३१ साउन, काठमाडौं । आइतबार दिउँसो टेकुस्थित नेपाल आयल निगम परिसरमा पुग्दा खाना पकाउने ग्यासको पर्खाइमा ठूलो भिड थियो । जुन निरन्तर छ ।
त्यहीँ भिड छिचोल्दै एक व्यक्ति काँधमा ग्यास सिलिन्डर बोकेर बाहिर निस्किए । उनको एक हातमा लठ्ठी थियो, काँधमा झोला भिरेका थिए । उनी आफै हिँड्न सकिरहेका थिएनन्, उनको एक हात एक महिलाले थामिरहेकी थिइन् ।

महिलाको पिठ्यूमा बच्चा थियो । एक हातले उनले पिठ्यूमा रहेको बच्चालाई थामिरहेकी थिइन् ।
ती ग्यास सिलिन्डर बोकिरहेका व्यक्ति दृष्टिविहीन रहेको अनुमान लगाउन असहज भएन ।
सोही क्रममा एक जना युवक आएर उनले बोकेको सिलिन्डर बोकेर बाहिरसम्म राखेर सहयोग गरिदिए ।

पछि कुराकानी गर्दा उनको परिचय थाहा भयो । उनी जुम्ला पातारासी गाउँपालिका–३ महरीगाउँका दिलबहादुर बुढा थिए ।
उनको हात थामेर हिँडिरहेकी महिला पत्नी निरमाया प्याकुरेल थिइन् । उनको पिठ्युमा दुवैका २ वर्षका छोरा हुन् ।
दिलबहादुरको परिवार काठमाडौंकै फुटुङमा बस्छ । दिलबहादुर पूर्णत: दृष्टिविहीन रहेछन् । निरमाया पनि राम्रोसँग देख्दिनन् ।
ग्यास सकिँदा यो परिवारको चुलो १० दिनदेखि बलेको रहेनछ । आज बिहानै सपरिवार ग्यासको खोजीमा निस्केका रहेछन् ।
‘बिहान ७ बजे नै दुई बस बदलेर यहाँ पुगेका हौं । घामपानी नभनेर कुरेर बस्दा बल्ल ग्यास पाएँ,’ दिलबहादुरले सुनाए । उनको परिवार ग्यास पाएर बाहिर निस्किँदा दिउँसोको १ बजिसकेको थियो ।
ग्यासको अभावमा गुजारेका १० दिन आफ्नो परिवारका लागि बिर्सनलायक बनेको दिलबहादुरले सुनाए ।
‘ग्यास सकिएपछि हामीले बच्चासमेत चिउरा र पानी मात्रै खाएर गुजार्यौं,’ उनले दुखेसो गरे, ‘कुनै दिन ग्यास किन्न पैसा हुँदैनथ्यो । अहिले त पैसा त थियो, पैसा हुँदाहुँदै ग्यास किन्न पाइएन ।’














प्रतिक्रिया 4