+
+
Shares
गसिप :

निखिल उप्रेती ‘आचार्य’ बने कि ‘सन्यासी’ ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २३ गते १०:२१

कुनै बेला एउटा सञ्चारगृहको सात तलामाथिबाट हाम फालेर एकाएक सुपरहिरो बनेका थिए, निखिल उप्रेती । त्यसबखत उनकै नक्कल गर्दा कतिपय बच्चाको खुट्टा भाँचिएको खबर पनि सुनियो । उनको क्रेज कतिसम्म बढ्यो भने फिल्मको नाम नै राखियो, ‘निखिल दाइ’ ।

जे होस्, निखिलले आफूलाई एक्सन हिरोका रूपमा स्थापित गरेरै छाडे ।

पछि अचानक उनको जीवनमा ट्विस्ट आयो । यी सुपरहिरो सन्यासी बने । फिल्ममा देखिएनन्, पोस्टरमा छाएनन् । बरू सुस्तरी टिभीमा आए र दार्शनिक छाँटमा ।  अध्यात्मको कुरा गर्न थाले । योग विज्ञानको कुरा गर्न थाले । एक्सन हिरोका यस्ता कुरा सुनेर दर्शकहरू त छक्कै परे ।

के सांसारिक जीवनबाट मुक्त भएर उनी वास्तवमै सन्यासी बने ? धेरैले त यस्तै सोचे ।

तर, उनले यस्तो सोच्नेहरूलाई चक्मा दिए । दक्षिण भारतीय फिल्मलाई कसो-कसो माथ दिने शैलीमा उनी धर्ती हल्लाउँदै प्रकट भए, फिल्म ‘आचार्य’ मार्फत ।

खासमा यो फिल्मको शीर्षक ‘आचार्य’ आफैँमा पूर्वीय दर्शनसँग नजिक छ । खासगरी गुरु वा आफ्नो ज्ञान, आचरण र व्यवहारबाट अरूलाई शिक्षा दिनेहरू आचार्य कहलिन्छन् । उनले यही थिममा सायद यो नाम जुराए ।

फिल्म एक्सनले भरमार थियो । हल्लीखल्ली पनि राम्रै भयो । ठूलै हलचल पैदा गर्दै फिल्म हलमा लाग्यो । तर, बक्स अफिस रिपोर्टले भन्यो, ‘फिल्मले उल्लेख्य दर्शक पाएन ।’

अघिल्लो आइतबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस रिपोर्टअनुसार फिल्मले एक करोड ५६ लाख मात्र कमाइ गर्न सक्यो । यो प्रदर्शनमा आएको मितिले १० दिनसम्मको कमाइ हो ।

त्यसमाथि, हलसम्म पुगेका दर्शकले फिल्म हेर्नुभन्दा बढी फिल्म खिच्ने नै काम गरेजस्तो देखियो । धेरैले हलमा फिल्मका दृश्यहरू खिचेर सामाजिक सञ्जालतिर पो छ्यापछ्याप्ती बनाइदिए ।

फिल्म जसरी धमाका मच्चाउने शैलीमा आएको थियो, नतिजा त्यस्तो भएन । ‘१२ वर्षपछि खोलो फर्कन्छ’ भन्ने उखानभन्दा पनि यहाँ ‘१२ वर्षमा उनिउँ फुल्यो’ भनेजस्तो भयो ।

११ वर्षपछि कमब्याक गरेका निखिललाई यो फिल्मले ‘आचार्य’ होइन, बरु ‘सन्यासी’ नै ठीक भनेजस्तै भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?