News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्रको विवाद सडक र अदालतमा लैजानु नहुने भन्दै सबै पक्षलाई सानेपामा बसेर राजनीतिक संवाद गर्न अपिल गरेका छन्।
- पौडेलले मुलुक चुनौतीपूर्ण अवस्थामा रहेकाले कांग्रेस सुदृढ नहुँदा देश राजनीतिक विग्रहमा फस्ने जोखिम रहेको र विभाजनले लोकतन्त्र कमजोर हुने बताएका छन्।
- उनले आसन्न १५औं महाधिवेशन तोकिएकै समयमा सम्पन्न गरी कार्यकर्ताले सुम्पिने नेतृत्व स्वीकार गरेर एकजुट हुन आग्रह गरेका छन्।
५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र देखिएको विवाद समाधानका लागि सबै पक्षलाई संवादमा आउन अपिल गरेका छन् ।
उनले शुक्रबार विज्ञप्ति जारी गरेर पार्टीको आन्तरिक विवाद राजनीतिक संवादबाट समाधान गर्नुपर्ने बताएका छन् ।
मुलुक चुनौतीपूर्ण अवस्थामा रहेको समयमा कांग्रेस आफैं सजग र सुदृढ हुन नसके देश ठूलो राजनीतिक विग्रहको भुमरीमा फस्ने जोखिम रहेको महामन्त्री पौडेलको भनाइ छ ।
उनले पार्टीभित्रको असन्तुष्टि र विमतिलाई सडक तथा अदालतसम्म लैजानुभन्दा पार्टी कार्यालय सानेपामा बसेर संवाद गर्नुपर्नेमा जोड दिएका छन् ।
‘हाम्रो घरभित्रका विमतिहरूलाई सडकमा लैजाने वा अदालतको ढोका कुरेर बस्ने समय यो होइन । मलाई लाग्छ, नेपाली कांग्रेसको विवाद अदालतले निरूपण गर्ने विषय होइन र हुनुहुँदैन,’ पौडेलले भनेका छन्, ‘राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ ।’
पौडेलले असन्तुष्ट नेता, कार्यकर्ता र शुभेच्छुकलाई फरक विचारसहित पार्टीको साझा मन्दिर सानेपा आउन आग्रह गरेका छन् ।
‘सबै असन्तुष्ट श्रद्धेय नेता, जुझारु कार्यकर्ता र आत्मीय शुभेच्छुक साथीहरूलाई नम्रताका साथ अनुरोध गर्न चाहन्छु कि आफ्नो फरक विचारलाई बोकेर पार्टीको साझा मन्दिर सानेपा आउनुहोस्,’ उनले विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।
महामन्त्री पौडेलले विगतका कमजोरीमा सबैको सामूहिक जिम्मेवारी रहेको स्वीकार गर्दै संवादमार्फत अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
आसन्न १५औं महाधिवेशन तोकिएकै समयमा सम्पन्न गरी कार्यकर्ताले सुम्पिएको नेतृत्व स्वीकार गर्नुपर्ने उनको भनाइ छ ।
‘सानेपामा बसेर मनैदेखि संवाद गरौं । विगतका कमजोरीहरूमा हामी सबैको सामूहिक जिम्मेवारी छ, त्यसलाई पनि आत्मसात् गर्दै अघि बढौं,’ उनले भनेका छन्, ‘आगामी १५औं महाधिवेशनलाई तोकिएकै समयमा सम्पन्न गरी आम कार्यकर्ताले सुम्पिने नेतृत्वलाई स्वीकार गरौं र लोकतन्त्रलाई थप सुदृढ बनाउने बाटोमा एकजुट भएर लागौं ।’
पौडेलले कांग्रेसभित्रको विभाजनले लोकतन्त्र र मुलुकलाई नै कमजोर बनाउने पनि उल्लेख गरेका छन् ।
‘यस्तो बेला हामी विभिन्न बहानामा विभाजित हुनु भनेको लोकतन्त्र र देशलाई नै कमजोर बनाउनु हो,’ विज्ञप्तिमा लेखिएको छ, ‘समयमै गल्ती सच्याएनौं भने इतिहासले हामीलाई क्षमा दिने छैन ।’
प्रतिक्रिया 4