
२२ पुस, काठमाडौं । अर्जुन घिमिरे पछिल्लो समयका चर्चित हास्य कलाकार हुन् । टेलिसिरियल भद्रगोलमा उनले गरेको ‘पाँडे’ चरित्र उनको पर्याय नै बनेको छ । हाल ‘सक्किगो नि’ टेलिसिरियलमा ‘पाँडे’कै भूमिकामा देखिने उनी यसका एक निर्देशक समेत हुन् ।
आफूलाई कामको पूजारी भन्न रुचाउने अर्जुन पहिला काम, त्यसपछि मात्रै बाँकी कुरा भन्ने मान्यता राख्छन् । उनै हास्य कलाकार अर्जुन घिमिरे अर्थात् पाँडेको जीवनशैली कस्तो छ ? उनका रुचिहरु के के छन् ? लगायतका विषयमा गरिएको कुराकानी :
बिहान कति बजे उठ्नुहुन्छ ? उठ्ने तालिका नियमित छ कि छैन ?
नियमित त छैन नै । सुटिङ नभएको बेलामा घरमा हुँदा पाँच बजे उठिसक्छु । मेरो कामको निश्चित समय नै हुँदैन ।
उठ्नासाथ के गर्नुहुन्छ ? मोबाइल चलाउनुहुन्छ वा पूजापाठ गर्नुहुन्छ ?
उठ्नासाथ त शौचालय जान्छु नि । अनि संगीत सुन्छु । मोबाइल चलाउने र पूजापाठ गर्ने दुवै गर्दिन ।
बिहान फ्रेस भइसकेपछि योग ध्यान वा एक्सरसाइज गर्नुहुन्छ ?
घरमै छु भने दुई-तीनवटा योगाभ्यासका साथै हलुका कसरत गर्छु । बाहिर हुँदा भने गर्दिन ।
बिहान नास्ता खानुहुन्छ कि हुन्न ?
सुटिङ भएको बेला जहिल्यै खान्छु, घरमा बस्दा खान्नँ ।
नास्तामा के खानुहुन्छ ?
घरमा बस्दा कालो चिया मात्र खाने गरेको छु । सुटिङमा चना, अण्डा, सुख्खा रोटी, पुरी तरकारी यस्तै हुन्छ ।
बिहानको खाना कति बजे खानुहुन्छ ?
नियमित यही समय भन्ने हुँदैन । घरमा हुँदा १२ बजेअघि खाइसकेको हुन्छु । सुटिङमा त भन्न सक्दिन ।
कस्तो खाना रुचाउनुहुन्छ ?
चट्ट मुखमा खाँदाखेरि स्वादिलो होस् । पिरो र अमिलो मिश्रित खाना नै बढी रुचाउँछु ।
तपाईंको खानामा छुट्दै नछुट्ने चिज के हो ?
दाल र साग ।
माछा-मासु कति खानुहुन्छ ?
माछा मलाई मन पर्दैन । पिनास छ त्यसैले टाढा रहन्छु । मासु पनि ठिकै खान्छु, हप्तामा दुई-तीन पटक ।
मदिरापान गर्नुहुन्छ ?
पार्टीतिर एक-दुई प्याक खान्छु, सामाजिक भएर ।
भान्सामा काम गर्ने जाँगर कति चल्छ ?
त्यति चल्दैन चलेपछि उधुम चल्छ । मुडले गराउँछ ।
तपाईंलाई आफैंले बनाएको कुन खानेकुरा बढी मन पर्छ ?
पकाउन त्यति जान्दिनँ काम चलाउ मात्र हो । त्यस्तो यो नै भन्ने छैन ।
बाहिर रेष्टुरेन्टको खाना मीठो कि घरमा बनाएको ?
ओहो, घरको जस्तो कहाँ हुन्छ र बाहिर, घरको धेरै जाती । घरमा आफ्नो स्वाद अनुसारको बनाउन पाइन्छ ।
एकदमै भोक लागेको तर खाना खाने अनुकूलता नमिलेको कुनै क्षण छ ?
