News Summary
Generated by OK AI. Editorially reviewed.- अविरल वर्षापछिको बाढीपहिरोले मुख्य राजमार्ग अवरुद्ध हुँदा दसैं सुरु भए पनि काठमाडौं उपत्यकाको मासु बजार डामाडोल बनेको छ ।
- खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोका नल्याउने र नाकाहरू बन्द हुने भएपछि दसैंमा खसीबोका आपूर्ति घटेर मूल्य बढ्ने व्यवसायीहरूले बताएका छन् ।
- कलंकी बजारमा यस वर्ष २४ देखि २५ हजार खसीबोका भित्रिने अनुमान छ, जबकि खुद्रा मूल्य प्रतिकिलो ८५० देखि ८६० रुपैयाँ पुगेको छ ।
२५ असोज, काठमाडौं । आजदेखि विधिवत् दसैं सुरु भइसकेको छ । दसैं सुरु भइसके पनि अविरल वर्षापछिको बाढीपहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध हुँदा यस वर्ष दसैं मासु बजार पूर्णरूपमा प्रभावित भएको व्यवसायीहरूले बताएका छन् ।
दसैंका लागि काठमाडौं उपत्यकामा खसीबोका र च्याङ्ग्रा भित्रिने मुख्य नाकाहरू बन्द भएपछि बजारमा मासुको मूल्य अस्वाभाविक रूपमा बढ्ने चिन्ता बढेको छ ।
सडक सञ्जाल टुटेर ढुवानीमा भएको कठिनाइ र बढ्दो मूल्यका कारण गत वर्ष ४५ देखि ५० हजार संख्यामा खपत भएको खसीबोका यस वर्ष ३८ देखि ४० हजारमा सीमित हुने अनुमान व्यवसायीहरूले गरेका छन् ।
राष्ट्रिय मासु व्यवसायी संघ महासचिव बाबुकाजी शाहीले सडक अवरुद्ध भएका कारण दसैं लक्षित बजार अहिले पूर्णरूपमा डामाडोल अवस्थामा रहेको बताएका छन् ।
‘अहिले बजारको अवस्था डामाडोल छ, बाटोको कारणले गर्दा जति खसीबोका आउनुपर्ने हो, त्यो आइपुगेकै छैन,’ महासचिव शाहीले अनलाइनखबरसँग भने, ‘अब आउने नआउने ठेगान नै छैन, यो पूर्णरूपमा सरकारमा भर पर्छ ।’
सरकारले सडक छिटो खुलाए मात्रै बजारमा खसीबोका आउने नत्र उपत्यका नजिकका गाउँठाउँबाट ल्याइएका खसीबोकाले मात्रै काठमाडौंको विशाल माग नधान्ने उनले बताए ।
माग नधान्ने बित्तिकै मासुको मूल्य बढ्ने सम्भावना उच्च रहेको शाहीको भनाइ छ । यद्यपि, मूल्य ठ्याक्कै कति बढ्छ भन्ने कुरा दुई–तीन दिनपछिको बजार र सडकको अवस्था हेरेर मात्रै यकिन गर्न सकिने उनले बताए ।

खाद्य संस्थान पन्छिँदा निजी बजारमा थप चाप
बजारमा कृत्रिम अभाव र मूल्यवृद्धि रोक्न विगतका वर्षहरूमा सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी (खाद्य संस्थान) ले महत्त्वपूर्ण भूमिका खेल्दै आएको थियो ।
