+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

डटेर रुसको सामना गर्ने ‘मुड’मा युक्रेन

सुनिल बराल सुनिल बराल
२०७८ मंसिर ११ गते १७:४५

११ मंसिर, काठमाडौं । पछिल्लो समय रुस र युक्रेनबीचको तनाव उत्कर्षमा पुगेको छ । रुसले युक्रेनी सीमा नजिकै हजारौं सैनिक र हतियार तैनाथ गरेपछि जारी तनाव उत्कर्षमा पुगेको हो ।

सीमामा जारी सैन्य अभ्यास र भारी मात्रामा सैनिक एवं हतियार तैथानीले विगत सात वर्षदेखि रुस समर्थित पृथकतावादीसँग लडिरहेको युक्रेनमाथि रुसले सिधै हमला गर्न सक्ने चिन्तासमेत बढाएको छ ।

अमेरिकी खुफिया एजेन्सीले केही हप्तादेखि सीमा नजिकै अत्याधुनिक हतियार र ट्याङ्क तैनाथ गरिरहेको रुसले युक्रेनमाथि कुनै पनि बेला आक्रमण गर्न सक्ने चेतावनी दिइसकेका छन् ।

तर रुसले युक्रेनमाथि हमला गर्ने आफ्नो कुनै योजना नरहेको भन्दै संभावित हमलाको खण्डन गर्दै आएका छन् । केही सातादेखि बढिरहेको तनावबीच दुबै पक्षले सम्भावित युद्धको तयारीस्वरुप सैन्य अभ्यास समेत गरिसकेका छन् ।

बुधबार मात्रै युक्रेनको दक्षिणतर्फ रहेको कृष्ण सागरमा रुसले परम्परागत तथा आणविक हतियारसहित सैन्य अभ्यास गरेको थियो । आफ्नो सीमा नजिक नेटो सेनाको बढ्दो गतिविधिलाई मध्यनजर गर्दै उक्त सैन्य अभ्यास गरेको रुसको भनाइ छ । युक्रेनले समेत बिहीबार बेलारुससँगको सीमा नजिकै सैन्य अभ्यास गरेको थियो ।

बेलारुसको सीमानजिकै गरिएको सैन्य अभ्यासमा ८ हजार ५ सय थप फौज, ड्रोन, एन्टिट्याङ्क र वायु सेनाका विभिन्न युनिट सहभागी थिए । युक्रेनी सेनाले डोनेट्स्क क्षेत्रमा पनि ट्याङ्कसहित सैन्य अभ्यास गरेको थियो । रुसले बेलारुससँगको सीमानाबाट युक्रेनमाथि हमला गर्न सक्ने चिन्ताबीच उक्त सैन्य अभ्यास गरिएको हो ।

रुससँग जारी तनावमा नेटो गठबन्धनमा रहेका पश्चिमी मुलुकले युक्रेनलाई समर्थन गर्दै आएका छन् । शुक्रबार नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले रुसलाई चेतावनी दिँदै भनेका थिए, ‘रुसले युक्रेनविरुद्ध फौज प्रयोग गरेमा मूल्य चुकाउनु र परिणाम भोग्नु पर्नेछ ।’

त्यस्तै, बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई आफूहरूले सहयोग गर्ने भन्दै भनेका थिए, ‘अमेरिकाले युक्रेनी नागरिकप्रति आफ्नो प्रतिबद्धता र युक्रेनको सार्वभौमसत्ता एवं भौगोलिक अखण्डताका लागि अविचलित समर्थन पुन: दोहोर्‍याउन चाहन्छ ।’

यसअघि बिहीबार युक्रेनी विदेशमन्त्रीले समेत रुसलाई यस्तै चेतावनी दिएका थिए । विदेशमन्त्री डिमित्रो कुबेलाले रुसलाई चेतावनी दिँदै आक्रमण भएमा ‘राजनीतिक, आर्थिक र मानवीक्ष क्षति’ ब्यहोर्नुपर्ने र ठूलो मूल्य चुकाउनुपर्ने बताए ।

‘आक्रमणको नयाँ चरण सुरु गरेमा रुसले ब्यहोर्नुपर्ने राजनीतिक, आर्थिक तथा मानवीय क्षतिलाई मस्कोले राम्रोसँग बुझ्नुपर्छ’, कुबेलाले पत्रकारसँग कुरा गर्दै भनेका थिए ।

रुसले सन् २०१४ मा क्राइमियालाई आफूमा गाभेपछि युक्रेनसँगको तनाव सुरु भएको थियो । विरोध प्रदर्शनका कारण आफू निकट राष्ट्रपति भिक्टर यानुकोभिच सत्ताच्यूत भएपछि रुसले क्राइमियामा नियन्त्रण जमाएको थियो । रुसले त्यसयता पूर्वी क्षेत्रमा सुरु भएको पृथकतावादी विद्रोहलाई अप्रत्यक्ष रुपमा समर्थन गर्दै आएको छ ।

युक्रेन र पश्चिमी मुलुकले विद्रोहीलाई हतियार तथा सैनिक पठाएको आरोप लगाइरहेका छन् । तर पृथकतावादीसँग जोडिएका रुसीहरू स्वयंसेवक भएको भन्दै मस्कोले उक्त आरोप अस्वीकार गर्दै आएको छ ।

सन् २०१५ मा फ्रान्स र जर्मनीको मध्यस्थतामा सेना र पृथकतावादीबीच युद्ध रोक्ने भन्दै एक सहमति भएको थियो । तर राजनीतिक समाधानका लागि भइरहेका प्रयास बिफल हुँदा बेला-बेला भिडन्त हुने गरेको छ । हालसम्म युक्रेनी सेना र पृथकतावादीको लडाइँमा परी १३ हजारभन्दा बढीले ज्यान गुमाइसेका छन् ।

यसैबीच, शुक्रबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी हप्ता आफूलाई ‘कू’ गरेर हटाउन लागेको सूचना प्राप्त भएको बताएका छन् । उनले आफूविरुद्ध हुन लागेको ‘कू’ योजनामा रुसीहरूको समेत संलग्नता रहेको पनि बताएका थिए ।

‘डिसेम्बर १ गते हाम्रो मुलुकमा कू हुने सूचना पाएको छु’, पत्रकार सम्मेलनमा बोल्दै जेलेन्स्कीले भने । धनाढ्य एवं रुस नजिक ठानिने व्यापारी रिनत एखमेटोभ पनि ‘कू’ योजनामा संलग्न रहेको हुन सक्ने उनको भनाइ थियो ।

तर जेलेन्स्कीले ‘कू’ योजनाको आरोप रुसी सरकारमाथि लगाएका थिएनन् । रुसीहरूको संलग्नतामा ‘कू’ हुन लागेको उनको दाबीलाई मस्कोले ‘आफूहरूले त्यस्ता कुरा कहिल्यै नगर्ने’ भन्दै अस्वीकार गरिसकेको छ ।

क्राइमिया र डोनबाससहितको स्वतन्त्र एवं एकीकृत युक्रेनको पक्षमा आफू सँधै लाग्ने पनि जेलेन्स्कीको भनाइ थियो । ‘क्राइमिया र मेरो जन्मस्थल डोनबास समेत समेटिएको स्वतन्त्र, लोकतान्त्रिक तथा एकीकृत युक्रेनको हकमा मेरो अडान कहिल्यै फेरिने छैन’, उनले भनेका थिए, ‘यो कुरालाई मेरो कामले नै पुष्टि गर्नेछ ।’

(एजेन्सीहरूको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?