
३० पुस, काठमाडौं । बक्स अफिसमा धमाका मच्याएको साउथ इण्डियन चलचित्र ‘पुष्पाः द राइज’को हिन्दी भर्सन ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा रिलिज गरिएको छ । मूल रुपमा तेलुगू भाषामा बनेको यो चलचित्र तमिल, मलयालम, कन्नड र हिन्दी भाषामा डब भर्सनमा उपलब्ध छ ।
साउथ सुपरस्टार अल्लु अर्जुन र अभिनेत्री रश्मिका मन्दानाको मुख्य भूमिका रहेको ‘पुष्पा’को निर्देशन सुकुमारले गरेका हुन् । हिन्दी बाहेक अन्य भाषामा भने यो चलचित्र एक साताअघि नै प्राइम भिडियोमा रिलिज भइसकेको छ ।
‘पुष्पा’को हिन्दी भर्सनलाई प्राइम भिडियोले गएराति १२ बजे रिलिज गरेको हो । हिन्दीका दर्शकले यो चलचित्र हेर्दा अंग्रेजीमा सब-टाइटल पनि देख्नेछन् । गत जनवरी ७ मै ‘पुष्पा’लाई हिन्दीमा समेत ओटीटीमा रिलिज गर्ने तयारी भएपनि बक्स अफिसमा धमाका मच्चाइरहेकाले यसका निर्माताले एक सातापछि मात्र प्रसारण गर्न आग्रह गरेका थिए ।
‘पुष्पा’ले हिन्दी भर्सनमा मात्रै हालसम्म ८० करोड भारुभन्दा बढीको कमाइ गरिसकेको छ । यो चलचित्र सिनेमा हलमा डिसेम्बर १७ देखि प्रदर्शनमा आएको हो ।
प्रतिक्रिया 4