन बाध्य छन् र यसले नेपाली परिवारमा गहिरो विछोड र मानसिक पीडा सिर्जना गरेको छ।
- स्वदेशमै केही गर्ने सोचका साथ उद्यम सुरु गरेका युवाहरू उचित सरकारी नीति र लगानीमैत्री वातावरण नहुँदा हतोत्साही भएर पलायन भइरहेका छन्।
- सरकार, निजी क्षेत्र र शैक्षिक निकायले व्यावहारिक शिक्षा, स्वरोजगार र उद्यमशीलता प्रवर्द्धन गरी युवाको श्रम र सीपलाई स्वदेशमै उपयोग गर्ने वातावरण बनाउनुपर्छ।
बिहानको झिसमिसे उज्यालोमा गाउँको बाटोमा एउटा जिप रोकिएको थियो । घरको आँगनमा आमा रुँदै थिइन् । बाबु आँसु लुकाउन खोज्दै थिए । श्रीमती श्रीमान्को हात समाएर सुँकसुँक गर्दै थिइन् । सानो छोरो बारम्बार सोधिरहेको थियो, ‘बाबा, कहिले फर्किनुहुन्छ ?’ तर त्यो प्रश्नको उत्तर कसैसँग थिएन ।
त्यही बाटोमा हिँड्दै थियो, अर्को युवा जो हातमा एसईई, प्लस २, स्नातक, स्नातकोत्तर र तालिमका प्रमाणपत्रहरु भरिएको फाइल बोकेर घरबाट निस्किएको थियो । निस्कने बेला आमाले ढोकासम्म आएर भनेकी थिइन्, ‘आज त राम्रो खबर लिएर फर्किनु है छोरा ।’ बाबु केही बोलेनन्, तर आँखामा हजारौं आशा टलपलाएका थिए । आँखामा आफ्नो मात्रै नभई बाबुआमाको सपना बोकेको ऊ जीवन धान्ने आधारको खोजीमा थियो ।
विभिन्न कार्यालय पुग्छ । योग्यता बुझाउन खोज्छ तर जहाँ गए पनि उही प्रश्न– अनुभव कति छ ? सोच्छ– अवसर नपाई अनुभव कसरी बनाउनु । अन्तिममा एउटै उत्तर सुन्नुपर्छ, ‘हामी तपाईंलाई पछि सम्पर्क गर्छौं ।’ तर त्यो सम्पर्कको समय कहिल्यै आउँदैन ।
साँझ घर फर्किंदा ऊसँग आज पनि नयाँ खबर होइन, केवल निराशा थपिएको छ । बेरोजगार युवाले समाजका कटाक्ष पनि सहनु पर्छ । ‘यति पढेर पनि केही गर्न सकेन ? घर छोड्न नसक्ने । फलानो त विदेश गएर धेरै कमाइरहेको छ ।’ यी कुराले उसलाई विदेश मोह जागृत गराइरहेको हुन्छ ।
एउटा उद्यमी नेपालमै केही गर्छु भन्दै युवा जोश–जाँगर लिएर उद्यम सञ्चालन गर्छ । सोचे जस्तो लागतमा व्यवसाय सुरुवात गर्न सक्दैन । भएको घरबारी धितोबन्धकी राखी ऋण लिएर जेनतेन उत्पादन सुरु त गर्छ तर बजारमा उसको उत्पादन लागतभन्दा कम मूल्यमा नै आयातित सामान पाइन्छन् । उसले बजारमा प्रवेश कसरी गर्नु ।
ऋण तिर्न फेरि ऋण खोज्दै २/४ वर्ष व्यवसाय चलाए पनि अन्तत: सबै बाटा बन्द हुन्छन् । बैंकले सम्पत्ति व्यवसाय लिलाम गर्न थाल्छ । अब उसले जीवनबाटै हार खान्छ । अनि, कि देश छोड्ने कि परान छोड्ने बाटो खोज्छ ।
डाक्टर, इन्जिनियर, व्यवस्थापक जो कोही पनि नेपालमा जागिरबाट सन्तुष्ट देखिँदैनन । एउटा कर्मठ इमान्दार कर्मचारी वर्षौं मिहिनेत गरेर जागिर पाएर खुसी मनले जीवनको यात्रा तय गर्छ । परिवार बच्चा सबै छोडेर सेवामा समर्पित हुन्छ । सामान्य घरबास, सवारी साधन जोहोका लगि लिएको ऋणकर्जाको व्याज किस्तामै उसको महिनाको तलब सकिन्छ ।
जागीर खाएपछि बा–आमा, श्रीमती अनि बालबच्चाका बढ्दै गरेका इच्छा पूरा गर्न उसलाई नैतिक र सामाजिक दबाब परिरहेको हुन्छ । त्यसमाथि समाजले कर्मचारीमाथि हेर्ने नकारात्मक सोचले उसलाई विस्तारै जागिरप्रति वितृष्णा पलाउन थाल्छ । अनि सम्झन्छ, पढाइ छोडेर विदेश गएका साथीको परिवारका सदस्यहरूको चहलपहल, अग्लो घर, हातमा अपडेटेड मोबाइल फोन छ । म नेपाल किन बसें ?
