News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले सभापति शेरबहादुर देउवासँग पदमा बस्ने नैतिक आधार नरहेको टिप्पणी गरेका छन्।
- कोइरालाले गुटको राजनीति अन्त्य गर्दै देउवालाई समग्र कांग्रेसको अभिभावकका रूपमा भूमिका निर्वाह गर्न आग्रह गरे।
- उनले गालीको राजनीति परित्याग गरी नीति, विचार र इमानदारीका साथ जनताको विश्वास जित्ने निर्णायक अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए।
२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले पूर्वसभापति शेरबहादुर देउवाले आफूलाई सभापति भन्ने नैतिक आधार नभएको बताएका छन्।
सानेपास्थित पार्टी कार्यालयमा जारी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गुर्दै कोइरालाले गुट उपगुटबाट माथि उठेर अभिभावकीय भूमिका निर्वाह गर्न देउवालाई आग्रह गरे । ‘शेरबहादुर देउवा दाइले अहिले कांग्रेसको सभापति भन्ने नैतिक आधार छैन। उहाँले गुट र उपगुटको घेराभन्दा माथि उठेर समग्र कांग्रेसको अभिभावक बन्ने भूमिका निर्वाह गर्नुपर्छ।’
विगतमा भएका आफ्ना कमजोरी स्वीकारेर अघि बढ्नुको विकल्प नभएको कोइरालाको भनाइ छ। अब आरोप र प्रत्यारोप नगरी आत्मसमीक्षा, सुधार र जनताको विश्वास जित्ने अभियान आवश्यक रहेको कोइरालाले बताए।
‘सभापति गगन थापाले सिंगो कांग्रेसलाई एकताबद्ध, जिम्मेवार र जनमुखी नेतृत्व दिँदै देशकै अभिभावक शक्तिका रूपमा स्थापित गर्नुपर्छ,’ कोइरालाले भने,‘कांग्रेसको शक्ति गालीमा होइन, नीति, विचार, इमानदारी र काममा देखिनुपर्छ। अब विगतको गल्तीबाट सिक्दै जनताको भरोसा फर्काउने समय हो।’
राजनीतिक दल, उद्योगी, व्यवसायी, बुद्धिजीवी, किसान, युवा, विद्यार्थी, महिला, श्रमिक र नागरिक समाजसँग छुट्टाछुट्टै संवाद गरेर समस्याहरु पहिल्याएर समाधानको ठोस विकल्प निकाल्न सकिने उनले बताए।
‘कांग्रेस सरकारको आलोचक मात्र होइन, देशको समस्या समाधान गर्ने वैकल्पिक शक्ति हो भन्ने सन्देश दिनुपर्छ,’ कोइरालाले भने,‘अब गालीको राजनीति होइन, जनताको आवाजबाट सरकारलाई जवाफदेही बनाउने निर्णायक अभियान सुरु गरौँ।’
प्रतिक्रिया 4