News Summary
Generated by OK AI. Editorially reviewed.- बेलायतमा म्यानेजमेन्ट अकाउन्टेन्टको सुरक्षित कर्पोरेट जागिर छाडेर सौर्य बास्तोलाले संगीतमा आफ्नो भविष्य र पहिचान खोज्ने निर्णय गरेका छन् ।
- पहाड र प्रकृतिको गहिरो प्रभाव बोकेका सौर्यले पश्चिमा सांगीतिक धुन र नेपाली शब्दको फ्युजनमार्फत आफ्ना सिर्जनाहरू प्रस्तुत गर्दै आएका छन् ।
बेलायतको सुखद् जीवन । आफ्नै डेरा, म्यानेजमेन्ट अकाउन्टेन्टको आकर्षक र राम्रो कमाइ हुने कर्पोरेट जागिर ।
बाहिरबाट हेर्दा एउटा मान्छेलाई जीवन चलाउन जेजे चाहिन्छ, ती सबै कुरा त्यहाँ उपलब्ध थिए । तर, त्यो जीवनमा एउटा भित्री छटपटी लुकेको थियो । हरेक दिन एउटै कोठा, एउटै एक्सेल सिट र एउटै ढर्राको जिन्दगी।
सौर्य बास्तोलाको अन्तरात्माले त्यो यान्त्रिक जीवनलाई स्वीकार गरिरहेको थिएन । उनी त्यस प्रकारको दैनिकीमा मनैदेखि खुसी थिएनन् ।
भौतिक सुखको त्यो सहरमा उनलाई हरपल दुईवटा कुराले सताइरहन्थ्यो – पहाड र प्रकृति । अनि यिनको तृष्णा मेट्न उनी आफ्नो कोठामा गितार बजाइरहन्थे । अनेकन् धुन निकालेर आफ्नो मन शान्त पारिरहन्थे । र, तिनै धुनमार्फत आफ्नो भावना पोखिरहन्थे । त्यसबेला उनले कसैलाई देखाउन संगीत बनाउथेनन् । उनलाई संगीतबाट नाम र दाम कमाउनु पनि थिएन । बस् शान्त हुनु थियो ।
हर कोहीको जीवन एकनासको हुँदैन । एकसुरे हुँदैन । मोडहरू आइरहन्छन् । कति मोडले दु:खान्तमा पुर्याउँछ त कतिले सुखान्तमा । अनि कुनै-कुनै यस्ता मोडहरू आउँछन्, जसले सदाका लागि उसको भविष्यको दिशा नै बदलिदिन्छ ।
सौर्यको जीवनमा पनि त्यस्तै एउटा क्षण आयो ।
बेलायतमै रहँदा फिल्ममेकर साथी शिरीष गुरुङले उनलाई आफ्नो फिल्मका लागि गीत बनाउन आग्रह गरे । शिरीषले सौर्यको संगीतप्रतिको लगाब देखेका थिए । सौर्यले गीत बनाए । भलै युट्युबमा अपलोड गरिएको सर्टफिल्म थियो । तर, यही कुरा नै उनको जीवनको सबैभन्दा ठूलो ट्रिगर बन्न पुग्यो ।

त्यसबेलासम्म सौर्यले संगीत बनाउने कुनै पनि औपचारिक कक्षा लिएका थिएनन् । तर, साथीकै लागि बनाएको त्यो गीतले उनलाई आफूभित्र रहेको क्षमता चिनाइदियो ।
‘त्यो गीत बनाएपछि मलाई अचानक महसुस भयो – ओहो ! मैले त गीत बनाउन सक्दोरहेछु यार !’ सौर्य त्यो क्षण सम्झिँदै रोमाञ्चित हुन्छन् ।
आफूभित्र लुकेको त्यो सिर्जनात्मक क्षमताको बोध भएपछि उनले एउटा निर्णय लिए – स्थापित र सुरक्षित करियर छाडेर संगीतमा केही गर्ने ।
प्लस टु पढ्दा भारतको पुणेमा भेटिएकी उनकी श्रीमतीले पनि सौर्यको कुरामा साथ दिइन् । सौर्यलाई हौसला दिइन् । त्यसले सौर्यलाई आफ्नो रैथाने जरा तिर फर्काउन हौसायो ।
