+
+
Shares

एमाले स्थायी कमिटीमा मापदण्डको कुरा उठेपछि मनोनीतको प्रस्ताव रोकियो

राष्ट्रपतिको दुई कार्यकाल सकेर ११ वर्षपछि सक्रिय राजनीतिमा फर्किएकी भण्डारीले अहिले पार्टी अप्ठ्यारो अवस्थामा रहेकाले कुनैपनि निर्णय गर्दा सोचेर गर्नुपर्ने प्रस्ताव राखेकी थिइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २३ गते २०:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मापदण्डबिना स्थायी कमिटी, पोलिट्ब्यूरो र केन्द्रीय सदस्य मनोनीत गर्न नहुने भन्दै एमाले स्थायी कमिटी बैठक लम्बिएको छ।
  • विद्यादेवी भण्डारी, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, रघुवीर महासेठ, हिक्मत कार्की, राजन भट्टराई र ईश्वर पोखरेलले मापदण्ड बनाएर मनोनयन गर्न प्रस्ताव गरेका छन्।
  • शनिबार दिउँसो १ बजे बस्ने बैठकमा रामबहादुर थापा, विष्णुप्रसाद पौडेल र शंकर पोखरेलले धारणा राख्ने कार्यसूची छ।

२३ असोज, काठमाडौं । मापदण्डका आधारमा स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय सदस्य मनोनीत हुनुपर्ने कुरा उठेपछि नेकपा एमालेको स्थायी कमिटी बैठक लम्बिएको छ ।

शुक्रबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको म्याण्डेट अनुसार भन्दै मनोनयनको प्रस्ताव ल्याएका थिए । ‘केन्द्रीय कमिटीले मापदण्ड तोकिसकेको छ, त्यसै बमोजिम भनेर अध्यक्षले मनोनीतको एजेण्डा बैठकमा प्रवेश गराउनुभएको थियो,’ एक पदाधिकारीले भने ।

तर मनोनीत गर्दा मापदण्ड बनाइनुपर्ने अडान नेताहरूले लिए । ‘मनोनीतको प्रस्ताव आउनसाथ नेताहरूले मापदण्ड बनाऊ भनेर बोल्न थाल्नुभयो, बोल्दाबोल्दै चार बज्यो । अनि अर्कोदिन बस्नेगरी भनेर बैठक स्थगित भयो,’ उनी भन्छन् ।

बरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षहरू पृथ्वीसुब्बा गुरुङ, गोकर्ण बिष्ट, उपमहासचिव रघुवीर महासेठ, सचिवहरू हिक्मत कार्की, राजन भट्टराई, स्थायी कमिटी सदस्य ईश्वर पोखरेल लगायतले मापदण्डको प्रस्ताव अगाडि सारेका थिए ।

राष्ट्रपतिको दुई कार्यकाल सकेर ११ वर्षपछि सक्रिय राजनीतिमा फर्किएकी भण्डारीले अहिले पार्टी अप्ठ्यारो अवस्थामा रहेकाले कुनैपनि निर्णय गर्दा सोचेर गर्नुपर्ने प्रस्ताव राखेकी थिइन् । ‘कुनैपनि निर्णय गर्दा निष्पक्ष भयो भन्ने तरिकाले गर्नुपर्छ,’ भण्डारीको तर्क थियो, ‘हामी अप्ठ्यारो अवस्थामा छौं, यस्तो बेला प्राविधिक हिसाबले मात्र नभएर भावनात्मक र वैचारिक हिसाबले पनि एकताबद्ध हुन जरुरी छ ।’

निष्पक्ष निर्णय भएको अनुभूति पार्टीपंक्तिलाई दिन मापदण्ड बनाइनुपर्ने भण्डारीको भनाइ थियो । बाँकी उपाध्यक्षहरूले पनि मापदण्ड बनाएर मात्रै मनोनीत गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

‘कुनैपनि निर्णय गर्दा पूर्वाग्रह वा प्रतिशोधको गन्ध आउनु हुँदैन । न्यायको अनुभूति हुनेगरी निर्णय गर्नुपर्छ,’ उपाध्यक्ष बिष्टले भनेका थिए । मापदण्ड बनाएर मनोनीत गर्दा पार्टीभित्र न्यायपूर्ण निर्णय भइरहेको पुष्टि गर्न सकिने तर्क उनको थियो । ‘एउटा आधारमा रहेर निर्णय गर्दा पुष्टि गर्न सकिन्छ, एकताबद्ध हुने आधार बन्न सक्छ,’ बिष्टले भनेका थिए ।

यस्तै तर्क उपाध्यक्ष गुरुङ र पन्तले पनि गरेका थएि । ‘निश्चित आधार बनाएर जानुपर्छ,’ उनीहरूको भनाइ थियो । स्रोतका अनुसार स्थायी कमिटी सदस्य पोखरेलले पनि मापदण्डको आधारमा निर्णय गर्नु नै बुद्धिमतापूर्ण निर्णय हुने बताएका थिए ।

अरु पदाधिकारीको पनि मापदण्ड बनाउने कुरामा असहमति थिएन । यद्यपि केही पदाधिकारीले अन्तरविरोधलाई कायम राख्ने हिसाबले जान हुँदैन भन्ने थियो । उनीहरूको तर्क अध्यक्षले ल्याएको प्रस्ताव स्वीकार्नुपर्छ जस्तो सुनिएको अर्का एक पदाधिकारी भन्छन् ।

‘शेरधन राई, भानुभक्त ढकाल र महेश बस्नेतको कुरा अन्तरविरोध कायम नराखौं भन्ने खालको थियो,’ उनी भन्छन्, ‘यद्यपि मापदण्ड बमोजिम मनोनीत गरिने नाम आउने उहाँहरूको पनि आशा थियो ।’

शनिबार दिउँसो १ बजे बस्ने अर्को बैठकमा उपाध्यक्षहरू रामबहादुर थापा र विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलले आफ्नो धारणा राख्ने कार्यसूची छ । यसपछि मनोनीतबारे निर्णय हुन सक्ने ती पदाधिकारी बताउँछन् ।

‘सबै मनोनीत नहोला, स्थायी कमिटी र पोलिटब्यूरोबारे पनि पूर्ण निर्णय नहुन सक्छ,’ उनी भन्छन्, ‘तर केही थालनि भोलिको बैठकबाट हुन सक्छ ।’ एघारौं महाधिवेशन भएको एक वर्ष पुग्न लाग्दा पनि एमालेको पोलिटब्यूरो गठन हुन सकेको छैन ।

पार्टी विधान अनुसार १०१ जना पोलिटब्यूरो सदस्य हुन्छन् । केन्द्रीय सदस्यमा मनोनीत गरिने कोटा ५ जना खाली छ ।

४५ जना स्थायी कमिटी रहने विधानमा व्यवस्था छ । १९ जना पदाधिकारी स्वतः स्थायी कमिटी सदस्य हुन्छन् । बाँकी कोटामा विद्या भण्डारी बरिष्ठ नेता मनोनीत भइसकेकी छन् भने अरु ७ जनालाई केन्द्रीय कमिटीबाट मनोनीत गरिएको छ । बाँकी १८ जना स्थायी कमिटी मनोनीत गर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?