News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई‘मीना दिदी पुरस्कार–२०८३’ दिइने भएको छ।
काठमाडौं । यस वर्षको ५१ हजार रुपैयाँ राशिको ‘मीना दिदी पुरस्कार–२०८३’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई प्रदान गरिने भएको छ । अनुजाले भोटेकोशी बाढीका बेला आपत्कालीन अवस्थामा विद्यार्थीहरूको जीवनरक्षा गर्न सफल भएकी थिइन् ।
यही योगदानको सम्मान गर्दै उनलाई यस वर्षको पुरस्कारका लागि छनोट गरिएको पुरस्कार समितिका सदस्यसचिव उमानाथ पोखरेलले जानकारी दिए । पुरस्कारको राशी ५१ हजार रुपैयाँ रहेको छ ।
समाजसेवी तथा प्राध्यापक आरती कार्की र मदन पुरस्कार विजेता साहित्यकार डा. नीलम कार्की निहारिकाले आफ्नी आमा स्वर्गीय मीनाकुमारी कार्कीको स्मृतिमा यो पुरस्कार स्थापना गरेका हुन् ।
शिक्षा क्षेत्रमा पुर्याएको योगदानका लागि प्रत्येक वर्ष एक जना महिला शिक्षकलाई पुरस्कार प्रदान गर्ने व्यवस्था छ।
महिलाहरूलाई औपचारिक शिक्षा प्राप्त गर्ने अवसर अत्यन्त सीमित रहेको समयमा मीनाकुमारी कार्कीले ग्रामीण क्षेत्रमा शिक्षाको विकास र विस्तारका लागि महत्त्वपूर्ण योगदान पुर्याएकी थिइन् । विसं २०२३ सालदेखि शिक्षण पेसा सुरु गरेकी उनले अर्घाखाँची र पाल्पाको झडेवास्थित किसान माध्यमिक विद्यालयमा गरी निरन्तर २७ वर्ष अध्यापन गरेकी थिइन्।
उनको योगदान विद्यालयको कक्षाकोठामा मात्र सीमित थिएन । छोरीहरूलाई विद्यालय पठाउन हिचकिचाउने तत्कालीन समाजमा उनी घरघरमा पुगेर अभिभावकहरूलाई छोरीहरू पनि पढ्नुपर्छ भन्दै सम्झाउने र उत्प्रेरित गर्ने गर्थिन् । ग्रामीण क्षेत्रमा महिला शिक्षाप्रति चेतना जगाउन तथा बालिकाहरूलाई विद्यालयसम्म पुर्याउन उनले गरेको संघर्ष र योगदानको सम्मान गर्दै उनकै नाममा यो पुरस्कार स्थापना गरिएको हो।
गत वर्ष पहिलोपटक प्रदान गरिएको ‘मीना दिदी पुरस्कार–२०८२’ बैतडीकी पहिलो महिला शिक्षिका कृष्णा विष्टलाई प्रदान गरिएको थियो ।
प्रतिक्रिया 4