यस्तो त कत्ति छ कत्ति, कुन भनौं भन्ने पो भयो । भर्खरैको कुरा नै हो सक्किगो निको ५० औं भागको सुटिङ थियो । अभिनयसँगै निर्देशन पनि गर्ने भएकाले एक-एक पलको महत्व हुन्छ । अहिले त बत्ती पनि गएको-गएकै हुन्छ । काम सक्नु नै मेरो पहिलो प्राथमिकता हो । बिहानको नास्ता ६ बजे खाएर सुटिङ गरेको राति दुई बजे मात्र सकियो ।
कहिलेकाहीं अघिल्लो दिन बिहान ६ बजे नास्ता खाएको मान्छे लगातार काम गरेर भोलिपल्ट बिहान ६ बजे मात्रै पनि खाने समय मिल्छ । पानी मात्रै खाएर काम गरेको धेरै क्षण छन् । ४८ घण्टा सम्म पनि खाना नखाएको क्षण पनि छन् ।
घरमा कुचो लगाउने, सरसफाइ गर्ने, भाँडा माझ्ने, लुगा धुने लगायतका काम आफैं गर्नुहुन्छ ?
गर्न नपरे गर्दिन, गरेपछि खतरा गर्छु । अहिले त लुगा मेसिनले नै धुन्छ । भाँडा माँझ्न मन लाग्दैन । कोठाको सजावटमा धेरै रुचि छ । मलाई कोठाको फर्निचरलाई यताउता मिलाउन मन पर्छ । महिना दिनमा म बेडरुम, लिभिङ रुमको स्वरुप परिवर्तन गरिरहन्छु । कपडा पट्याउन मलाई जाँगर लाग्छ ।

घरबाट बाहिर निस्कनुअघि तयार हुन कति समय लाग्छ ?
म मेकअप गर्दिन । १० मिनेटमा तयार हुन्छु ।
बाहिर हिँडडुल गर्दा कस्तो लुगा सहज लाग्छ ?
मेरो त्यस्तो बाहिर जाँदा यो, घर बस्दा यो भन्ने छैन । मलाई जे लगाउँदा सहज हुन्छ त्यही लगाउँछु । मलाई फेसन भन्दा नि आवश्यकता के हो भन्ने ख्याल गर्छु । कपडाको पाइन्ट र सर्ट बढी मन पर्छ ।
गरगहनामा कत्तिको आशक्ति छ ?
कपडाको टाँक बाहेक मेरो शरीरमा अरु केही हुदैन । मलाई गरगहना, घडीमा केही रुचि छैन ।
तपाईं कस्तो सवारी साधन प्रयोग गर्नुहुन्छ ?
२०७२ सालमा किनेको पल्सर-१५० बाइक छ, त्यही चलाउँछु ।
प्रायः दिन कसरी बित्छ ?
मेरो दिन त अचम्मसँग बित्छ । हप्तामा सात दिन हुन्छ, तीन दिन मेरो कथा लेखन, दुई दिन निर्देशन र अभिनय, एक दिन सम्पादन अनि एक दिन आमा सात महिनादेखि बिरामी हुनुहुन्छ उहाँको सेवा गर्छु । अग्रज कलाकार अनि साथीभाइसँग पनि भेटघाट गरेर बिताउँछु ।
साँझ कति बजे घर फर्कनुहुन्छ ?
कामले निर्धारण गर्दछ । काठमाडौंमै भएको बेला आठ बजेसम्म पुगिसक्छु ।
बेलुकाको खाना कति बजे खानुहुन्छ ?
घरमा हुँदा त नौ बजेसम्म खान्छु । सुटिङमा टुंगो हुँदैन ।
बेलुकाको खानामा के हुन्छ ?
मैदा, भात र चिनी कम खानु भन्छन्, त्यसैले कहिले दाल, भात र तरकारी खान्छु कहिले दूध, कर्नप्लेक्स, ससेस जस्ता खानेकुरा खान्छु ।
कति बजे सुत्नुहुन्छ ?
घरमा हुँदा १० बजे नै सुत्छु । बाहिर भन्न सकिन्न रातभरिनै काम पनि हुन्छ, बिहान घर आएर ९-१० बजेसम्म पनि सुत्छु । कलाकारको जीवनको तालिका हुँदैन जतिबेला जे पनि हुनसक्छ ।
प्रतिक्रिया 4