
म्युजिक भिडियोमा रुचाइनेमध्येकी मोडलमा पर्छिन्, उषा उप्रेती । दुई वर्षको अवधिमा एक सय बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी उषाका ‘माया गरौंला’, ‘झम्क्या बुलाकी’, ‘छोटो छ जिन्दगी’, ‘काली काली टिकटक वाली’, ‘ए माया’ जस्ता भिडियोहरू दर्शकले रुचाएका छन् । यिनै मोडलको कसरी बित्छ त दैनिकी ? रुचि, खानपान कस्तो छ ? लगायतका विषयमा गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
बिहान कतिबजे उठनुहुन्छ ?
बिहान उठ्ने समय साँझ सुत्दा कति बज्छ भन्नेमा भरपर्छ । कहिलेकाहीँ सुटिङबाट आउँदा ढिलो हुन्छ र ढिलो सुतिन्छ । त्यस्तो अवस्थामा बिहान उठ्दा ढिलै भएको हुन्छ । सामान्य अवस्थामा ६ देखि ७ बजे उठ्छु ।
उठेपछि बिस्तारामा मोबाइल चलाउने बानी कत्तिको छ ?
एकदमै । उठेपछि सुरुमै मोबाइल खोजिन्छ, सायद प्रायःमा यो बानी होला । मोबाइलमा फोन कल आएको भए कलब्याक गर्छु । एकछिन फेसबुक, इन्ट्राग्राम, टिकटक हेर्छु अनि बल्ल उठेर फ्रेस हुन्छु ।
फ्रेस भएपछि पहिलो काम के गर्नुहुन्छ नि ?
केही समय सामान्य व्यायाम गर्छु । त्यसपछि ब्रेकफास्ट लिन्छु ।
ब्रेकफास्टमा के लिनुहुन्छ ?
म होस्टेलमा बस्छु । यहाँ ब्रेकफास्टमा हेभी खानेकुरा केही हुँदैन । ‘ब्ल्याक टी’ र बिस्कुटहरू हुन्छ ।
बिहानको खाना कतिबजे खानुहुन्छ ?
प्रायः १० बज्छ ।
खानामा के हुन्छ ? कस्तो खाना मनपर्छ ?
भात, दाल, तरकारी हुन्छ । मलाई सबै प्रकारको खाना मनपर्छ । होस्टेल बसेको २-३ वर्ष भैसक्यो, सोही कारण होस्टेलको खानामा बानी भएको छ । मलाई मन नपर्ने तितेकरेला हो । तितेकरेला म खानै सक्दिनँ ।
होस्टेलमा भनेपछि खाना आफूले बनाउनुपर्दैन ? तपाईं खाना बनाउनचाहिँ कत्तिको आउँछ ?
घरको जेठो सन्तान भएकाले घरमा हुँदा पकाउने, सरसफाइका कामहरु सबै म नै गर्थे । होस्टेल बसेपछि त्यो बानी हट्दोरहेछ । पकाउन नआउनेचाहिँ होइन, मीठो नै पकाउँछु जस्तो लाग्छ ।
होस्टेलबाट बाहिर कतिबेला निस्किनुहुन्छ ?
म कामबिना खासै बाहिर निस्किने गर्दिनँ । सुटिङ भयो, मिटिङहरु भयो भने निस्किन्छु, नत्र होस्टेलमै बस्छु । काम कतिबेला परेको छ त्योअनुसार बाहिर निस्किने हो ।
बाहिर निस्कनुप¥यो भने तयार हुन कति समय लाग्छ ?
त्यति धेरै लाग्दैन । आधा घण्टाभित्र मेकअप, ड्रेसअप गरेर निस्किसक्छु ।
कपडा कस्तो सहज लाग्छ ?
कहाँ जाने त्यसअनुसारको ड्रेसअप गर्न मन लाग्छ । मिटिङमा जाँदैछु भने फर्मल लगाएर जाने, बिहे–पार्टीमा जाँदा अलि ट्रेडिसनल हिसाबको पहिरन लगाएर जाने, सुटिङमा त सबै प्रकारको ड्रेस प्रयोग हुन्छ । मलाई सहज लाग्नेचाँहि पाइन्ट, टिसर्ट नै हो ।
कपडामा सौखिनचाहिँ कत्तिको हुनुहुन्छ ?
कपडामा म एकदमै सौखिन छु । मेरो कोठा कपडाले भरिएको छ । अरू केही कुराको सपिङ गर्न गएको छ भने एउटा राम्रो कपडा देख्यो भने किनिहाल्न मन लाग्छ । त्यसरी धेरै कपडाहरु किन्ने गरेकी छु । जुत्ता, हिल्सहरू पनि धेरै नै किन्छु ।
कपडामा कस्तो रंग मन पराउनुहुन्छ ?
मलाई मनपर्ने रंग कालो, रातो र सेतो हो । सबैभन्दा बढी मसँग कालो रंगका कपडाहरु छन् । रातो र सेतो रंगका कपडाहरू पनि छन् ।
बाहिर हिँडडुल गर्दा यात्रा केमा गर्नुहुन्छ ?
मसँग आफ्नो सवारी साधन छैन । प्रायः पठाओको बाइक, ट्याक्सीमा चढ्छु ।
दिन कसरी बिताउनुहुन्छ ?