अहिले सौर्य बेलायतमै बस्छन् । तर, सहरको कोलाहलभन्दा अलि टाढा, पहिलेको दोहोरिरहने जिन्दगीभन्दा अलिकति टाढा । अर्ध ग्रामीण र खुला पहाडी वातावरणमा । आफ्नो परिवारसँग । त्यसले उनलाई आफूले यसअघि खुबै सम्झने पहाड र प्रकृतिको तृष्णा पनि मेटाइरहेको छ ।
सौर्यको गीत सुन्ने जोकोहीले पनि त्यहाँ पहाड र प्रकृतिको प्रभाव महसुस गर्न सक्छन् । पहाडसँग उनको कस्तो खालको सम्बन्ध छ त ? सौर्य यसलाई सजिलै शब्दमा व्यक्त गर्न सकिने कुरा मान्दैनन् ।
‘यो सायद मेरो जरा नै होला । यो न्यानोपन र कनेक्सन प्राकृतिक रूपमै आउने चिज हो, जसलाई व्याख्या गरेर बुझाउन सकिँदैन,’ सौर्य भन्छन्, ‘मेरा लागि पहाड भनेको अत्यन्तै गहिरो अर्थ बोकेको चिज हो । त्यहाँको हरियाली, हावाको बहाव, अनि त्यो चिसो हावा…’
अहिलेकै समयको कुरा गर्दा उनले गरेका गीतको संख्या कम छ । तर, ती सबैमा प्रकृतिप्रति उनले सोच्ने यो भाव झल्किन्छ ।

बतासिँदै त्यसैको उदाहरण हो । यो गीतमा उनले यदि हामीले जीवनलाई ‘म यही मात्र गर्छु’ भनेर एउटै ठाउँमा बाध्न खोज्यौं भने मानसिक तनाव मात्र हुन्छ भनेर बुझाउन खोजेका छन् । त्यसैले, बतास जस्तै बगेर हिँड्ने हो भने जिन्दगी सहज र सुन्दर हुन्छ भन्ने सन्देश यो गीतमा छ ।
आँखैमा उनको अर्को सुन्दर सिर्जना हो । पहाड र ट्रेकिङ जाँदा महसुस हुने अद्भूत शान्ति र आनन्द, जहाँ क्षणिक समयका लागि भए पनि संसारका सारा दु:ख र पीडाहरू बिर्सिन्छ, त्यसैको उत्सवमा उनले यो गीत बनाएका हुन् । यसमा उनले वेस्टर्न स्विङ र जिप्सी ज्याजको मिठो फ्युजन गरेका छन् ।
दोबाटोमा उनले मान्छेको जीवनको दोधार र विवशतालाई गाएका छन् । मान्छे कुनै न कुनै बिन्दुमा त्यस्तो दोबाटोमा पुग्छ; जहाँ एउटा बाटो आफ्नो इच्छातर्फ जान्छ भने अर्को बाटो सामाजिक दबाब र पैसातर्फ जान्छ । त्यही मानसिक संघर्षलाई उनले यो गीतमा उतार्न खोजेका छन् ।
बिर्खेमा उनले दाजुभाइबीच अंशबन्डा वा सम्पत्तिको विषयमा हुने झगडा, रिस र मानवीय लोभले कसरी विनाश निम्त्याउँछ भन्ने डार्क स्टोरी गाएका छन् ।
सौर्यले आफ्नो संगीत यात्रा अलि ढिलो, अर्थात् आफ्नो मिड थर्टिजमा सुरु गरे । तर, ढिलो सुरु गरे पनि उनले नेपाली संगीत क्षेत्रलाई एउटा नितान्त फरक र ताजा स्वाद दिन सकेका छन् । उनको संगीतमा पश्चिमा टोन र नेपालीपनको अनौठो फ्युजन पाइन्छ । उनी विशुद्ध परम्परागत लोकगीत गाउन नसके पनि पश्चिमा संगीतको पृष्ठभूमिमा नेपाली भाषा र लयलाई सुन्दर ढंगले मिसाउँछन् । उनले अङ्ग्रेजी र हिन्दी भाषामा समेत केही गीत गाएका छन् ।
