News Summary
Generated by OK AI. Editorially reviewed.- दसैंको पूर्वसन्ध्यामा ‘१२ गाउँ–२’ र ‘छ माया छपक्कै–५’ एकै मितिमा प्रदर्शनमा आउने भएका छन् ।
- दुई फिल्म अघिल्लोपटक पनि एकअर्कासँग बक्स अफिस प्रतिस्पर्धामा उत्रिएका थिए र यसपालि फेरि भिड्दै छन् ।
- समीर भट्टको क्रेज घटेको चर्चा र दीपकराज गिरी–दीपाश्री निरौलाको फिल्म चल्ने परम्पराले यसपालिको प्रतिस्पर्धा रोचक बनेको छ ।
दसैंको पूर्वसन्ध्यामा दुई फिल्मबीच भिडन्त होइन, महाभिडन्त हुँदै छ । एउटा हो, ‘१२ गाउँ’ र अर्को चाहिँ ‘छ माया छपक्कै’ ।
यी फिल्ममा केही समानता छन् । दुवैको नाममा अङ्क जोडिएको छ- १२ र ६ । यी दुवै फिल्मका सिक्वेल हुन् । त्यसैले यी फिल्मको नाम पछाडि जोड्नुपर्ने हुन्छ- २।
यी दुई फिल्मबीच केही असमानता पनि छन् । दुवै फरक जनराका हुन् । एउटा एक्सन ड्रामा हो भने अर्को कमेडीको रस मिसिएको सोसल ड्रामा । यी दुवै फिल्म एकअर्काका ‘एन्टागोनिस्ट’ हुन् । किनभने दुई वर्षअघि एकअर्काबीच राम्रै लप्पनछप्पन चलेको थियो ।
एकै मितिमा विराज–समीर भट्टको ‘१२ गाउँ’ र दीपक–दीपाको ‘छ माया छपक्कै–५’ प्रदर्शनमा आएका थिए । बक्स अफिसमा दुवैबीच घमासान प्रतिस्पर्धा चलेको थियो। यसपालि यी दुवै फेरि एकअर्कासँग सिङ जुधाउँदै छन् । बाजी कसले जित्छ त ?
आमा सरस्वती मुभिजको ब्यानर आफैँमा सफल मानिन्छ, जसले अहिलेसम्म कुनै पनि फिल्ममा पछाडि फर्कनुपरेको छैन । यो ब्यानरबाट निर्मित हरेक फिल्म ब्लकबस्टर भएका छन् । हुन त मान्छेहरूले दीपकराज गिरी र दीपाश्री निरौलालाई बढी गाली गरिरहेका हुन्छन् । फेरि उनीहरूकै फिल्म बढी चलिरहेको पनि हुन्छ। यसपालि के हुन्छ? हेरौँ ।
यता, बाबुछोरा विराज भट्ट र समीर भट्टको फिल्म ‘१२ गाउँ’ले सुरुमै धमाका मच्चाएको थियो । खासगरी समीर भट्टको क्रेजले यो फिल्मको ‘हाइप’ बढाउन ठूलो सहयोग गर्यो । छोरालाई गुपचुप ग्रुमिङ गरेर विराजले कुनै जादुगरले झैँ फुत्त दर्शकमाझ प्रकट गराएका थिए, त्यसताका । समीर हेर्दामा लक्का जवान मात्र थिएनन्, नृत्य र द्वन्द्व कौशलले भरिपूर्ण पनि थिए । त्यसैले त कथावस्तु र प्रस्तुति जस्तोसुकै भए पनि समीर भट्टलाई हेर्न दर्शकहरू हलमा ओइरिए ।
तर, अब समीर त्यो रहस्यको पोको रहेनन् । उनलाई दर्शकले पर्दामा दुई पटक हेरिसके । दोस्रो पटक त उनलाई रुचाएनन् पनि । सन्तोष सेनको महत्त्वाकाङ्क्षी फिल्म ‘बलिदान’ फ्लप हुँदा समीरको करियरमा पनि एउटा धक्का लाग्यो ।
उनै समीर यसपालि ‘१२ गाउँ–२’ लिएर हाजिर हुँदै छन् । यसपालि उनलाई हेर्नेको ताँती लाग्छ कि लाग्दैन ? नतिजा छिट्टै आउनेछ ।
यी दुईको भिडन्तमा ‘अ बाट आमा’को हालत चाहिँ के होला ?
यो फिल्म पनि प्रतिस्पर्धामा रहेका दुई फिल्मजस्तै सिक्वेल हो । अर्थात्, भाग–२ । कतै दुई ढुङ्गाबीचको तरुल भनेजस्तो त हुनेछैन ? यो प्रश्नको उत्तरका लागि पनि केही दिन पर्खनुपर्नेछ ।
प्रतिक्रिया 4