
२६ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले संघीय सरकारको कारण ठूला पूर्वाधार बनाउन नसकेको बताएका छन् । मेयर शाक्यले चक्रपथको विस्तार नसकिएका कारण मोनोरल बनाउन नसकिएको बताएका छन् ।
२७औं काठमाडौं महानगर दिवसको अवसर पारेर गरिएको पत्रकार सम्मेलनमा बोल्दै मेयर शाक्यले चुनावी घोषणापत्रमा उल्लेख भएअनुसार काम गर्न खोजेपनि मोनोरेल चलाउन महानगर एक्लेले चाहे नसक्ने अवस्था देखिएको बताए ।
‘काठमाडौंमा बढेको ट्राफिकको समस्याअनुसार यहाँ वैकल्पिक ठूला क्षमताका सार्वजनिक यातायातमा जानैपर्छ,’ उनले भने,’ चक्रपथ विस्तार नसकिँदा मोनोरेलको काम पनि अघि बढाउन सकेनौं । अहिले मेट्रोमा जानुपर्ने कुरा पनि छ, भविष्यमा यसबारे थप अध्ययन हुँदै जाला ।’
त्यसैगरी तीनकुनेको बुद्धपार्क निर्माण गर्ने कुरा पनि सरकारले मुआब्जाको विवाद मिलाउन नसक्दा समस्या भएको उनको स्पष्टीकरण छ ।
‘संघीय सरकारबाट अनुमति नपाउँदा भृकुटी मण्डपमा निर्माण गर्ने मेगाहल निर्माणको काम पनि हामीले अघि बढाउन सकेका छैनौं,’ उनले भने ।
महानगरपालिका प्रशासकीय भवन निर्माण सुरु भएको भन्दै बागदरबार लगायतका केही सम्पदा पुर्ननिर्माणका विषयमा मुद्दा परेका कारण ढिलाइ भएको बताए ।
‘उपत्यका विकास प्राधिकरण खारेज गरौं’
उनले उपत्यका विकास प्राधिकरणलाई सबै कामको जिम्मा आफैंले मात्रै लिनु उचित नभएको पनि बताएका छन् । पत्रकार सम्मेलनमा उनले उपत्यका विकास प्राधिकरण आफैैं कार्यकारी निकाय भएको बताए ।
‘उसको काम भनेको नीति बनाउन हो,’ शाक्यले भने, ‘स्थानीय निर्माणसँगै सबै काम स्थानीय तहले गर्ने र त्यो अधिकार स्थानीय तहमा आएपछि त्यहि प्रकृतिको काम प्राधिकरणले नगरे हुन्छ भनेर उपत्यकाका सबै नगरका मेयरहरुको फोरमले त्यसको खारेजीको माग गरेको हो । अहिले पनि त्यो माग यथावत छ ।’
त्यसैगरी उनले संघीय र प्रदेश सांसदहरुलाई पनि सकेसम्म एकीकृत योजनासहित ठूला-ठूला योजनाका काम गर्न आग्रह गर्दै महानगरपालिकाले गर्ने काममा बजेट खर्च नगर्न सुझाव दिए ।
‘माननीयज्युहरुको पनि बाध्यता छ । आफूलाई जिताएर पठाएका मतदाताको मागअनुसार र आफ्नो उपस्थिति देखाउन पनि ढल राख्ने, ब्लक छाप्ने जस्ता काम गर्नुपरेको छ,’उनले भने, ‘सकेसम्म उहाँहरुले संसदकोषको बजेटबाट मिलेर ठूला-ठूला योजनाका काम गरिदिनुहोस् भन्ने छ । हामीले जुन काम गर्न बजेट विनियोजन गरेका छौँ । त्यही काम उहाँहरुले गर्दा खर्च बढ्ने र कामको डुब्लिकेसन हुनेभयो ।’
प्रतिक्रिया 4