+
+

भारतमा हत्या गरी फरार, नेपालमा बैंक लुटपाट

हरि अधिकारी हरि अधिकारी
२०७८ कात्तिक २ गते १६:४८

२ कात्तिक, विराटनगर । भारतमा साथीको हत्या अभियोगपछि फरार रहेका व्यक्ति मोरङको धनपालथान गाउँपालिका– ४ स्थीत सिटिजन्स बैंक शाखा लुटपाटमा संलग्न भएको पाइएको छ ।

असोज २५ गते कर्सिया स्थीत सिटिजन्स बैंकको शाखाबाट २१ लाख ७० हजार ५ सय ६३ रुपैयाँ लुटपाट भएको थियो । लुटपाटमा संलग्न ८ मध्ये तीन जनालाई प्रहरीले सोही दिन भारत तर्फ भाग्दै गर्दा सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको थियो ।

पक्राउ परेका मध्ये एक बिजय सहनी(बहरदार)माथि भारतमा साथीको हत्या गरेको आरोप छ । सीमावर्ती क्षेत्रबाट प्रहरीले बहरदारसँगै बिराटनगरका ३२ वर्षीय श्याम मुखिया र अररियाका सुनिल यादवलाई पक्राउ गरेको थियो ।

विराटनगरका मुखिया लुटपाट प्रकरणका मुख्य योजनाकार हुन् । पक्राउ परेका बहरदार घाइते अवस्थामा थिए । लुटपाटका क्रममा साथीले चलाएको गोली उनको बाया खुट्टामा लागेको थियो ।

लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले अर्का भारतीय नागरिक रोशन यादवलाई पनि पक्राउ गरेको छ । सोमबार हतियारसहित पक्राउ परेका यादवमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जिसीले बताए ।

भारतमा हत्या नेपालमा बास

प्रहरीका अनुसार मोरङको कटहरीमा बस्दै आएका बिजय (सहनी) बहरदारमाथि एक वर्षअघि भारत अररीया जिल्ला गडुरापुर नरपथगञ्ज थाना नजिकै बस्ने २५ वर्षीय शिवशंकर कुमार (सिन्टु)को गोली हानी हत्या गरेको आरोप छ । २०७७ जेठ १४ गते बुधबार राति घर नजिकै सिन्टुको गोली हानी हत्या भएको थियो ।

हत्यापछि उनका बुबा रामप्रकाश यादवले बिजय बहरदार(सहनी)सहित प्रमोद मण्डल, मुकेश बहरदार, नितिश कुमार,शुशिल बहरदार, श्रवेश यादवसहित ९ जना विरुद्ध जाहेरी दिएका थिए ।

उनले दिएको जाहेरीमा आफ्नो एकमात्र सन्तानको हत्यामा संलग्न समूहले आफूलाई पनि ज्यानमार्ने धम्की दिइएको उल्लेख छ । हत्यापछि फरार रहेका बिजय विराटनगर आएका थिए । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जिसीका अनुसार सहनी कटहरीको एक कृषि फर्ममा काम गर्दै आएका थिए ।

सहनी पक्राउपरेपछि भारतमा गरेको अपराधको विषय बाहिर आएको थियो । मृतक सिन्टुका आफन्तका अनुसार बिजय अपराधिक गतिविधिमा संलग्न रहदै आएका हुन् ।

प्रहरीका अनुसार सहनी बसेको फर्मबाट नै बैंक लुटपाटको योजना बनेको थियो । लुटपाटका क्रममा चलाएको गोली लागेर सुरक्षा गार्ड सितल कुवर घाइते भएका थिए । बैंक भित्र दुई राउण्ड गोली फायर भएको थियो । एक गोली सुरक्षा गार्डलाई लागेको थियो । अर्को गोली लुटेरा समूहका सदस्य सहनीलाई नै लागेको थियो ।

सोही समूहले असोज २२ गते विराटनगर मेनरोडस्थित वडा प्रहरी कार्यालय छेउको गार्मेन्ट पसल लुटपाट गरेको प्रहरीले बताएको छ । कोटेक्स ट्रेडिङ लुटपाटका क्रममा सो समूहले १२ हजार नगद र ४ वटा स्मार्टफोन लगेको थियो ।

गार्मेन्ट पसल लुटपाट गर्दा सञ्चालक मनोज तोदीमाथि आक्रमण गरेको थियो । ३२ वर्षीय श्याम मुखियाले व्यावसायमा घाटा खाएपछि उनले लुटपाटको योजना बनाएको प्रहरीले बताएको छ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?