+

आईसीसी प्लेयर अफ द मन्थ : जुलाईको दुवै अवार्ड वेस्ट इन्डिजका खेलाडीलाई

२०८३ भदौ  २ गते १७:४९ २०८३ भदौ २ गते १७:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वेस्ट इन्डिजका जस्टिन ग्रिभ्स र हेली म्याथ्युज जुलाई महिनाको आईसीसी प्लेयर अफ द मन्थ घोषित भएका छन् ।
  • ग्रिभ्सले श्रीलंका र पाकिस्तानविरुद्धको टेस्टमा ब्याट र बल दुवैतर्फ प्रभावशाली प्रदर्शन गर्दै पहिलोपटक यो अवार्ड जितेका हुन् ।
  • म्याथ्युजले आयरल्यान्डविरुद्धको तीन एकदिवसीय खेलमा २६५ रन र सात विकेट लिएर पाँचौंपटक आईसीसी प्लेयर अफ द मन्थ जितेकी छन् ।

२ भदौ, काठमाडौं । वेस्ट इन्डिजका जस्टिन ग्रिभ्स र हेली म्याथ्युज जुलाई महिनाको आईसीसी प्लेयर अफ द मन्थ घोषित भएका छन् । ग्रिभ्स पुरुषतर्फ तथा म्याथ्युज महिलातर्फ उत्कृष्ट खेलाडी चुनिएका हुन् ।

ग्रिभ्सले जुलाईमा ब्याट र बल दुवैतर्फ प्रभावशाली प्रदर्शन गर्दै पहिलोपटक आईसीसी प्लेयर अफ द मन्थको अवार्ड जितेका हुन् । घरेलु मैदानमा श्रीलंका र पाकिस्तानविरुद्धको टेस्टमा गरेको प्रदर्शन उनका लागि निर्णायक बनेको हो ।

श्रीलंकाविरुद्धको टेस्टमा वेस्ट इन्डिज १४४ रनमा चार विकेट गुमाएर दबाबमा रहेका बेला ग्रिभ्सले १८० रनको उत्कृष्ट इनिङ खेले । उनले १४ चौका र दुई छक्का प्रहार गर्दै वेस्ट इन्डिजलाई श्रीलंकाले बनाएको ५४९ रनको विशाल योगफल नजिक पुर्‍याएका थिए । उक्त टेस्ट बराबरीमा सकिएको थियो ।

त्यसपछि पाकिस्तानविरुद्ध ग्रिभ्सले बलिङमा करियरकै उत्कृष्ट प्रदर्शन गरे । उनले पहिलो इनिङमा पाँच विकेट लिए । लगातार पाँच ओभर विकेट मेडन राख्दै पाकिस्तानको मध्यक्रम ध्वस्त पारेका उनले खेलमा कुल सात विकेट लिए ।

उनकै प्रदर्शनमा वेस्ट इन्डिजले पाकिस्तानलाई ९० रनले पराजित गरेको थियो । श्रीलंका र पाकिस्तानविरुद्धका दुवै टेस्टमा ग्रिभ्स प्लेयर अफ द म्याचसमेत चुनिएका थिए ।

यसैबीच, महिलातर्फ म्याथ्युजले पाँचौंपटक आईसीसी प्लेयर अफ द मन्थको अवार्ड जितेकी छन् । आयरल्यान्ड विरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा उनले २६५ रन बनाउँदै वेस्ट इन्डिजलाई ३–० को जित दिलाउन महत्वपूर्ण भूमिका खेलेकी थिइन् ।

म्याथ्युजले सिरिजका सुरुवाती दुई खेलमा लगातार शतक प्रहार गरेकी थिइन् । पहिलो खेलमा उनले अविजित १५९ रन बनाउनुका साथै बलिङमा तीन विकेट लिएकी थिइन् । दोस्रो खेलमा १०० रन बनाउँदै थप दुई विकेट हात पारेकी थिइन् ।

तीन खेलमा १३२.५० को औसत र ११७.२५ को स्ट्राइक रेटमा २६५ रन बनाएकी म्याथ्युजले सात विकेटसमेत लिएकी थिइन् ।

महिलातर्फ म्याथ्युजसँगै इंग्ल्यान्डकी नाट स्किभर–ब्रन्ट र श्रीलंकाकी हरशिता समरविक्रमाले अवार्डका लागि प्रतिस्पर्धा गरेका थिए ।

आईसीसी प्लेयर अफ द मन्थ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय