+
सातौं चरणको विशेषता :

मच्छिन्द्र एएफसी कपमा छनोट, फ्रेण्ड्सलाई रेलिगेसनको चिन्ता

२०७८ पुष  २० गते १२:२३ २०७८ पुष २० गते १२:२३
मच्छिन्द्र एएफसी कपमा छनोट, फ्रेण्ड्सलाई रेलिगेसनको चिन्ता

२० पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको सातौं चरण अर्थात म्याच विक सेभेन समाप्त भएको छ । सातौं चरणपछि एउटा विषय भने टुङ्गिएको छ ।

एएफसी कप छनोटका लागि सातौं चरणको शीर्ष टिम छनोट हुने प्रावधान थियो । क्लब लाइसेन्स पाएका चार क्लबमध्ये सातौ चरणसम्म धेरै अंक जोडेर मच्छिन्द्रले बाजी मारेको छ ।

७ खेलसम्म अपराजित मच्छिन्द्रले उपाधि होडमासमेत आफ्नो पकड बनाएको छ । मच्छिन्द्रले अब खेल्ने विपक्षीहरु तुलनात्मक रुपमा पनि सजिलो छ ।

यस्तै सातौं चरणमा आएर थ्री स्टारले ५ खेलपछि पहिलो जित हात पार्‍यो । फ्रेण्ड्स भने अझै जितविहीन छ । लिगमा एक खेल पनि नजित्ने एक्लो टिमको रुपमा फ्रेण्ड्स रहेको छ ।

घरेलु मैदान पोखरामा मनाङले सिजनको दोस्रो खेल खेल्दा कप्तान अन्जन विष्ट फेरि नायक बने । सातौं चरणको विशेषता यस्ता छन् :

मच्छिन्द्र एएफसी कपमा छनोट

आइतबार भएको लिगको ४८औं खेलमा नेपाल पुलिस क्लबलाई १-० ले हराएर मनाङलाई एक अंकले पछि पार्दै मच्छिन्द्र फुटबल क्लब पहिलो पटक एएफसी कपको प्रारम्भिक चरणका लागि छनोट भएको छ ।

गत सिजन लिग जितेर पनि क्लब लाइसेन्स नभएकोले एएफसी कप खेल्ने मौका गुमाएको मच्छिन्द्रले यस सिजन भने सातौं चरणपछि नै शीर्ष स्थानमा रहेर त्यो मौका पायो ।

यस सिजनमा मच्छिन्द्रसहित आर्मी, मनाङ र एपीएफले क्लब लाइसेन्स पाएका थिए । त्यसमध्ये सातौं चरणमा धेरै अंक जोड्ने क्लब एएफसी कप छनोट खेल्न जाने एन्फाले यसअघि नै निर्णय गरिसकेको थियो ।

अघिल्लो खेलमा मनाङलाई नै पराजित गरेर मच्छिन्द्रले त्यो बाटो केही सहज बनाएको थियो । तर सातौ चरणमा ब्रिगेडलाई हराएर मनाङ शीर्ष स्थानमा उक्लिएपछि मच्छिन्द्रमाथि दबाब बढेको थियो । सुनिल बल फेरि एक पटक निर्णायक बनेपछि पुलिसलाई १-० ले हराएरमच्छिन्द्रले एएफसी कपमा स्थान पक्का गरेको हो ।

सुरुको ७ खेलमा विपक्षी बलियो हुँदा पनि मच्छिन्द्रले ५ जित र २ बराबरीको नतिजासहित अपराजित यात्रा समेत कायम राखेको छ । साथै उपाधि होडमा समेत आफूलाई फ्रन्ट रनरको रुपमा राखेको छ ।

मच्छिन्द्रले अब खेल्ने विपक्षी तुलनात्मक रुपमा अंक तालिकामा पछि रहेका टिमहरु भएकोले पनि अब कुनै अप्रत्यासित नतिजा नआए मच्छिन्द्रलाई उपाधि रक्षा गर्न सहज हुने स्थिति देखिएको छ ।

च्याम्पियन बन्ने जस्तो भएन आर्मी

साविक उपविजेता आर्मीले यस पटक लिग उपाधि जित्ने लक्ष्य राखेको थियो । सातौं चरणसम्म आइपुग्दा टोली अपराजित त छ तर च्याम्पियन बन्ने जस्तो खेल्न सकेको छैन ।

आर्मीले जम्मा २ खेल मात्र जित्दा ५ खेल बराबरी खेलेको छ । यसको अर्थ १० अंक गुमाइसकेको छ । शनिवार विभागीय डर्बीमा एपीएफसँग बराबरीमा रोकिएपछि आर्मीका प्रशिक्षक नविन न्यौपानेले पनि लगातार बराबरीले उपाधि होड कमजोर बन्दै गएको संकेत गरे ।

उनले च्याम्पियन बन्ने लक्ष्य राखेको टिमले त्यो शैलीमा खेल्न देखाउन नसकेको स्वीकार गरे । ‘च्याम्पियन बन्ने लक्ष्यसहित खेलेको ५ बराबरी भइसक्यो । अब शीर्ष चारका लागि खेल्नुपर्ने स्थिति आयो ।’

