५ मंसिर, काठमाडौं । साउथ एसियाली नाटकहरुको भर्चुअल महोत्सवमा आइतबार नाटक ‘महाभोज’ प्रसारण हुँदैछ । साउथ एसियन थिएटर एशोसिएसन (साटा)को आयोजनामा बुधबारदेखि शुरु भएको साउथ भर्चुअल महोत्सवको अन्तिम दिन थिएटर नेपालको प्रस्तुति रहेको ‘महाभोज’ प्रसारण हुने भएको हो ।
मण्डला थिएटरका अनुसार यो नाटक साँझ ७:४५ बजे प्रसारण हुनेछ । यो नाटक मण्डला थिएटरमा २०७६ भदौमा मञ्चन भएको थियो । मण्डला थिएटर र साउथ एसियन थिएटर एशोसियसनको पेजमा नाटक शेयर हुनेछ । भारतीय लेखिका मन्नु भण्डारीद्वारा लिखित ‘महाभोज’ रुचाइएको नाटक हो ।
विप्लव प्रतीकले नेपालीमा अनुवाद गरेको नाटकलाई अनुप बरालले निर्देशन गरेका हुन् । नाटकमा रमेश बुढाथोकी, शेखर चापागाईं, दयाहाङ राई, सृजना सुब्बा, बुद्धि तामाङ, विजय बराल, विप्लव प्रतीक लगायतको अभिनय रहेको छ । नाटकले राजनीतिले समाजलाई कसरी कुरुप बनाउँछ भन्ने विषयलाई प्रस्तुत गर्छ ।
भर्चुअल महोत्सवमा भारतका तीन नाटक प्रसारण भएका थिए । त्यस्तै, श्रीलंका, बंगलादेश, पाकिस्तान र नेपालको एउटा नाटक रहेको आयोजक संस्थाका संस्थापक सदस्य टंक चौलागाईंले जानकारी दिए । ओपनिङ सेरोमोनीमा विभिन्न देशका रंगकर्मीहरुले आआफ्नो अनुभव शेयर गरेका थिए । दक्षिण एसियाको रंगमञ्चको क्षेत्रमा काम गर्ने उद्देश्यले यसैवर्ष संस्था स्थापना भएको संस्थापक सदस्य चौलागाईँले बताए ।
प्रतिक्रिया 4