उपत्यकामा दसैंका बेला सामान्यतया ४५ देखि ६० हजार खसीबोकाको माग हुने गर्दा खाद्य संस्थानले मात्रै २० देखि २५ हजार खसीबोका ल्याएर बजार सन्तुलनमा राख्ने गरेको थियो । तर, यस वर्ष संस्थानले खसीबोका नल्याउने भएपछि निजी व्यवसायी र उपभोक्तामाथि थप दबाब परेको छ ।
‘खाद्य संस्थानले नल्याउने बित्तिकै त्यसको सम्पूर्ण माग निजी बजारमा पर्न आउँछ र चाप अस्वाभाविक बढ्छ,’ महासचिव शाहीले भने, ‘बजारमा ४०–५० हजार खसीबोका चाहिनेमा संस्थानले ल्याउँदा ठिक्क हुन्थ्यो, अब संस्थानले नल्याउने भइसकेपछि बजारमा चाप पर्छ र त्यसले पनि यसपालि मासुको मूल्य बढाउन मद्दत गर्छ ।’
सरकारी निकाय नै बजार हस्तक्षेपबाट पछाडि हट्दा आम उपभोक्ता महँगीको मारमा पर्ने देखिन्छ ।
दसैंको घटस्थापना सुरु भइसक्दा उपत्यकाका मुख्य बजार खसीबोका र च्यांग्राले भरिभराउ हुनुपर्ने हो । तर, यसपालि बजार सुनसान छन् । काठमाडौंमा दसैंमा राम्रै संख्यामा च्याङ्ग्राको माग हुने गरेको छ ।
विगतमा तातोपानी र रसुवा नाकाबाट च्याङ्ग्रा आउने गरेकोमा यसपालि रसुवामा ठूलो विपत्ति आइपरेपछि बाटो पूर्णरूपमा बन्द छ । यसो हुँदा त्यताबाट च्याङ्ग्रा भित्रिने सम्भावना छैन ।
महासचिव शाहीले ठूला गाडीहरू आउने नारायणगढ, गजुरी, कालीगण्डकी लगायत सडक बाढी पहिरोका कारण अवरुद्ध भएपछि समस्या थपिएको बताए ।

‘रसुवागढी लगायत बाटो बन्द हुँदा च्याङ्ग्रा आउने निश्चित नै भएको छैन,’ महासचिव शाहीले भने, ‘अहिले मुस्ताङको कोरला नाका भएर आउने मात्रै विकल्प हो, तर सडकका कारण त्यहाँ पनि गम्भीर समस्या छ, त्यसैले यसपालि च्याङ्ग्राको अवस्था अनिश्चित जस्तै छ ।’
अहिले उपत्यका नजिकका ठाउँबाट अलिअलि मात्र खसीबोका आइरहेको उनले बताए । सरकारले कच्ची नै भए पनि सडक छिटो सुरु गरेर सहज वातावरण नबनाइदिएसम्म बजार अभाव र महँगी नियन्त्रण गर्न गाह्रो हुने शाहीको भनाइ छ ।
काठमाडौं उपत्यकामा खसीबोका भित्रिने मुख्य केन्द्र कलंकी खसीबजार हो । दसैंका लागि काठमाडौं उपत्यकामा मकवानपुर, धादिङ, रोल्पा, रुकुम, जाजरकोट, सल्यान, प्युठान लगायत पश्चिमी पहाडी जिल्ला तथा सिन्धुली, नुवाकोट, तेह्रथुम जस्ता पूर्वी पहाडी जिल्ला गरी करिब ३५ देखि ४० जिल्लाबाट खसीबोका ल्याइन्छ ।
कलंकीस्थित चौपाया खरिद बिक्री संघ अध्यक्ष जीवनराज खतिवडाका अनुसार बाटो बन्द भएका कारण उपत्यकामा खसीबोका भित्र्याउन निकै धौधौ परिरहेको छ ।
‘बजारको अवस्था खराब छ, हिजोअस्तिदेखि माल आउन सकेको छैन,’ अध्यक्ष खतिवडाले भने, ‘गाडीहरू कछुवा गतिमा कुद्छन्, हेटौँडाबाट यहाँ आइपुग्नै १०–१२ घण्टा लाग्ने भइसक्यो ।’
