+
+
Shares
खरानीबाट उठेका उद्यमी :

‘कठिन समयमा हार मानिनँ, अबको जिम्मेवारी नयाँ सुरुवात हो’

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २३ गते ११:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेप्टेम्बर ८ को जेनजी आन्दोलनका क्रममा पोखराको बगैंचा रिसोर्ट केही घण्टामै खरानी बनेको र करिब १० महिनापछि पुनः सञ्चालनमा आएको छ।
  • अंशुभरा ग्रुपका निर्देशक सौगात थापा पोखरा उद्योग वाणिज्य संघको ३६ औँ महाधिवेशनबाट उद्योग उपाध्यक्षमा निर्वाचित भएका छन्।
  • थापाले व्यवसायीको हित, रोजगारी सिर्जना र पोखराको आर्थिक समृद्धिका लागि काम गर्ने संकल्प गरेको बताएका छन्।

२३ भदौ, काठमाडौं । गत वर्ष आजकै दिन (सेप्टेम्बर ८) । देशभर जेनजी पुस्ताका युवाहरू सडकमा उत्रिएका थिए ।

सञ्जालमा एउटै नारा थियो– सुशासन चाहियो ।

पुरानो राजनीतिक परिपाटिविरुद्ध लागेको यो नारा यसरी फैलियो कि २४ गते देशका प्रमुख संरचनासहित सिंगो देश जल्यो ।

सरकारी संरचना ध्वस्त भए । यतिसम्मकी व्यवसायमा छलाङ मारिरहेका र विस्तारै उठ्दै गरेका उद्यमीहरू पनि निशानामा परे ।

सोही अन्धाधुन्ध आक्रमणबाट जोगिएनन्, अंशुभरा ग्रुपका निर्देशक सौगात थापा ।

पर्यटकीय नगरी कास्कीको पोखरामा उनले बगैंचा रिसोर्ट सञ्चालमा ल्याएको एक महिनामात्रै भएको थियो । विस्तारै व्यवसायलाई रफ्तारमा लैजाने तयारी अघि बढिरहेको थियो ।

अघिल्लो वर्ष २४ भदौमा सडकमा उर्लिएको जेनजी पुस्ताको राप उनको सोही रिसोर्टभित्र पनि प्रवेश गर्‍यो । केही घण्टामै करोडौं लगानीको रिसोर्ट खरानी बन्यो ।

त्यो दिन अहिले पनि उनलाई सम्झन मन लाग्दैन ।

अनेकन सपना बुनेर ठूलो लगानीमा बनाएको रिसोर्ट यतिकै छाड्न मनले मानेन् । करिब १० महिना लगाएर रिसोर्ट पुन: सञ्चालनमा ल्याइएको छ ।

‘हामीले भोग्नुपर्ने विभिन्न खालका मानसिक तनाव झेल्यौं । हामीले गरेको व्यवसाय मुलुक र समाजको लागि थियो,’ उनले भने, ‘हाम्रो कारण धेरै मानिसले रोजगार पाएका थिए । काम गरेर खानु भनेको अपराध जस्तो ठान्यो ।’

अहिले उनी पुन: आत्मविश्वास बटुलेर व्यवसायमा जुटेका छन् ।

‘ढलेपछि उठ्नु नै वास्तविक जित हो । त्यो कठिन समयपछि मैले हार मानिनँ । आफैंलाई सम्हालेँ, फेरि व्यवसाय उठाएँ र अझ बलियो भएर अघि बढ्ने संकल्प गरेँ,’ उनले भने ।

खरानीबाट उठेर नेतृत्व तहमा  

एक वर्षअघिको विध्वंशबाट विस्तारै व्यवसायिक यात्रामा अघि बढेका उनी अब सिंगो नगरको व्यवसायिक नेतृत्व गर्ने तहमा पुगेका छन् ।

केही दिनअघि मात्रै थापा पोखरा उद्योग वाणिज्य संघको ३६ औँ महाधिवेशनबाट उद्योग उपाध्यक्षमा निर्वाचित भएका छन् । यसलाई उनले नयाँ जिम्मेवारीको सुरुवात भन्छन् ।

‘यो मेरो लागि केवल एउटा पद होइन, कठिन यात्रापछि प्राप्त भएको विश्वास, जिम्मेवारी र नयाँ सुरुवात हो,’ उनले भने ।

विगतको पीडालाई शक्तिमा बदल्दै, व्यवसायीको हित, रोजगारी सिर्जना र पोखराको आर्थिक समृद्धिका लागि इमानदारीका साथ काम गर्ने संकल्प रहेको उनले बताए ।

लेकसाइडको १३ नम्बर स्ट्रिटमा वास्तुकला, नेपाली कला र परम्परागत तथा आधुनिक सम्मिश्रणसहित थापा नेतृतत्वको अंशुभरा ग्रुपले बगैंचा रिसोर्ट चलाउँदै आएको छ ।

यसले पोखराको पर्यटनमा नयाँ ऊर्जा थप्ने विश्वास उनले लिएका छन् । उनको रिसोर्ट साढे चार रोपनी क्षेत्रफलमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?