+
+
Shares

विदेशी चिकित्सकका २८३ फाइलमाथि छानबिन गर्दै मेडिकल काउन्सिल

मन्त्रालयका अनुसार अनियमिततामा संलग्न भएको प्रमाणित भए सम्बन्धित चिकित्सकको लाइसेन्स निलम्बनदेखि खारेजीसम्मको प्रक्रिया अघि बढाउने तयारी छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २३ गते १८:४२

२३ भदौ, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले नेपालका मेडिकल कलेज तथा विभिन्न स्वास्थ्य संस्थामा कार्यरत विदेशी चिकित्सकहरूको प्रमाणपत्र र दर्तासम्बन्धी विवरणमाथि छानबिन गरिरहेको छ ।

काउन्सिलले १२ मुलुकका चिकित्सकका प्रमाणपत्र तथा अन्य कागजात अध्ययन गरिरहेको हो ।

यसअघि विदेशी चिकित्सकले पेस गरेका १४ जनाको प्रमाणपत्र फर्जी भेटिएको भन्दै काउन्सिलले दर्ता प्रक्रिया स्थगित गरेको छ । त्यसपछि काउन्सिलले दर्ता भएका विदेशी चिकित्सकको प्रमाणपत्र अध्ययन गर्न लागेको हो ।

काउन्सिलका सदस्य तथा विदेशी चिकित्सक छानबिन समितिका संयोजक डा. छवि पन्थीका अनुसार हाल २८३ जना विदेशी चिकित्सकका फाइल अध्ययनका लागि निकालिएको छ ।

सम्बन्धित देशका मेडिकल काउन्सिलसँग चिकित्सकको शैक्षिक योग्यता र प्रमाणपत्रको आधिकारिकता पुष्टि गर्न पत्राचार गरिए पनि अधिकांशको जवाफ आउन बाँकी छ ।

‘विदेशबाट नेपाल आएका चिकित्सकहरूको छानबिन भइरहेको छ । १२ वटा देशका फ्याकल्टी छन् । हामीले २८३ वटा फाइल अध्ययन गरिरहेका छौं,’ डा. पन्थीले अनलाइनखबरसँग भने, ‘सम्बन्धित देशका मेडिकल काउन्सिललाई सोधेका छौं । कतिपयको जवाफ आएको छ, कतिपयको आउन बाँकी छ।’

डा. पन्थीका अनुसार छानबिनको काम तिहारपछि टुंग्याउने गरी तयारी भइरहेको छ । काउन्सिलमा नयाँ नेतृत्व र सदस्यहरू आएपछि समितिको कामले अपेक्षित गति लिन सकेको छैन । समितिका केही सदस्यको व्यस्तताका कारण पनि काममा समय दिन कठिनाइ भएको काउन्सिलले जनाएको छ ।

काउन्सिलले मेडिकल कलेजमा कार्यरत विदेशी चिकित्सक मात्रै नभई निजी अस्पताल, गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गरिरहेका र काउन्सिलमा दर्ता भएका विदेशी चिकित्सकहरूको विवरणसमेत जाँच गर्न लागेको छ ।

यता, शिक्षा मन्त्रालयले पनि मेडिकल कलेजमा कार्यरत फ्याकल्टीहरूको विवरणमाथि अध्ययन सुरु गरेको छ । विद्यार्थीबाट प्राप्त सूचना, फोटो, भिडियो तथा अन्य प्रमाण अध्ययन भइरहेको मन्त्रालय स्रोतले जनाएको छ।

‘कक्षामा वास्तविक फ्याकल्टी चाहिन्छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘खडेबाबा प्रयोग गरेर मेडिकल कलेजको सिट वा मान्यता प्रभावित गर्ने अभ्यास प्रमाणित भए संलग्न सबैलाई जवाफदेही बनाइने छ।’

मन्त्रालयका अनुसार अनियमिततामा संलग्न भएको प्रमाणित भए सम्बन्धित चिकित्सकको लाइसेन्स निलम्बनदेखि खारेजीसम्मको प्रक्रिया अघि बढाउने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?