+
+
बढ्दै कोरोना संक्रमण :

उपत्यकाका अस्पतालहरुको अवस्था कस्तो छ ?

सुदर्शन अर्याल सुदर्शन अर्याल
२०७८ पुष २६ गते २१:३४

२६ पुस, काठमाडौं । स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाउँछ, कोरोना संक्रमण तीव्र रुपमा फैलँदैछ । यसैलाई मध्यनजर गर्दै आइतबार कोभिड–१९ संकट व्यवस्थापन समन्वय समितिको बैठक बस्यो । बैठकले १५ गतेसम्म विद्यालय बन्द गर्ने र सार्वजनिक ठाउँमा जाँदा कोरोना खोप कार्ड अनिवार्य गर्ने निर्णय गर्‍यो ।

यससँगै सर्वसाधारणमा सन्त्रास फैलिएको छ, फेरि लकडाउन पो हुने हो कि ?

यही पृष्ठभूमिमा हामीले राजधानीका केही त्यस्ता केही अस्पतालको स्थलगत अवलोकन गर्‍यौं, जहाँ कोरोना संक्रमितलाई उपचारका लागि छुट्टै वार्ड सञ्चालन गरिएको छ— टेकु अस्पताल, वीर अस्पताल र सिभिल अस्पताल ।

अस्पतालका कोभिड वार्डका शय्यामा केही बिरामी उपचाररत छन् । साथै फिभर क्लिनिकमा चाप निकै बढेको छ ।

नेपालको एकमात्र सरुवा रोग अस्पतालको रुपमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सोमबार पुग्दा आईसीयू र एचडीयू वार्डमा गरी ९ जना बिरामी भर्ना भएका थिए । जसमा ३ जना आईसीयूमा र ६ जना एचडीयूमा भर्ना भएको अस्पतालका सूचना अधिकारी नवराज गौतमले जानकारी दिए ।

उनका अनुसार पछिल्ला दिनहरुमा फिभर क्लिनिकमा आउने बिरामीहरुको संख्या बढ्दै गएको छ, तर भर्ना भएर वार्डमा बस्नुपर्ने बिरामीको संख्या न्यून छ । कोरोनाको दोस्रो लहर कम भएपछि बन्द गरिएको फिभर क्लिनिक गत शुक्रबारदेखि शुरु गरिएको गौतमले जानकारी दिए ।

शुक्रबारदेखि दैनिक २०/२५ जनासम्ममा सम्भावित लक्षणहरु देखिएको अस्पतालले जनाएको छ । गौतम अहिले अघिल्लो वर्षको चैत तेस्रो साताको अवस्थामा रहेको भन्दै कोरोना संक्रमित भर्ना हुन नआए पनि संक्रमितहरु बढ्दै गएको तथ्यांकले देखाएको जानकारी दिए ।

वीर अस्पतालमा पछिल्लो एक/दुई दिनमा कोरोनाका बिरामी वार्डमा बढ्ने क्रममा देखिएको छ । कोभिड वार्डमा सोमबार दिउँसोसम्म २९ जना बिरामी उपचाररत थिए । पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमित बिरामी वार्डमा थपिएको अस्पतालको मेडिकल रिपोर्ट शाखाका प्रमुख करम रानाले जानकारी दिए । उनका अनुसार अघिल्लो दिनको २४ घण्टामा जम्मा २ जनामात्रै कोरोना संक्रमित थपिएका थिए ।

त्यसो त कोरोना भाइरस संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गए पनि यसपालि गम्भीर अवस्थाका बिरामीहरुको संख्या तुलनात्मक रुपमा कम रहेको चिकित्सकहरु बताउँछन् । यो भाइरसलाई कमजोर भन्न नसके पनि अहिलेसम्म अस्पताल आउने बिरामीको संख्या कम भएको भन्दै सचेत हुनुपर्नेमा गौतम जोड दिन्छन् ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन अघिल्ला दुईवटा लहरको तुलनामा यो लहरले कम असर गर्ने बताउँछन् । धेरैले खोप लगाएको र कोरोना विरुद्ध लड्ने क्षमताको विकास गराएकाले संक्रमित भइहाले पनि स्वास्थ्य सामान्य भएको हुनसक्ने डा. पुनले बताए । यद्यपि यसलाई बेवास्ता गरेर हिंड्न भने नहुनेमा उनले जोड दिए ।

कोभिड खोप लगाउनेको भीड

उता सरकारले सार्वजनिक क्षेत्रमा कोरोना खोप कार्ड अनिवार्य गरेपछि सरकारी अस्पतालमा कोरोना खोप लगाउनेको भीड बढ्न थालेको छ ।

वीर अस्पताल, सिभिल, शुक्रराज ट्रपिकल जस्ता अस्पतालमा कोरोना खोप लगाउनेको भीड बढेको सम्बन्धित अस्पताल प्रशासनले जनाएको छ । टेकु अस्पतालका सूचना अधिकारी गौतमका अनुसार अहिले विदेश जानेहरुले जोन्सन एण्ड जोन्सन खोप लगाउँछन् ।

आइतबारसम्म जोन्सन खोपको लागि मात्रै भीड भएकोमा सोमबारदेखि भेरोसेल र कोभिसिल्ड खोप लगाउन समेत भीड बढेको छ । यो सरकारको नीतिका कारण नै भएको गौतम बताउँछन् ।

उनका अनुसार सोमबार मात्रै टेकु अस्पतालमा १२०० भन्दा धेरैले कोरोनाको खोप लगाए । यसमध्ये जोन्सन र भेरोसेल धेरैले लगाएको गौतमले जानकारी दिए ।

तस्वीर र भिडियो : चन्द्रबहादुर आले/अनलाइनखबर

लेखकको बारेमा
सुदर्शन अर्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?