विदेशमा पुगेपछि सुरु हुन्छ, विदेशिएका युवाहरूको वास्तविक संघर्ष । भाषा फरक, संस्कृति फरक, मौसम फरक, कामको दबाब फरक । बिहानदेखि बेलुकासम्मको मिहिनेत, मनभरि परिवारको याद अनि चाडपर्व आउँदा सामाजिक सञ्जालमा गाउँघरका रमाइला तस्वीर देख्दा मन भक्कानिन्छ ।
दशैंमा बाबुको हातको टीका, तिहारमा दिदीबहिनीको माया, तिजमा माइतीको आँगन, जन्मदिन, विवाह, सन्तानको पहिलो पाइला, बुबाआमाको स्वास्थ्य । यी सबै क्षणहरू मोबाइलको स्क्रिनमा सीमित हुन्छन् । आज गाउँका धेरै आमाहरूको दिन मोबाइलको घण्टी पर्खंदै बित्छ । बुबाको दिन चौतारामा बित्छ र नातिले कहिल्यै नदेखेको बाबुको तस्वीर चुमेर सुतिरहेको हुन्छ ।
तस्वीरमा हेर्दा सुकिला–मुकिला देखिए पनि विदेशमा रहेका सन्तानहरूको मन कुडिएकै हुन्छ । चाडपर्वमा मुस्कुराउँदै भिडियो कल गर्छन्, ‘आमा, अर्को वर्ष पक्कै आउँछु ।’ आमाले पनि हाँसेर भन्छिन्, ‘हुन्छ बाबु, आफ्नो ख्याल गर्नू ।’ तर फोन काटिएपछि दुवैतर्फ आँसु झर्छ ।
यो कुनै एउटा परिवारको मात्रै कथा होइन । आजको नेपाली समाजमा धेरै परिवार यही यथार्थबाट गुज्रिरहेका छन् । नेपालमा हरेक वर्ष हजारौँ विद्यार्थी विश्वविद्यालयबाट उत्तीर्ण हुन्छन् । उनीहरू भविष्यका सपना बोकेर बजारमा प्रवेश गर्छन् । तर बजारले उनीहरूलाई अवसरभन्दा बढी निराशा दिन्छ । डिग्रीको संख्या बढे जसरी रोजगारीका ढोका खुलेका छैनन् । बरु खुलेका ढोका पनि बन्द हुने तयारीमा देखिन्छन् ।
परिणामस्वरूप नेपालका धेरै परिवारमा कसै न कसैले विदेशको बाटो समातेका छन् । कसैले उच्च शिक्षा हासिल गर्न, कसैले रोजगारीका लागि, कसैले व्यवसाय विस्तार गर्न त कसैले घरको ऋण तिर्न । उनीहरूको लक्ष्य एउटै हुन्छ, परिवारको जीवनस्तर सुधार्ने । सबैलाई लाग्छ, केही वर्षको दु:खपछि सुखको जीवन सुरु हुनेछ । तर समय सधैं योजनाअनुसार नचल्न सक्छ ।
मानिसको जीवनमा दुई वटा यस्ता महत्वपूर्ण विषय छन्, जसको मूल्य कुनै तराजुमा जोख्न सकिँदैन । एउटा, परिवार र अर्को, सम्मानपूर्वक बाँच्न आवश्यक आर्थिक आधार । परिवारले जीवनलाई अर्थ दिन्छ भने पैसाले जीवन चलाउने आधार दिन्छ । तर जब यी दुईमध्ये एउटा रोज्नुपर्ने परिस्थिति बन्छ । अनि, सुरु हुन्छ जीवनको सबैभन्दा कठिन परीक्षा ।
एक वृद्ध बाबुले भन्नुभएको कुरा अझै पनि मेरो मनमा गुञ्जिन्छ, ‘छोराले महिनैपिच्छे पैसा पठाउँछ । तर पैसा आउँदा ऊ भए जस्तो घर उज्यालो हुँदैन ।’
