News Summary
Generated by OK AI. Editorially reviewed.- नुवाकोटको बेत्रावतीमा बाढीले बगाएको घरबाट उद्धार गरिएकी चन्डिका श्रेष्ठलाई ११ दिनपछि छाउनी अस्पताल लगिएको छ।
- स्थानीयका अनुसार चन्डिकाको घर बाढीले बगाएर करिब ५० मिटर पर पुर्याएको थियो र त्यसै घरबाट प्रहरीले उद्धार गरेको थियो।
- बाढी प्रभावित रसुवा गढीदेखि धादिङको गलौंदी सम्म खोज तथा उद्धार जारी छ, र अन्य घरभित्र पनि मानिस फसेको हुनसक्ने देखिएको छ।
२० भदौ, काठमाडौं । नुवाकोटको बेत्रावतीमा पुरिएको घरबाट उद्धार गरिएकी चन्डिका श्रेष्ठलाई बाढीले घरसहति बगाएको पाइएको छ ।
स्थानीय नारायणलाल डंगोलका अनुसार, उनको घरभन्दा ७० मिटर पछाडि चन्डिकाको घर थियो । तर उक्त बाढीले बगाएर ५० मिटर पर घर पुर्याएको थियो ।
‘बाढीले बगाएर लगेको घरबाट उहाँको उद्धार भएको हो । मेरो घर घडीघरसँग जोडिएको छ । आज उद्धार भएको उहाँ (चन्डिका) को घर मेराभन्दा ७० मिटर पछाडि थियो,’ डंगोलले अनलाइनखबरसँग भने, ‘बाढीले बगाएर मेरो घर भएको ठाउँबाट ५० मिटर पर पुर्याएको छ । त्यही बगाएको घरबाट उहाँलाई प्रहरीले झिकेको हो ।’
विदुर नगरपालिका १०– का वडा सदस्य मंगल तामाङका अनुसार, बगाएको घरमा मान्छेको आवाज आएपछि उद्धारको लागि खबर गरिएको थियो ।
‘बगरमा मान्छेको आउजाउ भइरहेको थियो । बाटो खन्ने काम पनि सुरु भएको छ । त्यही बेला मान्छेको आवाज आएपछि उद्धारको लागि प्रहरीलाई खबर गरेको हो,’ उनले भने ।

चन्डिकाका श्रीमान् भने अझै सम्पर्कविहीन छन् । उनका देवरका अनुसार अहिले उद्धारपछि छाउनी अस्पतालमा ल्याइएको छ । ‘भाउजुसँग कुरा भयो । छाउनीमा ल्याएको छ,’ उनले भने ।
बाढी आएको ११ दिनपछि चन्डिकाको उद्धार गरिएको हो ।
यसअघि अपर त्रिशूली–१ बाट पनि आजै एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ ।
त्यस्तै, हिजो त्रिशूली–३ ‘ए’ को सुरुङबाट २ जनाको उद्धार गरिएको थियो ।

सुरुङमा मात्र मानिसहरू फसिरहेको कुरा आइरहेका बेला शनिबार बाढीले बगाएका घरका संरचनाहरूभित्र पनि मानिस फसेको भेटिन थालेको हो ।
आज बाढीले क्षति पुर्याएको घरबाट चण्डिका श्रेष्ठको जीवित उद्धार भएपछि अन्यत्र पनि यस्तो हुनसक्ने देखिएको छ ।
बाढीका कारण रसुवा गढीदेखि धादिङको गलौंदी सम्मका घरहरूमा क्षति पुगेको छ । धेरै बस्तीका घरहरू पुरिएका छन् कति घरहरू बाढीले पल्टाएको छ ।
यस्ता घरहरूमा पनि मानिसहरू च्यापिएका हुनसक्ने देखिएको छ । बाढी प्रभावित क्षेत्रहरूमा अहिले पनि खोज तथा उद्धारको कार्य भइरहेको गृहमन्त्री सुधन गुरुङले बताएका छन् ।
प्रतिक्रिया 4