तर, उनलाई नेपाली भाषा नै प्यारो छ ।
नेपाली भाषाको बनोट र लयप्रति उनी ती भाषाहरूको तुलनामा छुट्टै दृष्टिकोण राख्छन् । उनका अनुसार नेपाली भाषा यस्तो रिदमिक छ कि यो पश्चिमा एलिमेन्टहरूसँग एकदमै सहजै र सुन्दर तरिकाले मिसिन सक्छ । बेलायतमा विभिन्न ठाउँमा गिग गर्दा उनले नेपाली गीत सुनाउँछन्; त्यहाँ उनलाई भाषाबारे मान्छेहरू सोध्न आउँछन् । उनी नेपाली भाषामा भएको जादु कारण भएको सुनाउँछन् ।

यद्यपि, उनको संगीतको जग भने बाल्यकालमै बसेको थियो । काठमाडौंको एलिस स्कुलमा पढ्दा त्यहाँको सांगीतिक वातावरण र दार्जीलिङबाट आएका शिक्षकहरूको मार्गदर्शनमा उनले पहिलो पटक संगीतको कखरा सिकेका थिए । सबैभन्दा पहिले मादल बजाउन सिकेका थिए । अलि पछि गीतार, पियानो जस्ता पश्चिमा बजा पनि सिके । गाउन पनि सिके । बेलायत गएपछि लामो समयसम्म उस्तरी फेरि कहिल्यै बाजा बजाएनन् । तर, त्यही एउटा बिन्दुसम्म । जुन बिन्दुदेखि उनले आकर्षक र राम्रो कमाइ हुने कर्पोरेट जागिर छाडिदिए । र, हरेक दिन एउटै कोठा, एउटै एक्सेल सिट र एउटै ढर्राको जिन्दगीबाट बाहिर निस्कन पुन: उनले संगीत चुने ।
उनलाई थाहा छ – हरेक व्यक्ति आफूलाई संगीतकार बनाइरहेको आजको डिजिटल युगमा आफ्नो मौलिक अडियन्स बनाउन समय लाग्छ । अनि संगीत मात्र गरेर बाँच्न गाह्रो छ ।
त्यसैले परिवार चलाउन उनले सानोतिनो व्यवसाय गरिरहेका छन् । तर, यो दुनियाँमा चल्न उनी बजारको दबाब वा भाइरल हुने दौडमा सामेल हुन चाहँदैनन् । छैनन् पनि । किनकि, उनी आफूलाई शान्त तर निरन्तर बगिरहने नदी बनाउन चाहन्छन् । संगीत सिर्जनामा पनि यही कुरा अपनाउँछन् । अर्को, उनी बजारले खोज्ने कमर्सियल म्युजिकको परिभाषामाथि प्रश्न उठाउँछन् ।
‘म्युजिक त आफ्नै रिफ्लेक्सन हो नि ! मैले अरू कसैका लागि वा अरूले जस्तै साउन्ड निकाल्न संगीत बनाउने त होइन नि’ उनको निष्कर्ष छ ।
फोटो : चन्द्रबहादुर आले
खैमा डुबेछ, हिमाली लहर
फेरि आज यो जीवन नशाझैँ भएछ
भरि आकाशैमा रमाउने, जुरेली भाकैमा
मधुरो गुराँसको सुवासले हृदयलाई छोएछ
ती डाँडाहरूले बोलाउने गर्छन् मलाई किन धेरै पर पर
मन नै छुने सुनौला रंगहरूलाई रोजी
मनमा फूलैफूलहरू नाची दिँदा
डोर्याउँदै ती रमाइला डाँडाहरूले
लैजाने गर्छन् मलाई किन धेरै पर पर
झरी परे झैँ जीवनका ती पलहरूले सधैँ
फर्केर खुसी फिजाउँदै हाँसी दिँदा
भीर पाखैका ती घुमाउरो
बाटो र गोरेटो
फेरि आज यो जीवन उँभो नै चढेछ
भरि आकाशैमा रमाउने
जुरेली भाकैमा
मधुरो गुराँसको सुवासले
हृदयलाई छोएछ
नशा झैँ भएछ
हृदयलाई छोएछ
प्रतिक्रिया 4