जब घरमा कुनै ठूलो घटना घट्छ, बा–आमा बिरामी पर्छन्, उनीहरूले विदेशिएको छोरा वा छोरीको अभाव महसुस गर्छन् । छोराले विमानको टिकट खोजिरहेको हुन्छ, भिसाको प्रक्रिया मिलाइरहेको हुन्छ, तर समयले कसैलाई पर्खेर बस्दैन । कतिपयले आफ्ना आमाबुबाको अन्तिम दर्शनसमेत गर्न पाउँदैनन् । सबैभन्दा पीडादायी क्षण त्यही बनिदिन्छ ।
अहिलेको पुस्ताले नेपालमा धेरै खालका परिवर्तन भोगेका छन् । राजदरबार हत्याकाण्ड, राजतन्त्र, माओवादी द्वन्द्वकाल, गणतन्त्र, नाकाबन्दी, विनाशकारी भूकम्प, कोरोना महामारी, जेनजी आन्दोलन, दुई तिहाइको सरकार, बहुमतको सरकार, मिलीजुली सरकार आदि । परिवर्तित जनमतसँगै यो पुस्ताले हरेक परिवर्तनमा आशा र विश्वास गर्न छोडेका छैनन् । तर आशातित रूपमा युवाको मन जित्न कुनै पनि सरकार सफल भएको जस्तो देखिँदैन ।
राजनीति जनताको सेवा गर्ने माध्यम हुनुपर्ने हो, तर पछिल्लो समय सत्ता केन्द्रित राजनीति, व्यक्ति केन्द्रित सोच र प्रतिशोधको प्रवृत्ति हाबी हुँदै गएको देखिन्छ । सरकारप्रतिको निराशा र आक्रोश बढ्दा हेर्नेभन्दा फेर्ने सोचबाट जन्मिएका कतिपय राजनीतिक दलका नेता/कार्यकर्ताका बोली, व्यवहार र क्षमतामाथिको प्रश्न अनि सामाजिक सञ्जालको बढ्दो दुरुपयोग, जथाभावी भिडियो कन्टेन्ट र आधारहीन अफवाहले सत्य र असत्य छुट्याउनै गाह्रो बनाइदिएको छ ।
कसले राम्रो काम गरिरहेको छ र कसले गलत गरिरहेको छ भन्नेभन्दा पनि कसले कसलाई होच्याउने र गलत सावित गर्ने भन्ने प्रतिस्पर्धा बढ्दै गएको देखिन्छ । यसको सबैभन्दा ठूलो असर जनताको विश्वासमा परेको छ । कतिपय राम्रा कामहरू पनि नकारात्मक प्रचार र हल्लाको भिडमा ओझेल परेका छन् ।
हाम्रो समाजमा अर्को दु:खद प्रवृत्ति के छ भने, आफूले केही नगर्ने, अरूले गरेको प्रगति सहन नसक्ने । कसैको अग्लोे घर, चिल्लो गाडी, राम्रो पहिरन वा सफलतालाई प्रेरणाको रूपमा लिनुको सट्टा त्यसलाई इर्ष्या र आलोचनाको विषय बनाउने ।
वर्षौंको मिहिनेत, त्याग, संघर्ष, जोखिम र अनगिन्ती नदेखिएका जागा रातहरू आकलन नै नगरी उसको उपलब्धिलाई एउटा फोटो वा भिडियो हेरेर मित्थ्या मूल्याङ्कन गर्ने, आफूले जीवनमा केही गर्न नसकेको पीडा अरूमाथि आरोप लगाएर आफू चोखिने प्रवृत्ति खतरनाक बन्दै गएको छ । यस्तो प्रवृत्तिले नेपाली समाज दूषित बनिरहेको छ । यस्तो समाजमा न शासन चलाउन सजिलो छ, न त जनताको साथ र विश्वास पाउन ।
अब सोच बदल्न जरुरी छ । सरकारलाई प्रश्न गरौँ, युवालाई रोजगारीको व्यवस्था खोइ ? योजना खोइ ? प्रगति खोइ ? नेताहरूलाई खबरदारी गरौँ, गलत कामको विरोध गरौँ, आलोचना गरौँ तर सत्य र तथ्यका आधारमा । देश बदल्ने टोली केवल सरकारका सीमित प्रतिनिधि मात्रै होइनन्, असल नागरिक पनि हुन् ।