७ खेलबाट ११ अंक जोडेको आर्मी अंक तालिकामा पनि अहिले चौथो स्थानमै छ । आर्मीलाई हिमालयन शेर्पाले समेत अंकतालिकामा भेट्टाइसकेको छ । शेर्पाले ३ जित २ बराबरी र २ हारबाट ११ अंक जोडेको छ । गोलअन्तरमा भने शेर्पा पछि रहँदै पाँचौ स्थानमा छ ।

विदेश खेलाडी हाबी बनेको खेल

न्यूरोड टिम (एनआरटी) र फ्रेण्ड्स क्लबबीचको खेलमा कूल ५ गोल हुँदा सबै विदेशी खेलाडीले गोल गरे । जसमा क्यामरुनका खेलाडीले ३ गोल गरे भने ट्रिनिडाड एण्ड टोबागोका दुई खेलाडीले गोल गरे ।

एनआरटीबाट खेललेका क्यारुनमा मेसुके ओलोमोउ दुई र स्टेफेन समिरले एक गोल गरे । यस्तै फ्रेण्ड्सबाट खेल्ने तथा अन्य तीन खेलाडीले समान एक गोल गरे ।

सातौं चरणमा एकै खेलमा धेरै खेल गोल भएको खेल समेत यही नै हो ।

५ खेलपछि थ्री स्टारको जित

उपाधिको दाबेदार अनी चर्चित क्लब थ्री स्टारले ५ खेलपछि सातौं चरणमा आएर जित हात पार्‍यो । सिजनको पहिलो खेलम च्यासललाई ३-० ले हराएको थ्री स्टार लगातार पाँच खेलमा जितविहीन थियो । पाँचमध्ये चार खेल बराबरी गरेको थ्री स्टारले एक खेल हारेको थियो ।

पहिलो खेलमा ललितपुरकै क्लबलाई हराएको थ्री स्टारले सातौं चरणमा पनि ललितपुरकै अर्को क्लब जावलाखेल युथ क्लबलाई २-१ ले हरायो । यसबीच थ्री स्टारको अर्को ललितपुरे क्लब फ्रेण्ड्ससँग बराबरी खेल्दा नवप्रवेशी ललितपुरकै सातदोबाटोसंग पराजित भएको थियो । यस सिजन थ्री स्टारको एउटै हार त्यही सातदोबाटोसँग थियो ।

७ खेलबाट थ्री स्टार छैटौं स्थानमा उक्लेको छ ।

पोखरामा अन्जन नायक

कप्तान अन्जन विष्ट फेरि नायक बन्दा घरेलु मैदान पोखरा रंगशालमा मनाङ मर्स्याङ्दी क्लबले ब्रिगेड ब्वाइज क्लबलाई १-० ले हरायो । उनले पहिलो हाफको इन्जुरी टाइममा गोल गरे ।

यसै सिजन देखि एन्फाले काठमाडौं बाहिर लिगका खेल खेलाउँदा मनाङले घरेलु मैदान पोखरामा दुई खेल खेलिसकेको छ । पाँचौ चरणमा मनाङले पुलिसलाई ३-१ ले पराजित गर्दा पनि अन्जनले २ गोल गरेका थिए । उनी दुवै खेलमा म्यान अफ दि म्याच समेत घोषित भए ।

घरेलु मैदानमा खेल्दा मनाङले पोखरेली दर्शकको साथ पाउँदा अन्जन भने निर्णायक बनिरहेका छन् ।

फ्रेण्ड्सलाई रेलिगेसनको चिन्ता 

हरेक चरणमा फ्रेण्ड्स जितविहीन बन्दै आएको छ । लिगको आधाभन्दा बढी खेल सकिँदा फ्रेण्डले जित हात पार्न सकेको छैन । जसले गर्दा रेलिगेसन दबाब पनि चर्को बनेको छ । ७ खेल खेल्दा ३ बराबरीबाट जम्मा ३ अंक जोडेको फ्रेण्ड्सले चार हार बेहोरेको छ ।

सातौं चरणमा फ्रेण्ड्स एनआरटीसँग ३-२ ले पराजित भयो । विपक्षीलाई कडा प्रतिस्पर्धा दिए पनि फ्रेण्ड्सले खेल जित्न सकिरहेको छैन ।

सातौं चरणमा पनि जित निकाल्न नसकेपछि फ्रेण्ड्सका प्रशिक्षक मृगेन्द्र मिश्रले रेलिगेसनको दबाब पर्न थालेको बताए । उनले लिगअघि नै रेलिगेसनबाट बच्ने लक्ष्यसहित खेलेको अबको खेलमा त्यही लक्ष्यलाई सफल पार्ने प्रयास गर्ने बताए । फ्रेण्ड्स ३ अंक जोडेर पुछारमा छ । यस पटक २ टिम रेलिगेसनमा पर्ने भएकोले पनि फ्रेण्ड्सलाई अझ दबाब बढेको छ ।

