+
+
Shares

उद्यमीसँग बालेन-स्वर्णिमको म्याराथन बैठक, विना प्रमाण उद्योगीकै घरमा ‘कमाण्डो अपरेसन’

कुनै ठोस सूचना र प्रमाण विना नै छापामार शैलीमा प्रहरीले अपरेसन चलाएपछि राज्यले नियोजित रूपमा लगानीकर्तालाई आतंकित पार्न खोजेको आरोप निजी क्षेत्रले लगाएको छ ।

हरि अधिकारी हरि अधिकारी
२०८३ साउन १८ गते २२:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विराटनगरमा प्रहरीले प्रतिष्ठित देवेनरा समूहका घर र कार्यालयमा बिनाप्रमाण पाँच घण्टा कमाण्डो शैलीमा खानतलासी गर्दा पनि केही फेला पार्न सकेन।
  • निजी क्षेत्रका व्यवसायीहरूले राज्यले नियोजित रूपमा लगानीकर्तालाई आतंकित पार्न खोजेको भन्दै प्रहरीको उक्त कदमको कडा आपत्ति जनाएका छन्।
  • प्रधानमन्त्री र अर्थमन्त्रीले लगानीको वातावरण बनाउने प्रतिबद्धता जनाइरहँदा प्रहरीले यस्तो कार्य गर्नुले सरकारको विश्वसनीयतामाथि प्रश्न उठेको उद्योगी व्यवसायीले बताएका छन्।

१८ साउन, विराटनगर । काठमाडौंमा प्रधानमन्त्री बालेन शाह र अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी क्षेत्रका व्यवसायीहरूसँग म्याराथन बैठक गरेलगत्तै विराटनगरमा नेपाल प्रहरीले प्रतिष्ठित औद्योगिक घरानाको घर र कार्यालयमा कमान्डो शैलीको अपरेसन सञ्चालन गरेको छ ।

विराटनगरका प्रतिष्ठित उद्यमीहरू वेणीगोपाल मुन्दडा र प्रकाश मुन्दडा परिवारको घरमा विना प्रमाण शंकाकै भरमा नेपाल प्रहरीले अपरेसन चलाएपछि देशभरको निजी क्षेत्र आतंकित भएका छन् ।

सोमबार बिहान विराटनगर–७ गोश्वारा रोडमा रहेको व्यावसायिक घराना देवेनरा समूहको घर र अफिसमा नेपाल प्रहरीले पाँच घन्टासम्म नेपाल प्रहरीले छापा मारेको थियो ।

प्रत्यक्षदर्शीका अनुसार मुन्दडा परिवारको घरमा अपरेसनका क्रममा नेपाल प्रहरीले ड्रोन उडाएर निगरानी गरेको थियो । त्यस्तै, उनीरको घरवरपरको बाटोसमेत सिल गरेर प्रहरी कुनै ठूलै अपराधी वा आतंककारी पक्राउ गर्ने शैलीको अपरेसन चलाएको थियो ।

पाँच घन्टासम्म सञ्चालन गरेको अपरेसनमा कुनै पनि शंकास्पद वस्तु फेला नपारेको प्रहरी स्वयंले बताएको छ । कुनै ठोस सूचना र प्रमाण विना नै छापामार शैलीमा प्रहरीले अपरेसन चलाएपछि राज्यले नियोजित रुपमा लगानीकर्तालाई आतंकित पार्न खोजेको आरोप निजी क्षेत्रले लगाएको छ ।

मुन्दडा परिवारको घरमा छापा मारिरहँदा त्यस क्षेत्रमा सयौं प्रहरी परिचालन गरिएको थियो । ‘छापामा संलग्न प्रहरीले गोप्रो क्यामरा लगाएका थिए, उनीहरूलाई काठमाडौंबाटै कसैले निर्देशन दिन्थ्यो,’ स्रोतले अनलाइनखबरलाई बतायो ।

