
२४ माघ, काठमाडौं । बारम्बार प्रदर्शन मिति सारेपछि तनावमा रहेका निर्माता अर्जुन कुमारले गत पुस ३० गते चलचित्र चलाउने जमर्को गरे ।
त्यतिबेला कोरोना संक्रमणको तेस्रो लहर सुरु भइसकेको थियो । यसअघि पुस १५ का लागि प्रदर्शन मिति तोकेका उनले कोरोनाको त्रास बढेपनि फेरि मिति सार्न इच्छुक देखिएनन् । बारम्बार प्रदर्शन हेरफेर गर्दा दर्शकमा राम्रो सन्देश नजाने उनको बुझाइ थियो ।
पुस ३० गतेमा चलचित्र रिलिज भएपनि दर्शक हलसम्म पुगेनन् । तर, हलमा पुगेका दर्शकले भने चलचित्रलाई रुचाए । समीक्षक र चलचित्रकर्मीले पनि चलचित्रको प्रशंसा नै गरिरहँदा अर्जुन वर्ड अफ माउथले काम गर्ने सोचमा थिए । तर, सरकारले माघ ३ गतेबाट कोरोनाको जोखिम देखाउँदै हल बन्द गरेपछि भने अर्जुन कुमार अक्क न बक्क परे ।
चलचित्र रिलिज हुँदाहुँदै रोकिएकाले उनलाई दोस्रो अवसर आएको छ । व्यावसायिक रुपमा सफल नभएको भए चलचित्रले दोस्रो अवसर पाउने थिएन । दोस्रो अवसरमा भने आफूलाई केही राहत हुने उनको अपेक्षा छ ।
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले फागुन १ गतेबाट हल खोल्न सिफारिस गरेकाले पनि मन्त्रिपरिषद् बैठकले हल खुलाउने निर्णय गर्ने निश्चित छ । योसँगै हलमा ‘चपली हाइट ३’ले फेरि प्रवेश पाउनेछ । पहिलो चरणको लकडाउनपछि पनि चल्दाचल्दै रोकिएको चलचित्र ‘आमा’ र ‘सेन्टी भाइरस’ले प्रदर्शनको दोस्रो अवसर पाएका थिए ।
फागुन १३ गते अगाडि स्वदेशी र विदेशी कुनै पनि नयाँ चलचित्र रिलिज नहुने देखिएको छ । यसैले अर्जुन हल खुलेपछि दोस्रो अवसर पाउने र लगानी केही हदसम्म भएपनि उठ्नेमा आशावादी छन् ।
निकेश खड्का निर्देशित सस्पेन्स थ्रिलर ‘चपली हाइट ३’मा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी लगायतको मुख्य भूमिका छ । चलचित्रको प्रचारमा कलाकारले साथ नदिएर एक्लिएका अर्जुनलाई दर्शकले दोस्रो मौका दिएको खण्डमा उनलाई ठूलै राहत हुनेछ ।
प्रतिक्रिया 4