यस्तै फ्रेण्ड्सभन्दा अघि रहेका ब्रिगेड ब्वाइज क्लब र च्यासल युथ क्लबलाई पनि रेलिगेसनको दबाब परिरहेको छ । दुवैको ७ खेलबाट समान ५ अंक छ । गोलअन्तरमा ब्रिगेड अघि रहँदा च्यासल रेलिगेसन जोनमै छ ।

यी क्लबभन्दा ठिक अघि रहेका दुई विभागीय टोली एपीएफ र नेपाल पुलिसको पनि समान ६ अंक मात्र छ ।

स्कोरिङमा सुनिल बल, पोष्टमा विशाल अब्बल

मछिन्द्रले एएफसी कप छनोटमा स्थान पक्का गर्दा यस टिमका दुई खेलाडीले गज्जबको प्रदर्शन गरिरहेका छन् । तथ्याङ्कले पनि यो पुष्टि गर्छ । अहिलेसम्म लिगमा सर्वाधिक गोल गर्नेमामच्छिन्द्रका सुनिल बल छन् ।

उनले ७ खेलमा ५ गोल गरेका छन् । त्यसमा पनिमच्छिन्द्रले पछिल्ला दुई खेलमा मनाङ मर्स्याङ्दी र नेपाल पुलिसलाई १-० ले पराजित गर्दा दुवैमा सुनिलले निर्णायक गोल गरे ।

यस्तै गोल रोक्नेमा पनि मच्छिन्द्रकै विशाल श्रेष्ठ अब्बल देखिएका छन् । उनले पहिलो खेलमा एनआरटीविरुद्ध एक गोल बेहोरेका थिए । त्यसयता लगातार ६ खेलमा विशाल क्लिनसिट राख्दै ५७६ मिनेट कुनै गोल खाएका छन् । विशालविरुद्ध एनआरटीका एरिक विष्टले उत्कृष्ट गोल गरेका थिए ।

मैदानको विषयमा पनि उठ्यो प्रश्न

सातौं चरणसम्म भएका कूल ४९ मध्ये ४७ खेल दशरथ रंगशालमै खेलाइएको छ । बाँकी दुई खेलमा मनाङले नेपाल पुलिस क्लब र ब्रिगेडसँग पोखरा मैदानमा खेलेको थियो ।

पछिल्लो समय पानी परेकोले दशरथ रंगशालाको मैदान पनि भिजेको थियो । लिग शुरू हुने बेला मैदानको अवस्था राम्रो हरेपनि निरन्तर खेल हुँदा मैदानको अवस्था पनि कमजोर हुँदै गएको छ ।

सातौं चरणको अन्तिम खेलमा सातदोबाटोलाई हराएपछि हिमालयन शेर्पाका प्रशिक्षक युगल किशोर राईले मैदानको अवस्थामा प्रश्न उठाए । उनले मैदान खराब हुँदै गएको बताए ।

कप्तान विश्वास श्रेष्ठको पेनाल्टी गोल अनी अन्तिम समयमा गोलकिपर दिप कार्कीले पेनाल्टी सेभ गरेपछि शेर्पाले कठिन जित हात पारेको थियो । ३ अंकबाट खुशी भए पनि प्रदर्शनबाट प्रशिक्षक राई सन्तुष्ट थिएनन् ।

साथै उनले मैदान पनि खेल्न लायक नभएको बताए । ‘मैदानको अवस्था खराब हुँदै गएको छ । अब यो विषय पनि बाहिर आउनुपर्‍यो ।’ उनले खेलपछि भने । यस्तै राईले खेलमा रेस्पेक्टको समेत अभाव भएको बताए । उनले पेनाल्टी पाउनुपर्ने विषयमा कमेन्ट गर्दा लाइन्समेन हाँसेको भन्दै त्यो राम्रो नभएको तर्क गरे ।

सातौं चरणको खेलको नतिजा

एपीएफ १-१ त्रिभुवन आर्मी

फ्रेण्ड्स २-३ एनआरटी

थ्री स्टार २-१ जावलाखेल

मनाङ १-० ब्रिगेड

संकटा ०-० च्यासल

पुलिस ०-१ मच्छिन्द्र

सातदोबाटो ०-१ हिमालयन शेर्पा

सातौं चरणको गोलकर्ता

जर्ज प्रिन्स कार्की, आर्मी

बिके तामाङ, एपीएफ

मेसुके ओलोमोउ २ गोल, एनआरटी

स्टेफन समिर, एनआरटी

नाथनियल जुड गार्सिया र एन्टोनी जमाउल फ्रानकोइस, फ्रेण्ड्स

आयुष घलान र ऋतिक कुमार खड्का, थ्री स्टार

निकोलस फर्नान्डेज, जावलाखेल

अन्जन विष्ट, मनाङ

सुनिल बल,मच्छिन्द्र

विश्वास श्रेष्ठ, हिमालयन शेर्पा क्लब

फ्रेण्ड्स मच्छिन्द्र क्लब
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय