२१ कात्तिक, काठमाडौं । नेपाल र भारतबीचको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउँदै सीमापार धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले डोटीको प्रसिद्ध धार्मिकस्थल बडीकेदार धामको प्रचारप्रसार भारतको पलियामा गरिएको छ ।
आगामी मंसिर ५, ६ र ७ गते बडीकेदार धाममा आयोजना हुने बृहत् मेलालाई लक्षित गर्दै भारतीय सञ्चारकर्मीसँग पत्रकार सम्मेलन गरिएको हो। सम्मेलनमा बडीकेदार धामको धार्मिक महिमा, ऐतिहासिक महत्त्व, पर्यटकीय आकर्षण, दर्शन तथा पूजाआजाको परम्परा र भारतीय भक्तजनलाई सहज रूपमा धामसम्म पुग्ने वातावरण निर्माणका विषयमा जानकारी गराइएको थियो ।
नेपाल र भारतबीच सदियौँदेखि कायम रहेको धार्मिक, सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई पर्यटनमार्फत अझ प्रगाढ बनाउने र सीमावर्ती क्षेत्रका नागरिकबीच आपसी सद्भाव तथा धार्मिक सहकार्य विस्तार गर्ने उद्देश्यले पत्रकार सम्मेलन आयोजना गरिएको बडीकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र बमले बताए ।

उनले बडीकेदार धाममा आयोजना हुने मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धार्मिक पर्यटक र भक्तजनको सहभागिता बढाउनुका साथै भारतीय पर्यटकलाई मेलामा मात्रै सीमित नराखी वर्षभरि नै नियमित दर्शन तथा पूजाआजाका लागि आउने वातावरण निर्माण गर्न खोजिएको बताए ।
धार्मिक पर्यटनले दुई देशका नागरिकबीचको सम्बन्धलाई थप आत्मीय र प्रगाढ बनाउने उनको भनाइ थियो ।
बडीकेदार धामलाई नियमित धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्न समितिले योजनाबद्ध रूपमा काम गरिरहेको कार्यकारी अधिकृत गणेश जोशीले बताए । भारतीय धार्मिक पर्यटकको नियमित आगमन बढाउने, दर्शन तथा पूजाआजाको परम्परालाई व्यवस्थित गर्ने र धामसम्मको सहज पहुँचका लागि आवश्यक पहल गरिने उनले बताए ।
भारतका सञ्चारमाध्यममार्फत बडीकेदार धामको धार्मिक महिमा र पर्यटकीय सम्भावनालाई भारतीय सीमावर्ती क्षेत्रका नागरिकसम्म पु¥याउन पत्रकार सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको जोशीको भनाइ छ ।
पत्रकार सम्मेलनमा धनगढीका पत्रकार पुष्पराज जोशीले बडीकेदार धामको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्त्वबारे जानकारी गराउँदै यो क्षेत्र नेपाल र भारतबीचको धार्मिक सम्बन्ध जोड्ने महत्त्वपूर्ण स्थलका रूपमा विकास हुन सक्ने बताए ।
धार्मिक आस्था र सांस्कृतिक समानताले दुई देशका नागरिकलाई नजिक ल्याउने उल्लेख गर्दै उनले बडीकेदार धामको प्रचारप्रसारले नेपाल–भारतबीचको पर्यटन तथा सांस्कृतिक सम्बन्ध विस्तारमा योगदान पु¥याउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवा, युवा समाजसेवी एवं राजनीतिज्ञ चित्र बमलगायतको उपस्थिति रहेको थियो ।
पत्रकार सम्मेलनमा भारतीय सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
बडीकेदार धामको धार्मिक महिमा र पर्यटकीय सम्भावनालाई भारतका विभिन्न क्षेत्रमा पुर्याउँदै भारतीय भक्तजनलाई नियमित रूपमा आकर्षित गर्न सके यस क्षेत्रको पर्यटन विकाससँगै स्थानीय आर्थिक गतिविधि र दुई देशबीचको जनस्तरको सम्बन्धसमेत थप बलियो बन्ने अपेक्षा समितिले गरेको छ ।

प्रतिक्रिया 4