+
+

अन्नपूर्ण चिनी मिल एक अर्ब रुपैयाँमा बिक्री

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २२ गते २०:५४

२२ मंसिर, काठमाडौं । उखु किसानको बक्यौता चुक्ता गर्न नसकेर बन्द भएको अन्नपूर्ण चिनी मिल बिक्री भएको छ । उद्योगी राकेश अग्रवालले आफ्नै व्यापारिक साझेदार ज्ञानप्रसाद भट्टराईलाई एक अर्ब रुपैयाँमा मिल बिक्री गरेका हुन् ।

कुल एक अर्ब रुपैयाँमा मिलको सम्पूर्ण स्वमित्व बिक्री गर्न सम्झौता भएको अग्रवालको पारिवारिक स्रोतले अनलाइनखबरलाई बतायो । ‘विविध कारणले मिल सञ्चालन गर्न सकिएन, किसानको भुक्तानीको विषय पनि सधैं विवादित बन्यो । अब किसानको बक्यौता भुक्तानी तिरेर ढुक्क हुन चाहन्छौं,’ परिवारिक स्रोतले भन्यो ।

मिलले किसानलाई झण्डै ५ करोड रुपैयाँ हाराहारी बक्यौता तिर्न बाँकी रहेको अग्रवाल परिवारको दाबी छ ।

आर्थिक संकटमा फसेको मिल आफूसहित थप दुई जना व्यवसायी मिलेर खरीद गरेको व्यवसायी भट्टराईले अनलाइनखबरलाई बताए । व्यवसायी शैलेन्द्र गुप्ता र विनोद साहसहितले मिलमा लगानी गरेको भट्टराईले बताए । ‘मिल खरीदका लागि पहिलो पटक गत फागुनमा सम्झौता भएको थियो, पछि असारमा त्यसलाई नवीकरण गरियो र अहिले हस्तान्तरणको अन्तिम अवस्थामा पुगेको छ,’ व्यवसायी भट्टराईले भने, ‘यो वर्षको उखु सिजनमा मिल सञ्चालन गर्नेगरी प्राविधिक सुधारको काम अहिले भइरहेको छ ।’

मिलको स्वमित्व टेकओभर गर्ने प्रयोजनका लागि अडिट, भ्याट र ट्याक्सको काम अन्तिम चरणमा पुगेको पनि भट्टराईले बताए । यस अघि व्यवस्थापन र आर्थिक संकट आदिले मिल सञ्चालनमा अवरोध रहेपनि अब पृथक तरिकाले मिल सञ्चालन गरिने उनको दाबी छ । पहिले किसानको रकम भुक्तानी गर्ने र त्यसपछि मिलको प्रविधि सुधार र कुशल व्यवस्थापनमा ध्यान दिने नयाँ व्यवस्थापनको दाबी छ ।

मिल खरीद सम्झौताअनुसार किसानको बक्यौता मिल बिक्रेता उद्योगी राकेश अग्रवालले नै तिर्नेछन् । नेपाल इन्भेष्टमेन्ट बैंकमा ऋण धितोमा रहेको उक्त मिलको बिक्रीबाट आएको रकममध्ये किसानको बक्यौता सबै चुक्ता गरेपछि बैंकको ऋण र साँवाको हिसाब किताब हुनेछ ।

सर्लाहीको धनकौल ३ मा रहेको मिलले दैनिक २५ सय टन प्रति उखु क्रसिङ गर्न सक्ने क्षमता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?