पृथ्वी राजमार्ग बाहेक अन्य वैकल्पिक बाटो नभएको र सडकमा ठूलो जाम रहेका कारण ढुवानीमा गम्भीर समस्या देखिएको उनले बताए । व्यवसायीले गाउँबाट खसीबोका निरन्तर मगाइरहे पनि बाटोको अवस्थाका कारण सबै एकैदिन आउन सक्ने अवस्था छैन । यस वर्ष दसैंमा कलंकी बजारमा मात्रै करिब २४ देखि २५ हजार खसीबोका भित्रिने उनको अनुमान छ ।
आपूर्तिको यो अवरोधले जिउँदो खसीबोकाको मूल्यमा प्रत्यक्ष असर पारेको छ । अध्यक्ष खतिवडाका अनुसार अहिले काठमाडौंको बजारमा जिउँदो खसीबोकाको खुद्रा मूल्य प्रतिकिलो ८ सय ५० देखि ८ सय ६० रुपैयाँसम्म पुगेको छ । गत वर्ष यो मूल्य ७ सय ५० रुपैयाँ थियो ।
यो वर्ष जिउँदो खसीको मूल्य दसैंअघि नै १ सय रुपैयाँभन्दा बढी बढिसकेको छ । यस्तै गत वर्ष १ हजार ३ सयदेखि १ हजार ४ सय रुपैयाँ रहेको खसी मासुको मूल्य अहिले प्रतिकिलो १ हजार ६ सयदेखि १ हजार ७ सय रुपैयाँ कायम छ । यदि अहिले माग अनुसार खसीबोका ल्याउन सकिएन भने यो मूल्य अझै बढ्ने देखिन्छ ।
व्यवसायीहरूले गाउँमा किसानबाट खरिद गर्ने मूल्य भने ठाउँ र अवस्था अनुसार फरक–फरक रहेको छ ।

‘ठाउँ अनुसार मूल्य फरक छ, कसैले ७ सयमै तौलिएर लिएका छन्, कसैले हचुवा भरमा लिएका छन्, किसानको समस्या र ठाउँ हेरी मूल्य फरक छ,’ उनले भने ।
नेपाल व्यावसायिक बाख्रापालक महासंघ अध्यक्ष गोविन्दप्रसाद सुवेदीले पूर्व र पश्चिम दुवैतर्फबाट खसीबोका काठमाडौं ल्याउने प्रयास भइरहेको बताएका छन् ।
‘देशैभरिबाट खसीबोका लोड भएर आइराखेको छ, यति नै आउँछ भन्ने यकिन हिसाब अहिले छैन, यहाँ आइसकेपछि मात्र थाहा हुन्छ,’ अध्यक्ष सुवेदीले भने, ‘बाढी आएर जहीँतहीँ रोकिएको छ, बुढीगण्डकीको बाढीले गोरखाको सबै रोकिने भयो, हामीले सकेसम्म माग त धान्नैपर्यो भनेर देशैभरिका किसानलाई आह्वान गरिराखेका छौं ।’
दसैंको मासु बजार, आपूर्ति शृङ्ला र अन्य व्यवस्थापकीय विषयमा छलफल गरेर ठोस निष्कर्ष निकाल्न मंगलबार पशु सेवा विभागमा सरोकारवालाको बैठक बस्न लागेको महासंघ अध्यक्ष सुवेदीले बताए । उक्त बैठकमा मासु व्यवसायी संघ टोली र बाख्रापालक किसानको समेत सहभागिता रहने छ ।
सडक पुन: सुरु गर्न सरकारले देखाउने तत्परता र आपूर्ति व्यवस्थापनले मात्रै यो असहज परिस्थिति केही हदसम्म समाधान गर्न सक्ने छ । अन्यथा, दसैंको मुखमा काठमाडौंका उपभोक्ताले मासुमा महँगीको मार खेप्नुपर्ने निश्चित छ ।
प्रतिक्रिया 4