+

जिमी नीशम जनकपुर बोल्ट्समै फर्किए

२०८३ भदौ  ९ गते ८:२५ २०८३ भदौ ९ गते ८:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • न्युजिल्यान्डका अलराउन्डर जिमी नीशम नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्समा फर्किएका छन् ।
  • जनकपुरले मंगलबार सामाजिक सञ्जालमार्फत ३५ वर्षीय नीशमलाई अनुबन्ध गरेको जनाएको छ ।
  • नीशमले २०२४ को पहिलो सिजनमा ९ खेलमा २४७ रन र ७ विकेट लिएर जनकपुरलाई च्याम्पियन बनाउन योगदान गरेका थिए ।

९ भदौ, काठमाडौं । न्युजिल्यान्डका अलराउन्डर जिमी नीशम नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्समै फर्किएका छन् ।

जनकपुरले मंगलबार सामाजिक सञ्जालमार्फत् ३५ वर्षीय नीशमलाई अनुबन्ध गरेको जनाएको छ ।

नीशमले २०२४ को पहिलो सिजनमा जनकपुरलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । सो क्रममा उनले ९ खेलमा १९६ माथिको स्ट्राइक रेट र ३५ माथिको औसतमा २४७ रन बनाएका थिए ।

सबैभन्दा धेरै स्ट्राइक रेटमा रन बनाएको कारण उनलाई पहिलो सिजनको एनपीएलमा बेस्ट स्ट्राइक रेटको अवार्ड दिइएको थियो ।

पहिलो सिजनको एनपीएलमा नीशमले जनकपुरबाट खेल्दै ७ विकेट पनि लिएका थिए । जनकपुरबाट ‘क्याप’ खेलाडीको कोटामा खेलेका उनी समर्थकमाझ निकै लोकप्रिय छवि बनाएका थिए ।

‘जिमीले मैदानमा मात्र होइन, हाम्रा समर्थकहरुको मनमा पनि विशेष स्थान बनाएका छन्, उनको निष्ठा र जनकपुर बोल्ट्ससँगको सम्बन्ध आफैंमा एउटा सुन्दर कथा हो । च्याम्पियन बनेको पहिलो सिजनको त्यो नायक आज फेरि आफ्नै घर फर्किएका छन्’ जनकपुरका सीईओ निरोज खतिवडाले भने ।

तर दोस्रो सिजनमा जनकपुरसँग क्याप खेलाडीको कोटा रहेको थिएन । त्यसपछि उनी पोखरा एभेन्जर्स लागेका थिए । ४ खेलमात्र खेलेका उनले एक अर्धशतकसहित ९९ रन बनाउनुका साथै ५ विकेट लिएका थिए ।

नीशम यसपटक टेस्ट कोटामै जनकपुरबाट खेल्ने छन् । उनले न्युजिल्यान्डबाट १२ टेस्ट, ७६ एकदिवसीय अन्तर्राष्ट्रिय र १ सय ५ टी–२० अन्तर्राष्ट्रिय खेलिसकेका छन् । फेब्रुअरीमा उनले न्युजिल्यान्डबाट भारतविरुद्ध टी–२० विश्वकप फाइनल खेलेका थिए ।

उनले विश्वव्यापी फ्रेन्चाइज लिग खेल्दै आएका छन् । नीशमले दिल्ली डेरडेभिल्स, पञ्जाब किंग्स, मुम्बई इन्डियन्स, राजस्थान रोयल्सबाट इन्डियन प्रिमियर लिग खेलेका छन् भने लंका प्रिमियर लिग, भाइटालिस्ट ब्लास्ट, बंगलादेश प्रिमियर लिग, यूएईको आइएल टी–२०, पाकिस्तान सुपर लिग, साउथ अफ्रिका टी–२०, द हन्ड्रेड, बिग बास लिग, क्यारेबियन प्रिमियर लिग खेलेका थिए ।

दुई वर्ष अगाडि जनकपुरलाई च्याम्पियन बनाउनु उनको फ्रेन्चाइज क्रिकेटमा पहिलो उपाधि थियो ।

जनकपुर बोल्ट्स जिमी नीशम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय