२१ कात्तिक, धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले सहिद स्मृति दिवस र स्थानीय मौलिक पर्व बाडाङ्मीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गाउँपालिकाले कात्तिक २८ गते शनिबार सहिद स्मृति दिवस तथा मंसिर १३ र १४ गते बाडाङ्मी पर्वको अवसरमा स्थानीय बिदा दिने निर्णय गरेको हो ।
गाउँ कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोसुना कोइरालाले जानकारी दिइन् ।
विसं २०३६ सालमा तत्कालीन खोकु, छिन्ताङ र आँखिसल्लामा भएको आन्दोलनका क्रममा सहादत प्राप्त गरेका राष्ट्रिय सहिदहरुको स्मृति दिवसका अवसरमा कात्तिक २८ गते बिदा दिने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।
त्यस्तै, सहिदभूमि गाउँपालिकाको आँखिसल्ला, खोकु र छिन्ताङ क्षेत्रमा बसोबास गर्ने राई समुदायले विशेष रुपमा मनाउने मौलिक पर्व बाडाङ्मीको अवसरमा मंसिर १३ गते र १४ गते पनि स्थानीय बिदा दिइने भएको छ ।
गाउँपालिकाले विदा दिएका दिन गाउँपालिका सहित वडा कार्यालय, सामुदायिक तथा निजी विद्यालय, स्वास्थ्य संस्था, बैंक तथा वित्तीय संस्था र सरकारी तथा गैरसरकारी संघसंस्थामा बिदा हुनेछ ।
सहिदभूमि गाउँपालिका ऐतिहासिक सहिदहरुको बलिदान र राई समुदायको मौलिक संस्कृति तथा परम्परासँग जोडिएको क्षेत्र हो । गाउँपालिकाले सहिदहरुको योगदानको सम्मान र स्थानीय मौलिक पर्वको संरक्षणका लागि हरेक वर्ष यस्ता अवसरमा बिदा दिंदै आएको छ ।
प्रतिक्रिया 4