
२ मंसिर, काठमाडौं । पछिल्लो समय जर्मनीमा कोरोना भाइरसबाट संक्रमितको संख्या दिनहुँ बढ्दो छ । दैनिक संक्रमितको संख्या निरन्तर बढ्न थालेपछि उक्त मुलुक कोभिड-१९ को नयाँ ‘इपिसेन्टर’ बन्न पुगेको छ ।
पछिल्लो २४ घण्टामा जर्मनीमा ६५ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेको डीडब्लू डटकमले जनाएको छ । महामारी सुरु भएयता एकैदिन ६० हजारभन्दा बढी संक्रमित फेला परेको यो पहिलो पटक हो ।
कोरोना भाइरसको चौथो लहर सुरु भएसँगै संक्रमितको संख्या तीव्र बढ्न थालेको समाचारमा जनाइएको छ । यसैबीच, जर्मनीका स्वास्थ्य अधिकारीले संक्रमितको संख्या यो भन्दा दोब्बर वा तेब्बर हुन सक्ने चेतावनी दिएका छन् ।
जर्मनीको संक्रामक रोगसम्बन्धी निकाय रोबर्ट कोच इन्स्टिच्युटका प्रमुख लोथर विलरले संक्रमितको संख्या आधिकारिक आंकडाभन्दा बढी हुन सक्ने बताएका छन् । पुष्टि भएका भन्दा ‘दुई वा तीन गुणा’ बढी संक्रमित हुन सक्ने उनको भनाइ छ ।
‘वास्तविक संख्यालाई घटाउने प्रवृत्ति बढिरहेको छ’, विलरले भने, ‘ जर्मनीमा महामारीको इपिसेन्टर बनेको स्याक्सोनीका प्रमुख माइकल क्रेस्मरसँगको अनलाइन कुराकानीमा विलरले भने, ‘हामी आतपकालीन अवस्थामा छौं । यसलाई देख्न नखोज्नेहरूले ठूलो गल्ति गरिरहेका छन् ।’
विलरले आगामी दिनमा थप डरलाग्दो अवस्था आउन सक्ने भन्दै राजनीतिक नेतृत्वलाई चाँडो कदम चालेर नयाँ संक्रमण नियन्त्रण गर्न अपील गरेका छन् । चान्सलर एंगेला मर्केलले बिहीबार प्रान्तीय प्रमुखसँग छलफल गर्ने तयारी गरिरहेका बेला विलरले यस्तो बताएका हुन् ।
प्रतिक्रिया 4