यसरी कुनै क्लुबिना नै प्रहरीले प्रतिष्ठित व्यवसायीहरूको घरमा पाँचपाँच घन्टा कमाण्डो शैलीमा अपरेसन चलाउनु र कुनै पनि शंकास्पद वस्तु फेला नपर्नुले सरकारको विश्वसनीयतामाथि नै ठूलो प्रश्न चिह्न खडा गरेको नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा उद्योग संगठन मोरङका पूर्वअध्यक्ष सुयेश प्याकुरेलले बताए ।

‘एकातिर लगानीको वातावरण बनाउँछौँ, तपाईंहरू नडराई लगानी गर्नुस् भनेर प्रधानमन्त्री र अर्थमन्त्रीले पटकपटकको संवादमा भनिरहनुभएको छ । अर्कातिर, प्रमाणविना शंकाकै भरमा कुनै व्यवसायीका घर–कार्यालयमा राज्यविरुद्ध अपराध गरेको वा आतंकवादमा संलग्न भएजस्तो गरी कमाण्डो शैलीमा अपरेसन चलाउनु निन्दनीय छ,’ प्याकुरेलले भने ।

सरकारको यो कदमले प्रधानमन्त्री र अर्थमन्त्रीले गरेका प्रतिबद्धतामा विश्वास गर्नुपर्ने कुनै कारण बाँकी नरहेको उनको भनाइ छ ।

विशेष सूचना पाएको भन्दै मुन्दडा परिवारको घर र कार्यालयमा अपरेसन गर्न प्रहरी बिहान साढे ४ बजे नै पुगेको थियो । साढे ९ बजे बिहान अपरेसन सकेर फर्किंदा प्रहरीसँग रित्तो हातसिवाय केही थिएन । मुन्दडा परिवारको घर  र अफिसमा छापा मार्नका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरीले नपुगेको भन्दै अन्य इलाकाबाट प्रहरी टोली झिकाएको थियो । कोशी प्रदेश प्रहरी कार्यालयबाट थप बल पनि मगाएको थियो ।

तर, खानतलासीका क्रममा शंकास्पद बस्तु नभेटिएको मोरङका प्रहरी उपरीक्षक कवित कटवालले जानकारी दिए ।  ‘विशेष सूचनाका आधारमा छापा मारिएको हो,’ उनले भने, ‘घरदेखि कार्यालयसम्म लगातार खानतलासी गरियो, तर  केही भेटिएन् ।’

यता करिब ५ घण्टा खानतलसीका नाममा व्यवसायीलाई आतंकित बनाएको भन्दै निजी क्षेत्र रुष्ट बनेको छ । यो व्यावसायीक घरानाका सदस्य प्रकाश मुन्दडा नेपाल उद्योग परिसंघ कोशी प्रदेशको उपाध्यक्ष हुन् ।

जुन सरकारका प्रधानमन्त्रीले संवाद गरी निजी क्षेत्रलाई विश्वासमा लिन खोज्छन्, त्यही सरकारले यस्ता क्रियाकलाप गर्छ भने उनीहरूका भनाइमा कसरी विश्वास गर्ने? भन्ने  प्याकरेल भन्छन् ।

सरकारका राम्रा नराम्रा दुवै कुराको प्रचार गर्ने दूत निजी क्षेत्र रहेकोमा यस क्षेत्रप्रति राज्यको दृष्टिकोण खराब रहेको देखिएको उनले बताए ।

‘सरकारले राम्रो गरेको छ भने त्यसका आधारमा आफूले लगानी विस्तार गरेर वा अरुलाई लगानी गर्न प्रोत्साहित गरेर उत्पादन र रोजगारी बढाउने देशकै निजी क्षेत्र हुन्,’ उनले भने, ‘राज्यले यसरी आतंकित पारिरहँदा अहिले लगानीको वातावरण छैन, लगानी गर्नुहुँदैन भन्ने पनि निजी क्षेत्र नै हो । कोही विदेशीले यहाँ लगानी गर्न खोज्यो भने त्यो गर्ने कि नगर्ने भनेर सोध्ने पनि यहीँको निजी क्षेत्रलाई हो । उसैलाई आतंकित बनाएर राज्यले कस्तो आर्थिक विकास गर्न खोजेको हो, बुझन् सकेको छैन ।’

