+
+
Shares

सबै स्थानीय तहमा कम्तीमा दुई जना ‘क्लाइमेट च्याम्पियन’ राख्नुपर्ने माग

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १ गते १२:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंमा सम्पन्न तीनदिने युवा सम्मेलनले स्थानीय तहमा कम्तीमा दुई जना क्लाइमेट च्याम्पियन राख्नुपर्ने मागसहित १० बुँदे घोषणापत्र जारी गरेको छ ।
  • युवाहरूले जलवायु निर्णय प्रक्रियामा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न र हिमाली समुदायका मुद्दालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा प्राथमिकता दिन सरकारसँग माग गरेका छन् ।
  • घोषणापत्रका निष्कर्षलाई राष्ट्रिय नीतिमा समावेश गराउनुका साथै आगामी क्षेत्रीय तथा अन्तर्राष्ट्रिय जलवायु सम्मेलनहरूमा प्रस्तुत गरिने जानकारी आयोजकले दिएका छन् ।

१ भदौ, काठमाडौं । काठमाडौंमा सम्पन्न तीनदिने युवा सम्मेलनले जलवायु परिवर्तनसम्बन्धी निर्णय प्रक्रियामा बालबालिका र युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सबै स्थानीय तहमा कम्तीमा दुई जना ‘क्लाइमेट च्याम्पियन’ राख्नुपर्ने माग गरेको छ ।

‘जलवायु पारदर्शिताका लागि एकजुट’ नारासहित सम्पन्न सम्मेलनले १० बुँदे घोषणापत्र जारी गर्दै स्थानीय, प्रदेश र संघीय तहका जलवायु निर्णय प्रक्रियामा युवाको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको हो ।

प्रत्येक स्थानीय तहमा पारदर्शी र समावेशी प्रक्रियाबाट क्लाइमेट च्याम्पियन छनोट गरी स्थानीय जलवायु कार्यको नेतृत्व दिनुपर्ने घोषणापत्रमा उल्लेख छ ।

सम्मेलनले जलवायु वित्त जोखिममा रहेका आदिवासी, कृषक तथा सीमान्तकृत समुदायसम्म सहज रूपमा पुर्‍याउनुपर्ने, स्थानीय तहमा जलवायु अनुकूलनका लागि बजेट छुट्याउनुपर्ने र स्थानीय भाषामा मौसम पूर्वसूचना तथा जलवायु नीतिसम्बन्धी सामग्री उपलब्ध गराउनुपर्ने माग गरेको छ ।

हिमाली समुदायका मुद्दालाई राष्ट्रिय जलवायु नीति तथा अन्तर्राष्ट्रिय वार्तामा प्राथमिकता दिन, हिमताल विस्फोटजन्य बाढी र हिमनदी पग्लिने समस्या सम्बोधन गर्न तथा जलस्रोत संरक्षणमा समुदायको नेतृत्व सुनिश्चित गर्न पनि सम्मेलनले माग गरेको छ ।

त्यस्तै, साना किसानलाई प्राथमिकता दिँदै जलवायु–मैत्री कृषि, स्थानीय बीउ बैंक, सौर्य तथा थोपा सिँचाइ र सरल कृषि बीमामा लगानी बढाउनुपर्ने घोषणापत्रमा उल्लेख छ ।

युवाहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जलवायु प्रक्रियामा सक्रिय सहभागिता जनाउने, तेस्रो राष्ट्रिय निर्धारित योगदान (एनडीसी) र स्थानीय अनुकूलन योजना कार्यान्वयनमा दबाब दिने तथा सरकार, निजी क्षेत्र र सम्बन्धित संस्थालाई जलवायु प्रतिबद्धताप्रति जवाफदेही बनाउने प्रतिबद्धता जनाएका छन् ।

सम्मेलनले घोषणापत्र कार्यान्वयन अवस्थाको पनि सुक्ष्म अनुगमन गरिने जनाएको छ । समापन कार्यक्रमलाई सम्बोधन गर्दे नेप्लिज युथ फर क्लाइमेट एक्सशनकी राष्ट्रिय संयोजक आकृति डोटेलले घोषणा पत्र कार्यान्वयन भए नभएको बारेमा पनि निरन्तर खबरदारी गरिने बताइन् ।

सम्मेलनका निष्कर्षलाई सरोकारवाला मन्त्रालयमार्फत राष्ट्रिय नीतिमा सम्बोधन गराउन पहल गर्नुको साथै बंगलादेशमा आयोजना हुने क्षेत्रीय युवा सम्मेलनमा पनि प्रस्तुत गरिनेछ ।

त्यसैगरी नेपालका बालबालिका तथा युवाको आवाज प्रतिनित्विय गरेको सम्मेलनको निष्कर्षलाई संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (यूएनफसीसीसी) को आधिकारिक बालबालिका तथा युवा समूह (योङगो) मार्फत जलवायु परिर्वतन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरिने योङगोका पोलिसि टिम सदस्य अटल ढकालले जानकारी दिए ।

आयोजकका अनुसार नौ वटा भर्चुअल परामर्शपछि तयार गरिएको घोषणापत्रका लागि सातै प्रदेशका १ हजार ५ सयभन्दा बढी युवा भर्चुअल परामर्शमा सहभागी भएका थिए । अनलाइन सर्वेक्षणमा १ सय १६ र मुख्य सम्मेलनमा १ सय ८० युवा प्रतिनिधि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?