सामाजिक सञ्जालमा हामीले लेखेको एउटा शब्दले कसैलाई उठाउन पनि सक्छ, कसैलाई गिराउन पनि सक्छ । त्यसैले हल्ला होइन, सत्यलाई अंगिकार गरौं । एक अर्कालाई तान्ने होइन, एक अर्कालाई उठाउने समाज निर्माणमा जुटौं ।
आजको आवश्यकता दोषारोपणको होइन, समाधानको हो । त्यता नलागी अझै पनि दोष खोतल्ने मात्रै काम गर्ने हो भने परिवर्तनका लागि ज्यान गुमाएका शहीदहरूको आत्माले धिक्कार्ने छ । अब सरकार, निजी क्षेत्र, शैक्षिक संस्था, नागरिक समाज सबै जिम्मेवार बन्नुपर्छ । नेतृत्व जवाफदेही बन्नुपर्छ अनि युवा जागरुक बन्नुपर्छ ।
शिक्षा प्रणाली पनि समयअनुकूल हुनुपर्छ । आजको विश्वले योग्यता प्रमाणपत्रमा होइन, समस्या समाधान गर्ने क्षमता, सिप, प्रविधि, अनुसन्धान र सिर्जनशिलतामा खोजिरहेको छ । शिक्षालाई व्यावहारिक बनाई अनुसन्धान र उद्यमशिलतासँग जोड्न सके बेरोजगारी समस्या धेरै हदसम्म घट्न सक्छ ।
निजी क्षेत्र राष्ट्र निर्माणको महत्वपूर्ण साझेदार हो । नेपालमा बारम्बार भएका आक्रमण र क्षतिले निजी क्षेत्र हतोत्साही भएको देखिन्छ । सरकारले निजी क्षेत्रलाई सुरक्षाको प्रत्याभूति दिने, निजी क्षेत्रमाथिको आक्रमणलाई निरुत्साहित गर्न आक्रमणकारीलाई हदैसम्मको कारबाही गर्नुपर्छ । लगानीमैत्री वातावरण बनाउने र उत्पादनमुखी अर्थतन्त्रलाई प्राथमिकता दिने हो भने शिक्षित युवाले आफ्नै देशमा भविष्य देख्न थाल्ने छन् ।
कृषि क्षेत्रमा पनि अपार सम्भावना छ । पर्यटन, जलविद्युत्, सूचनाप्रविधि, हरित ऊर्जा, डिजिटल सेवा र सिर्जनात्मक उद्योगहरू पनि रोजगारी सिर्जना गर्ने महत्वपूर्ण क्षेत्र हुन् । सरकारले, उद्यम गर्न चाहने युवालाई सहज ऋण, तालिम, बजार, प्रविधि र व्यवहारमा उतार्ने गरी नीतिगत सहयोग उपलब्ध गराउनु पर्छ ।
सरकार जनताको मालिक होइन, जनताको सेवक र जिम्मेवार प्रतिनिधि हो । त्यसैले सरकारले युवाको आवाज सुन्नु पर्छ । व्याक्तिले हासिल गरेका डिग्री उसको जीवन धान्ने आधार बन्नुपर्छ । अनि, शिक्षा राष्ट्र निर्माणको आधार बन्नुपर्छ ।
आशा गरौं, यो सरकारले संकल्प गरेका बाचाहरू व्यवहारमा देखिने छन् । युवाले आफ्नो सिप, श्रम र सपना आफ्नै माटोमा समर्पित गर्ने वातावरण बन्नेछ । समाजमा एकता, सद्भाव र सहकार्यको भावना जीवित रहने छ । अनि देश समृद्धको बाटोमा अगाडि बढ्ने छ ।
प्रतिक्रिया 4