सुटिङ भए सुटिङमै बित्छ । कामहरु नभए म खासै बाहिर निस्कन्न । म ब्याचलरको विद्यार्थी हुँ । दिउँसो पढ्न मन लागे पढ्छु । कहिले पढ्ने कहिले मोबाइलमा नेटफ्लिक्स हेरेर बस्छु । कुनैबेला टिकटक बनाउँछु । त्यसैगरी दिन बित्छ ।
तपाईंले किन्नुभएको अहिलेसम्मको महँगो सामान के हो ?
अस्ति भर्खरै ममीलाई सुनको गहना किनेर लगेकी थिएँ । त्यो नै हो, अहिलेसम्मकै महँगो सामान ।
आफूसँग भएको प्रिय सामान के लाग्छ ?
मैले हातमा एउटा औंठी लगाएकी छु । त्यो ममीले बनाइदिनुभएको हो । त्यो औंठी म कहिल्यै पनि फुकाल्दिनँ । औंठी लगाउँदा ममी साथमै हुनुहुन्छ जस्तो लाग्छ । त्यो मेरो सबैभन्दा प्रिय सामान हो ।
मोडलिङबाहेक अरू रुचि के छन् ?
मोडलिङमा आउनुभन्दा अगाडि एयर होस्टेज हुने सपना थियो । मोडलिङमा आएपछि त्यतातिर ध्यान नै गएन । अहिले भने मोडलिङमै रुचि छ । यही क्षेत्रमा केही गर्छु भन्ने छ ।
म्युजिक भिडियोमा आफ्नो जोडी कोसँग बढी सुहाएजस्तो लाग्छ ?
त्यो मैले भन्नुभन्दा पनि दर्शकले भन्ने कुरा हो । चलचित्रका हिरोहरु, म्युजिक भिडियोमा जमिरहनुभएका मोडलहरू धेरैसँग मोडलिङ गरेकी छु । मलाई त सबैसँग उस्तै लाग्छ ।
तपाईं कस्तो स्वभावकी व्यक्ति ?
मलाई बाहिर त धेरै ट्याग दिनुभएको छ, – घमण्डी, एटिच्युट देखाउने, बोल्दै नबोल्ने पनि भन्नुहुँदोरहेछ । तर, जो एकपटक मसँग राम्ररी बोल्नुहुन्छ उहाँलाई थाहा हुन्छ कि यो सरल मान्छे रहेछ । म कसलाई कसरी रेक्सपेट गर्ने, कोसँग कसरी बोल्ने सबै कुराहरु आउँछ । त्यो सबै सिकेको पनि छु । अरूले भनेजस्तो घमण्डी, एटिच्युट देखाउने खालको व्यक्तिचाहिँ हुँदैहोइन । म चञ्चल किसिमको, चुप लागेर बस्न नसक्ने, बोलिरहनुपर्ने, हाँसिरहनपर्ने खालकी व्यक्ति हुँ । आफूभित्र खुसी खोज्ने र खुसी हुने व्यक्ति हुँ ।
कस्तो कुराले चित्त दुख्छ ?
अब त चित्त दुख्न छाडिसक्यो । सुरु–सुरुमा चाहिनेभन्दा नचाहिने, नभएको कुराहरू फैलिन्थ्यो । त्यस्तो कुराले चित्त दुख्थ्यो । अहिले त्यस्ता कुराहरुले चित्त दुख्दैन । भन्नेले भनिहाल्छन्, आफू सहि हुनुपर्छ भन्ने लाग्छ ।
बाहिर रेस्टुरेन्टतिरको खानेकुरा कत्तिको खानुहुन्छ ?
सबै साथीहरुले मलाई धेरै खाने ट्याग दिनुभएको छ । यसले कति धेरै खाएको भन्नुहुन्छ । म बाहिरको खानेकुरा धेरै नै खाइरहेकी हुन्छु । ममः, चाउमिन भयो, केएफसी भयो, अरू चिकेन, बफ आइटमहरू भयो । मलाई सबै मनपर्छ ।
दिनमा कति रुपैयाँ खर्च हुन्छ ?
म होस्टेल नै बसिरहेँ भने खर्च हुँदैन । बाहिर निस्किएकी छु भने पनि यत्तिकै धेरै खर्च हुँदैन । केही किन्दा मात्र बढी खर्च हुने हो ।
बढी खर्च के मा हुन्छ ?
मेरो बढी खर्च कपडा र मेकअपका सामाग्री, जुत्ता, हिल्समा हुन्छ ।
बाहिर जानुभएको छ भने कतिबेला फर्किनुहुन्छ ?
जतिबेला काम सकिन्छ, प्रायः सिधै होस्टेल फर्किन्छु ।
साँझको खाना कतिबेला खानुहुन्छ ?
८ बजे ।
सुत्दा कति बज्छ ?
सुत्दा ११, साढे ११ बजेकै हुन्छ । बीचको समयमा कहिले अनलाइन क्यास हुन्छ । कहिले पुस्तकहरु पढ्ने । मोबाइल चलाउने गर्छु । केही आफूलाई जान्न मन लागेका कुराहरु नेटमा सर्च गरेर हेर्छु ।
प्रतिक्रिया 4