सडकमा आउजाउसमेत रोकेर सोमबार बिहान ४ बजेदेखि सुरु भएको प्रहरी हस्तक्षेपले आतङ्क सृजना गरेको  नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवनकुमार सारडाले बताए । प्रहरीको  कदमले निजी क्षेत्रलाई मर्माहत र त्रसित बनाएको बताएको उनको भनाई छ ।

‘बिहानै त्यसरी सडक ठप्प पारेर प्रहरी परिचालन हुँदा कुनै आतंककारी घटना भएको हो कि जस्तो त्रास फैलियो,’सारडाले भने,‘ के कुराको भ्रम सृजना गरियो । तर अन्त्यमा प्रहरी रित्तो हात फर्कियो । यसले व्यवसायीको सामाजिक प्रतिष्ठामा ठूलो धक्का पुगेको छ ।’

व्यवसायीको सफलता उसको पैसाभन्दा बढी प्रतिष्ठामा अडिएको सारडा बताउँछन् । प्रहरीको छापाले देवेनरा समूहको प्रतिष्ठामा आच आएको उनले बताए । ‘व्यवसायीलाई बजारले विश्वास गरेर उधारो दिन्छ, बैंकले विश्वासका आधारमा ऋण दिन्छ, जब राज्यले नै बिना प्रमाण यसरी छापा मारेर बेइज्जत गर्छ, तब त्यो विश्वासको जग भत्किन्छ,’ उनले भने,‘ हाम्रो मान–मर्यादामाथि आघात पुगेको छ, तीन दशकदेखि विराटनगरको उद्योग व्यवसायमा सक्रिय रहँदा मैले यस्तो शैलीको छापा मारेको देखेको थिइनँ ।’

राजनीतिक अस्थिरताका कारण प्रताडित निजी क्षेत्रले व्यवसाय चलायमान बनाउन खोजिरहेको बेला राज्यले देखाएको व्यवहारले मनोबल गिराएको उनले बताए  । ‘यो नयाँ सरकारको निजी क्षेत्रप्रतिको सोच र धारणा नै यही हो भने हाम्रो भन्नु केही छैन,’ सारडाले भने, ‘यस्ता घटनाले लगानीको वातावरण झन् बिगार्छ । यस्ता कार्य भोलिका दिनमा नदोहोरियोस् भन्ने हाम्रो माग छ ।’

प्रहरीले आतंक सृजना गरेको मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले बताए । यसले समग्र निजी क्षेत्रको मनोबल गिराएको उनले बताए । ‘राज्यको विरुद्ध काम गर्नेमाथि निगरानी राख्नु सरकारको काम हो, तर सामाजिक उत्तरदायित्व बोकेको र प्रतिष्ठित व्यवसायीमाथि विना कुनै ठोस आधार छापा मार्नु उपयुक्त होइन,’ उनले भने, ‘यसले व्यवसायीको मनोबल मात्र गिराएको छैन, भोलि कोहीसँग कुरा गर्न पनि डराउनुपर्ने स्थिति सिर्जना गरेको छ ।’

देवेनरा समूहका सदस्य तथा घरधनी वेनीगोपाल मुन्दडाले प्रहरीले छापा मार्दा केही फेला नपारेको बताए । ‘बिहान ५ बजे आएर पुर्जी देखाएर खानतलासी गर्न आएको भन्नुभयो, हामीले सहयोग गर्‍यौं,’ उनले भने, ‘सबै ठाउँ हेर्नुभयो, केही भेट्नुभएन, जानु भयो ।’

सोही घरानाका सदस्य प्रकाश मुन्दडाले प्रहरीले सर्चपछि क्लिन चिट दिएको बताए । ‘उहाँहरूले हेर्नुभयो, केही नभेटेपछि क्लिन चिट दिएर जानुभयो,’ उनले भने । यसरी कुनै प्रमाण विना कुनै व्यवसायीको घर–कार्यालयमा छापा मार्न हुने नहुने राज्यले सोच्नुपर्ने विषय भएको उनले बताए ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?