News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल समुद्रपार निकासी पैठारी संघले स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा स्वर्ण जयन्तीको लोगो अनावरण गरेको छ ।
- संघले २०८३ लाई स्वर्ण जयन्ती वर्ष घोषणा गरी विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ ।
- अन्तर्क्रियामा व्यवसायीले आयात–निर्यातका चुनौती र सुधार सुझाव राखेपछि विभागका अधिकारीले चासो सम्बोधन गर्ने बताए ।
३ भदौ, काठमाडौं । आयात निर्यातकर्ता व्यवसायीको संगठन नेपाल समुद्रपार निकासी पैठारी संघले स्वर्ण जयन्तीको लोगो अनावरण गरेको छ ।
संघले स्थापनाको ५० वर्ष पूरा गरेको अवसर पारेर २०८३ लाई स्वर्ण जयन्ती वर्ष घोषणा गरी विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ ।
स्वर्ण जयन्ती वर्षमा गरिने कार्यक्रमको एक हिस्साका रूपमा बुधबार आयोजित अन्तर्क्रियामा संघले उक्त लोगो अनावरण गरेको हो । भन्सार विभागका निर्देशक ज्ञानेन्द्र ढकाल, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशकद्वय तारानाथ लुइँटेल र अनिल किराँती, शाखा अधिकृत दीपकप्रसाद अधिकारी, संघका पूर्वअध्यक्षहरू लोकमान्य गोल्छा, अशोकुमार अग्रवाल, सुनिल वंशल र विनोद सेठिया तथा वर्तमान अध्यक्ष शिवकुमार अग्रवालले संयुक्त रूपमा लोगो अनावरण गरे ।
संघका सदस्य र भन्सार तथा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारीहरुबीचको अन्तरक्रियामा आयात–निर्यात व्यापारका नीतिगत र प्रक्रियागत विषयसँग सम्बन्धित आयात–निर्यातकर्ता व्यवसायीको चासोका विषयमा छलफल भएको थियो । कार्यक्रममा सहभागी संघका सदस्यहरूले व्यवसायका क्रममा सामना गर्नुपरेका चुनौती तथा अप्ठ्यारामा सम्बन्धित विभागका अधिकारीको ध्यानाकर्षण गराउँदै व्यापार सहजीकरणका लागि गर्नुपर्ने सुधारबारे सुझाव प्रस्तुत गरेका थिए ।
दुवै विभागका अधिकारीले व्यवसायीका जिज्ञासाको जवाफ दिँदै आफूहरूको जिम्मेवारी व्यापार सहजीकरण र सम्बन्धित कानुन कार्यान्वयन भएको स्मरण गराउँदै व्यवसायीले उठाएका वास्तविक चासो सम्बोधन गरिने बताए ।
सरोकारवालाबीचको खुला छलफलले नीति निर्माण र कार्यान्वयन तहलाई व्यवसायीका कठिनाइसँग परिचित गराउने हुँदा यसले नीतिगत सुधारमा समेत योगदान गर्ने भन्दै उनीहरूले आगामी दिनमा पनि यस किसिमका छलफल कार्यक्रम नियमित आयोजना गर्न संघलाई सुझाव दिए ।
प्रतिक्रिया 4