News Summary
Generated by OK AI. Editorially reviewed.- अरुण चौधरी फाउन्डेसनले बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित बालबालिकाको शिक्षाका लागि ११ करोड २२ लाख रुपैयाँ बराबरको सहयोग र छात्रवृत्ति प्रतिबद्धता जनाएको छ।
- फाउन्डेसनले ४० विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने, जसमध्ये ५ जनालाई छात्रावासको व्यवस्था गर्ने, र काठमाडौं वर्ल्ड स्कुल तथा प्रिमियर कलेजका विद्यार्थीलाई पनि छात्रवृत्ति उपलब्ध गराउने जनाएको छ।
- भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत र पुनर्निर्माणका लागि फाउन्डेसनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ नगद सहयोग गर्ने भएको छ।
१८ भदौ, काठमाडौं । बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारका बालबालिकाको शिक्षामा निरन्तरता सुनिश्चित गर्न अरुण चौधरी फाउन्डेसनले सहयोग गर्ने भएको छ। फाउन्डेसनले ११ करोड २२ लाख रुपैयाँ बराबरको सहयोग तथा छात्रवृत्ति प्रतिबद्धता जनाएको छ।
फाउन्डेसनले विपत्तिपछि प्रभावित समुदायलाई तत्काल राहतदेखि दीर्घकालीन पुनर्स्थापना तथा शिक्षामा सहयोग गर्ने उद्देश्यसहित उक्त प्रतिबद्धता गरेको हो। यससम्बन्धी विवरणसहितको पत्र मंगलबार अर्थ मन्त्रालयमा पेश गरिएको छ।
फाउन्डेसनका अनुसार बाढीका कारण घरबार, सम्पत्ति तथा परिवारका आधार गुमाएका बालबालिकाको शिक्षा प्रभावित हुन नदिन ४० जना विद्यार्थीलाई पूर्ण शैक्षिक छात्रवृत्ति प्रदान गरिनेछ। छात्रवृत्तिमा विद्यालय तथा कलेजको शुल्कसँगै पुस्तक, पोशाक, यातायात, भोजन लगायत सम्पूर्ण शैक्षिक खर्च समेटिनेछ। जसमा ५ जनालाई छात्रावासको समेत व्यवस्था गरिनेछ ।
छात्रवृत्ति कार्यक्रमअन्तर्गत काठमाडौं वर्ल्ड स्कुलका ३० जना विद्यार्थीका लागि १० करोड ११ लाख बराबरको छात्रवृत्ति उपलब्ध गराइनेछ। त्यस्तै प्रिमियर कलेजका १० जना विद्यार्थीका लागि १ करोड बराबरको छात्रवृत्ति प्रदान गरिने फाउन्डेसनले जनाएको छ। नेपालको उत्कृष्ट विद्यालयको रुपमा परिचित काठमाडौँ वर्ल्ड स्कुल भक्तपुरको सुर्यविनायकस्थित गुण्डुमा रहेको छ । कलेज र स्कुल आईएसओ सर्टिफाइड शैक्षिक संस्था हुन् । जसले हजारौँ दक्ष जनशक्ति उत्पादन गरिसकेका छन् ।
छात्रवृत्तितर्फ मात्रै ११ करोड ११ लाख बराबरको सहयोग पुग्ने फाउन्डेसनले जनाएको छ । नगद सहयोग तथा अन्य राहतसम्बन्धी योगदानसमेत जोड्दा कुल प्रतिबद्धता ११ करोड २२ लाख पुगेको पत्रमा उल्लेख छ।
फाउन्डेसनले बाढीबाट प्रभावित बालबालिकालाई आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुन नदिने उद्देश्यले छात्रवृत्ति कार्यक्रम अघि बढाएको जनाएको छ। विपत्तिले बालबालिकाको घर, परिवार र भविष्यसँग जोडिएका धेरै आधारहरू प्रभावित गरेकाले उनीहरूको शिक्षा पुनःस्थापना गर्नु दीर्घकालीन पुनर्निर्माणकै महत्वपूर्ण हिस्सा भएको फाउन्डेसनका सञ्चालक अरुण चौधरीले बताए ।
राहतलाई केवल तत्कालीन सहयोगका रूपमा सीमित नगरी प्रभावित समुदायको दीर्घकालीन पुनर्स्थापना र शिक्षा निरन्तरतामा समेत योगदान गर्ने चौधरीको प्रतिबद्धता छ।
फाउन्डेसनले नगद १ करोड १ लाख रुपैयाँ पनि सहयोग गर्यो
भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्निर्माणका लागि अरुण चौधरी फाउन्डेसनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ नगद सहयोग गर्ने भएको छ।
फाउन्डेसनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सम्बोधन गर्दै पठाएको पत्रमा विपद्पछि तत्काल राहत सामग्री उपलब्ध गराउनुका साथै दीर्घकालीन सहयोगका लागि उक्त रकम कोषमा योगदान गर्ने उल्लेख गरेको छ।
फाउन्डेसनका अनुसार उक्त सहयोगमा कर्मचारीहरूको एकमुष्ट योगदान १४ लाख ७५ हजार १५९ रहेको छ भने विभिन्न व्यावसायिक क्षेत्रसँग मिलेर गरिएको संस्थागत योगदान ८६ लाख २४ हजार ८४१ रहेको छ।
फाउन्डेसनले आफ्ना २३ कम्पनीका विभिन्न तहमा कार्यरत कर्मचारीहरूले आफ्नो एक दिनको तलब स्वेच्छाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरेको जनाएको छ।
प्रतिक्रिया 4