News Summary
Generated by OK AI. Editorially reviewed.- केपी शर्मा ओलीले इलाम पुगेर पुनर्गठन अभियानमा सामेल नेता–कार्यकर्तालाई ‘आवारा’ को संज्ञा दिएपछि एमालेभित्र बहस बढेको छ।
- एमालेभित्र ओली र महासचिव शंकर पोखरेल आमनेसामने भएको लेखमा पुनर्गठन अभियानको नेतृत्व पोखरेलले गर्नुपर्ने भनिएको छ।
- लेखले एमालेको भविष्यका लागि नेतृत्व परिवर्तनसँगै पार्टी संस्कृति, युवा समावेशीकरण र वैचारिक स्पष्टता आवश्यक भएको निष्कर्ष निकालेको छ।
गत सोमबार दिउँसो दुई बजेतिर एमाले मुख्यालय च्यासलको क्यान्टिन पुग्दा साथीहरूको ध्यान मतिर पर्यो। तपेन्द्र भाइ (आरआर क्याम्पसका पूर्वस्ववियु सभापति तपेन्द्र शाही) ले ठट्टा गरिहाले- ‘दाइ, तपाईं आवारा हो कि होइन ? कित्ता क्लियर गर्नुस् !’
म प्रतिक्रियाविहीन बनें। उल्टै सोधें- ‘आवाराको परिभाषाबाट बाहिर निकाल्न खोजेको हो ?’
केहीबेर मौनता छायो। यसपछि प्रकाशले देशभरका चियापसलहरूमा ‘आवारा चिया अभियान’ चलिरहेको जानकारी दिए।
अध्यक्ष केपी शर्मा ओलीले इलाम पुगेर पुनर्गठन अभियानमा सामेल नेता–कार्यकर्तालाई ‘आवारा’ को संज्ञा दिएपछि यसको चर्चा व्यापक बनेको छ। ‘क्यान्टिन’, ‘चिया’, ‘समोसा’, ‘आवारा’ शब्दहरू एक प्रकारले बिम्ब बन्न पुगेका छन्।
सँगै, गम्भीर प्रश्न पनि सिर्जना भएको छ। किनकि स्वयं अध्यक्षबाटै पार्टीमा सङ्कट र विभाजन ल्याउने गरी अभिव्यक्ति सार्वजनिक भएकाले यसको असर सतहमा उत्रिएको स्पष्टै छ। अर्थात्, एमालेलाई यथास्थितिमा राख्न अध्यक्ष ओली र परिवर्तन गर्न महासचिव शंकर पोखरेल आमनेसामने भएका छन्।
जबकि च्यासलको ‘चिया जमघट’ मा उति धेरै महासचिव पोखरेल देखिन्नन्। राजधानी बाहिर कार्यक्रम नहुँदा सामान्यतया उनी आफ्नै कार्यकक्षमा व्यस्त हुन्छन्। अझ यसपटक पुनर्गठन अभियानको नेतृत्व गर्ने साहस जुटाएकाले थप व्यस्त हुनु स्वाभाविक छ।
मैले बुझेको शंकर पोखरेल आफैंमा सक्षम र अनुभवी नेता हुन्। त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति, अखिल–भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक अध्यक्ष जस्ता जिम्मेवारी सम्हाल्दै पार्टी राजनीतिमा प्रवेश गरेका पोखरेलले लुम्बिनी प्रदेशको संस्थापक मुख्यमन्त्री हुँदासम्म गरेको कामलाई हेरेको छु।
उनको राजनीतिक यात्रा, वर्तमान परिस्थिति र भविष्यको सम्भावनाले एउटा गम्भीर प्रश्नको उत्तर खोजिरहेको छ- उनी एक स्वतन्त्र नेताको व्यक्तित्वमा स्थापित गराउन सक्छन् ? अथवा केपी ओलीको छायामा किचिएको मनोविज्ञानबाट ग्रसित रहिरहन्छन् ?
एमाले जोगाउने हो भने…
गम्भीर सङ्कटको सामना गरिरहेको एमालेजनसँग यतिबेला परिवर्तन अथवा यथास्थितिमध्ये एक रोज्नुपर्ने विकल्प छ। कतिपय नेताहरू सत्य र असत्यको परिधिभन्दा अलि पर एउटा खालको अन्योलमा लुक्न खोजेका देखिन्छन्। जबकि समयले निर्मम निर्णय गर्दा उनीहरू कसैको भविष्य सुनिश्चित हुनेछैन।
उनीहरूले आफ्नो मनको आवाजलाई दबाएर कृत्रिम कुरा बोल्ने अभिनय गर्नुको केही अर्थ रहनेछैन। यद्यपि सचेत साथीहरू नेतृत्व, नीति र सङ्गठनमा आमूल परिवर्तनको खुलेआम वकालत गरिरहेका छन्। उनीहरूप्रति मेरो सम्मान छ।
र, महासचिव शंकर पोखरेल आफैंले यो अभियानको नेतृत्व गर्ने हिम्मत जुटाएका छन्। यो अभियानमा अविचलित रहिरहे उनी कर्मठ नेताका रूपमा स्थापित हुनेछन्। अहिलेसम्म उनलाई निर्भीक नेताका रूपमा हेर्न सकिने स्थिति देखिएको थिएन। तर अब कठघरामा उनी उभिएका छन्। कति सफल हुनेछन्, समयले देखाउनेछ।
हेक्का राख्नुपर्ने तथ्य के हो भने यो अभियान मार्फत महासचिव पोखरेलको राजनीतिक भविष्य मात्र होइन, समग्र पार्टी र तमाम कार्यकर्ताको भविष्य पनि जोडिएको छ।
एमालेको भविष्य सुनिश्चित गर्न ओलीको बहिर्गमन पहिलो शर्त हो। तर यतिले पर्याप्त हुँदैन। नेतृत्व परिवर्तनपछिको पार्टी संस्कृति परिवर्तन, युवा पुस्ताको समावेशीकरण, जनताप्रति जवाफदेही र वैचारिक स्पष्टतामा एमाले कहाँनिर उभिन्छ ? त्यो मूल प्रश्न हो।
र, शंकर पोखरेललाई यो सही अवसर पनि हो। कांग्रेसमा गगन थापाले देखाएको साहस र बुद्धिमत्ता शंकर पोखरेलले देखाउन सक्दा परिस्थिति बदलिन्छ। यही अभियानबाटै उनी नेता बन्नेछन्।
होइन भने इतिहासमा उनी ‘ओलीको अन्तिम महासचिव’ बन्नेछन्। यो जिम्मेवारी निर्वाह गर्न आफ्नो राजनीतिक जीवनको सबैभन्दा ठूलो निर्णय लिनुपर्छ। र, त्यो निर्णय ओलीको छायाबाट बाहिर निस्कनु हो।
राजनीतिको यो मोड पोखरेलको चाहनाले तयार भएको होइन, परिस्थितिको परीक्षा हो। यो परीक्षा उत्तीर्ण हुन नसक्नु भनेको ‘ओली २.०’ बन्नु हो। यसले एमालेको पतन रोक्नेछैन।
अब हुने बैठकहरूबाट ओलीलाई बिदा गर्ने आधार सिर्जना गर्दै जानुपर्छ। नयाँ पुस्तालाई स्थान दिनुपर्छ। ‘जेनेरेसन जेड’ का माग सम्बोधन गर्नुपर्छ। पार्टी जीवनको लोकतान्त्रिकीकरण पुनःस्थापित गर्नुपर्छ।
राजनीतिमा नयाँ पुस्ताको माग स्थापित हुने क्रममा छ। पुराना दलहरूको प्रारम्भिक राजनीतिक शैलीले जनतालाई निराश बनाएको छ। यस्तो अवस्थामा शंकर पोखरेल जस्ता अनुभवी नेताले परिवर्तनको पक्षपाती रहेको प्रमाणित गर्नुपर्छ।
महासचिवका रूपमा पोखरेलले सङ्गठनात्मक संरचनामा गहिरो पहुँच राख्छन्। जिल्ला कमिटीहरूसँगको सम्बन्ध शक्तिको स्रोत हो। उपाध्यक्ष विष्णु पौडेलसँगको मिलनले सङ्गठनात्मक क्षमताको संयोजन भएको छ। पौडेल एमालेका सक्षम सङ्गठक मानिन्छन्।
कम्युनिस्ट आन्दोलनमा लामो सङ्घर्षले पोखरेललाई वैचारिक रूपमा बलियो बनाएको छ। यद्यपि महासचिवका रूपमा पार्टीभित्र स्वतन्त्र निर्णय लिने क्षमता उनले देखाएका छैनन्। तर एमाले पुनर्गठनको अभियान सजिलो छैन। ओली डर पैदा गरेर मानिसको मनोविज्ञान प्रभावित गर्न पारङ्गत छन्। ओलीको शैली हो- अस्वीकार गर, विलम्ब गर, विभाजन गर।
तर एमालेको समस्या ओली मात्र होइनन्। समस्या संरचनागत छ। पार्टीभित्र परिवारवाद, गुटबन्दी, अनुशासनहीनता र जनताप्रति जवाफदेहिताको अभाव छ।
जेनेरेसन जेड आन्दोलनपछि युवाहरू पुराना दलप्रति विरक्तिएका छन्। यो चुनौती सम्बोधन गर्न नयाँ एजेन्डा प्रस्तुत गर्न सक्नुपर्नेछ। फागुन २१ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिट जित्यो। राजनीतिको यो नयाँ वास्तविकता हो।
पुराना दलहरूको पतन शुरु भएको छ। यस्तो अवस्थामा एमालेले परिवर्तन गर्नुपर्छ। नेतृत्व मात्र होइन, विचार, सङ्गठन र आन्तरिक लोकतान्त्रिक संस्कृति स्थापित गर्नुपर्नेछ।
केपी ओलीको राजनीतिक यात्रा त्यसै पनि अवसाननजिक छ। उमेरका हिसाबले मात्र नभएर स्वास्थ्यका कारणले पनि उनी अब धेरै सक्रिय हुनसक्ने स्थिति छैन।
ओलीले आफ्ना उत्तराधिकारी किन तयार गरेनन्, त्यो विषय इतिहासले निर्क्योल गर्ला। हरेक पार्टीमा उत्तराधिकारीका सम्भावनाहरू राखिएका हुन्छन्। सहयोगी भूमिकामा रहेर ओलीको सदाशयताले नेता बन्छु भन्ने पोखरेलको सोच गलत साबित भएको छ।
प्रतिक्रिया 4