
१९ पुस, काठमाडौं । झण्डै दुई वर्ष कोरोना महामारीको चपेटामा परेको चलचित्र क्षेत्रले विस्तारै लय समात्दै छ । निर्माताहरुले धमाधम आफ्नो चलचित्रको प्रदर्शन मिति तोकिरहेका छन् ।
आगामी वैशाखसम्म चलचित्रको लाइनअपले भरिएको छ । यो वर्ष बक्स अफिसमा राम्रो कमाइ गर्ने अपेक्षा गरिएका चलचित्रहरु पनि रिलिज हुँदैछन् । रिलिज मिति तोकिएका चलचित्रहरुमा चपली हाइट ३, म यस्तो गीत गाउँछु २, प्रेमगीत ३, लप्पन छप्पन २, आकाशे खेती, सम्हालिन्छ कहिले मन, ए मेरो हजुर ४, पासो यो वर्ष रिलिज हुँदैछन् । यस्तै वैशाखमा कबड्डी ४, लक्का जवान र चिसो मान्छे रिलिज हुँदैछन् ।
छिमेकी मुलुक भारतमा कोरोना तेस्रो लहर फैलिएपछि अधिकांश राज्य र शहरका सिनेमा हलहरु बन्द गर्न थालिएको छ । अन्य राज्यका सिनेमा हल पनि केही दिनमै बन्द गर्न सक्ने जनाइएको छ । जसका कारण रिलिज हुन लागेका अधिकांश चलचित्रको मिति पोस्टपोन्ड गरिएको छ ।
भारतमा धमाधम चलचित्र प्रदर्शन स्थगित भएपछि अब नेपाली प्रदर्शकसँग नेपाली चलचित्रकै भर पर्नुको विकल्प छैन । अहिले प्रदर्शन भइरहेको ‘कठपुतली’का साथै पुस ३० गते रिलिज हुन लागेको ‘चपली हाइट ३’ले हलमा कुनै विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्नु नपर्ने देखिएको छ ।
तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ दोस्रो साताबाट कोरोनाको लहर नेपालमा फैलिने प्रक्षेपण गरेपछि नेपाली चलचित्र प्रदर्शनमा पनि फेरि अन्योल सिर्जना भएको छ ।
निर्देशक सुदर्शन थापाले चलचित्र ‘म यस्तो गीत गाउँछु २’को प्रचार शुरु गर्ने तयारी गर्दै गर्दा कोरोनाको त्रास फैलिएपछि रोकेका छन् । चलचित्रको नयाँ गीतको छायांकन भएपनि सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरिएको छ । फागुनमा रिलिज हुन लागेका चलचित्रका निर्माता पनि ‘पर्ख र हेर’कै अवस्थामा छन् ।
कोरोनाको तेस्रो लहर फैलिएमा सबैभन्दा पहिलो मारमा सिनेमा हलहरु नै पर्ने निश्चित छ । जसले विस्तारै चलायमान हुन थालेको नेपाली चलचित्र क्षेत्रमा अन्योल बढाएको छ ।
प्रतिक्रिया 4