News Summary
Generated by OK AI. Editorially reviewed.- केन्द्रीय चलचित्र जाँच समितिले १६ वर्ष माथिका वयस्क दर्शकले मात्र हेर्न पाउने सर्तमा भारतीय फिल्म 'बटवारा १९४७' लाई प्रदर्शन अनुमति दिएको छ।
- फिल्मका वितरक मनोज राठीका अनुसार केही परिमार्जनसहित यो फिल्म आज बेलुकादेखि देशभरका हलमा प्रदर्शनमा आउने भएको छ।
- साम्प्रदायिक सद्भाव र शान्ति सुरक्षामा असर पर्न सक्ने भन्दै समितिले फिल्ममा केही विषय संशोधन गरी अनुगमन गर्ने निर्णय गरेको छ।
काठमाडौं । अन्ततः १६ वर्ष माथिका वयस्क दर्शकले मात्र हेर्न पाउने सर्तमा केन्द्रीय चलचित्र जाँच समितिले भारतीय फिल्म ‘बटवारा १९४७’ लाई प्रदर्शन अनुमति दिएको छ । समिति अध्यक्ष उदय रानामगरले आमिर खानले निर्माण गरेको फिल्मलाई ‘एडल्ट’ प्रमाणपत्र दिएका हुन् ।
वितरक मनोज राठीका अनुसार आज बेलुकादेखि यो फिल्म नेपालभर प्रदर्शनमा आउनेछ । केही हलले प्रदर्शन तालिका पनि सार्वजनिक गरिसकेका छन् ।
बिहीबार गरिएको जाँचमा समितिले हालै नेपालमा भएका घटनाक्रमलाई मध्यनजर गर्दैै धार्मिक सहिष्णुता तथा शान्ति सुरक्षामा खल पार्ने तथा नकारात्मक प्रभाव पार्न सक्ने सम्भावना देखिएकाले विभिन्न विषय संसोधन गरी मात्र एडल्ट सर्टिफिकेट दिने निर्णय गरिएको उल्लेख थियो ।
साथै, फिल्ममा संसोधन भए, नभएको विषयमा अनुगमन गर्न चलचित्र विकास बोर्डलाई पत्र लेख्ने निर्णय पनि समितिले गरिसकेको छ । समितिले यसअघि मित्रराष्ट्रको सम्बन्धलाई असर गर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने निर्णय गरिसकेको छ ।
समितिका एक सदस्यका अनुसार, फिल्म रिलिजपछि हलको अनुगमन समेत गरिने भएको छ ।
यो फिल्म के बारेमा छ ?
राजकुमार सन्तोषी निर्देशित यो फिल्म ‘सन् १९४७ मा भएको भारत विभाजनका क्रममा मानिसले भोगेको पीडा, आघात र कठिन परिस्थितिबीच देखाएको साहस तथा मानवीय संवेदनाको कथा हो । असगर वजाहतको चर्चित नाटक ‘जिस लाहौर नई वेख्या, ओ जम्या ई नई’ बाट रूपान्तरण गरिएको फिल्मको कथा सिकन्दर मिर्जा (सनी देओल) वरिपरि घुम्छ, जो आफ्नो परिवारसहित पाकिस्तान बसाइँ सर्छन् ।
त्यहाँ पुगेपछि उनीहरू एक हिन्दू परिवारले छाडेर गएको विशाल हवेलीमा बस्न थाल्छन्, जहाँ घर छाड्न अस्वीकार गरेकी वृद्ध हिन्दू महिला माई (शबाना आजमी) अझै बसिरहेकी हुन्छिन् । साम्प्रदायिक घृणाभन्दा मानवीयता र क?णालाई प्राथमिकता दिँदै सिकन्दरले स्थानीय स्तरमा बढ्दो हिंसाबीच माईलाई संरक्षण र आश्रय दिने निर्णय गर्छन् ।
फिल्ममा सनी देओल, प्रीति जिन्टा, शबाना आजमी, करण देओल, अली फजल र अभिमन्यु सिंहको प्रमुख भूमिका छ । लामो समयपछि ठूलो पर्दामा फर्किएकी प्रीति जिन्टाका लागि यो फिल्म महत्वपूर्ण कमब्याकसमेत हो भने अभिमन्यु सिंह मुख्य खलपात्रको भूमिकामा छन् ।
प्रतिक्रिया 4