+
+

अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन खोजेको भन्दै पूर्वन्यायाधीश केसी सर्वोच्चमा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २८ गते १४:०९

२८ भदौ, काठमाडौं । अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने गरी आदेश भएको भन्दै पूर्वन्यायाधीश बलराम केसी रिट लिएर सर्वोच्च अदालत पुगेका छन् ।

प्रधानन्यायाधीश विना संवैधानिक इजलास नबस्न आदेश दिँदै न्यायाधीश हरि फुयालको एकल इजलासले पूर्वप्रधानन्यायाधीशको अभिव्यक्ति र सञ्चार माध्यममा भएको बहसबारे पनि बोलेको थियो ।

उक्त आदेशले आफूहरुलाई समेत विचार व्यक्त गर्न र धारणा राख्न नियन्त्रण गर्न खोजेको भन्दै सर्वोच्चकै पूर्वन्यायाधीश केसी निवेदन लिएर पुगेका हुन् । उनले न्यायाधीश फुयालको इजलासले दिएको आदेश खारेजीको माग गरेका छन् ।

उनको निवेदन दर्ता प्रक्रियामा रहेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

न्यायाधीश फुयालको इजलासले अदालतमा चलिरहेको मुद्दामा पूर्वप्रधानन्यायाधीश र न्यायाधीशहरुले सार्वजनिक गर्ने अभिव्यक्तिलगायका विष्मायमा पनि हेर्नुपर्ने उल्लेख गरेको थियो ।

आदेशमा भनिएको थियो ‘…यस अदालतमा चलिरहेको मुद्दामा पूर्वप्रधानन्यायाधीश र न्यायाधीशहरुले सार्वजनिक गर्ने अभिव्यक्ति, बार एशोसिएसनले गर्ने संस्थागत निर्णय तथा इजलासमा बहस गर्न आउने वा बहस गरिसकेका कानुन व्यवसायीहरुले सम्बन्धित मुद्दाको निर्णयका सम्बन्धमा गर्ने सार्वजनिक बहसहरुलाई अभिव्यक्ति स्वतन्त्रता तथा न्यायिक संस्कृतिको परम्परा विकासका सम्बन्धमा कसरी हेर्ने भन्ने विषयमा पनि हेर्नुपर्ने देखियो ।’

अनलाइनखबरसँगको कुराकानीमा पूर्वन्यायाधीश केसीले सर्वोच्च अदालतको एकल इजलासको आदेशले आफ्नो हक र अधिकार समेत संकुचित गर्न खोजेकाले निवेदन पेश गरेको बताए ।

‘मैले त लेख लेख्छु, मनमा लागेको बोल्छु । अदालतको आदेशले बोल्न लेख्न रोक्ला कि जस्तो देखियो’ केसीले भने, ‘यो त गलत भयो । मेरो हक हनन हुन्छ है भनेर आफ्नो सरोकारको सवालमा हस्तक्षेप गर्न म सर्वोच्च अदालत गएको हुँ ।’

आफ्नो मुद्दामा आफैं न्यायाधीश बन्न मिल्छ भनेजस्तो देखियो

सर्वोच्चको आदेशले आफ्नो मुद्दामा आफैं न्यायाधीश बन्न मिल्छ भन्ने विषयलाई स्वीकार्न खोजेको देखिएको भन्दै केसीले यसबाट न्यायालयमा अनर्थ हुने  बताए ।

न्यायाधीश फुयालको इजलासले प्रधानन्यायाधीशविना संवैधानिक इजलास बस्न नसक्ने आदेश दिएको थियो । यो आदेशले प्रधानन्यायाधीशविरुद्धको मुद्दाको सुनुवाइमा पनि उनी सहभागी हुन पाउने देखिएको केसीको भनाइ छ ।

केसीले वारेसमार्फत सर्वोच्चमा निवेदन दिएका हुन् । आफ्नो निवेदनमा बहस भए पनि आफू अदालत नजाने उनले बताए । ‘मेरो प्रतिनिधि गएर मेरो हकका बारेमा बोल्नुहुन्छ । अदालत जाने र फोटो खिचाएर लोकप्रिय हुने उद्देश्यले मैले निवेदन दिएको होइन’ पूर्वन्यायाधीश केसीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?