+
+

अडियो बलियो भए चल्छन् म्युजिक भिडियो

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २५ गते १४:३२
प्रमोद खरेलको नयाँ गीत 'नोगेन'को भिडियोको एक दृश्य

२५ माघ, काठमाडौं । ‘स्टार कलाकार राख्यो भने भिडियो चल्छ । दर्जनौं कोरस, झकिझकाउ सेट बनाएर भिडियो बनाउनुपर्छ ।’ अधिकांशले म्युजिक भिडियो निर्माण गर्दा यस्तै ‘भ्रम’ राखेको पाइन्छ ।

तर, भिडियो चल्न झकिझकाउ सेट, स्टार कलाकार नै चाहिन्छ भन्ने मान्यता थुप्रै गीतले तोडिसकेका छन् । म्युजिक भिडियो चल्न सर्वप्रथम अडियो नै बलियो हुनुपर्छ भन्ने कुरा थुप्रै गीतबाट प्रष्ट हुन्छ ।

आइतबार मात्रै गायक प्रमोद खरेलले ‘नोगेन’ शीर्षकको गीतको म्युजिक भिडियो सार्वजनिक गरे । महेश खड्काको शब्द, संगीत रहेको गीतमा प्रमोद र ‘द भ्वाइस किड्स’की फाइनालिस्ट रुक्सना लिम्बुको स्वर छ । यी दुई नै देखिएको म्युजिक भिडियो झकिझकाउविना सामान्य तरिकाले निर्माण गरिएको छ । यस गीतको अडियोले नै स्रोताको मन जित्छ । उसो त गीतको भिडियो सामान्य तरिकाले निर्माण गरिएपनि आकर्षक बनाउने प्रयास गरिएको छ ।

अहिले झकिझकाउ सेटमा खिचिएका, स्टार मोडलहरु राखेर निर्माण गरिएको भिडियोलाई भ्युजको खडेरी देखिन्छ । यस्तोमा प्रमोदको गीतले दुई दिन नपुग्दै ११ लाख बढी भ्युज पाइसकेको छ । अहिले यो भिडियो युट्युबमा म्युजिकतर्फको ट्रेन्डिङ २ मा छ ।

पछिल्लो समय एकदेव लिम्बुको स्वरमा पल शाह र मलिका महत अभिनित ‘गाजल टिकी’ बोलको गीतले युट्युबमा राम्रो भ्युज पाइरहेको छ । १० दिनअघि सार्वजनिक भिडियोलाई युट्युबमा ३० लाख ८५ हजार बढीले हेरिसकेका छन् । यो गीतको पनि अडियो नै राम्रो छ ।

गायक सुनिल गिरीको ‘को होला त्यो २’को फिमेल भर्सन ‘तिमी आउँछ्यौ कि भनी’लाई पनि दर्शक-श्रोताले रुचाएका छन् । सुमन गुरुङको शब्द तथा संगीतमा दुई साताअघि सार्वजनिक गीतलाई युट्युबमा १८ लाख ३५ हजार बढीले हेरेका छन् । पल शाह र कृष्टिना थापाको अभिनय रहेको भिडियो युट्युबको म्युजिकतर्फ ट्रेन्डिङ ५ मा छ । यो गीतको पनि सर्वप्रथम अडियो नै बलियो छ । त्यसपछि भिडियो राम्रो बनाउने प्रयास गरिएको छ ।

यसअघि गत महिना पुष्पन प्रधानको स्वरमा सार्वजनिक ‘तिमीलाई हेर्ने बानी पर्‍यो’ गीतमा पनि अडियोले श्रोताको ध्यान तान्छ । भिडियोमा पल शाह र केकीको अभिनय रहेपनि शीर्ष भूमिकामा मनोज पौडेल छन् । यो गीतको भिडियोलाई युट्युबमा २८ लाख ८५ हजार बढीले हेरेका छन् ।

एक महिनाअघि नै सार्वजनिक देवेन्द्र बब्लुको ‘म त पर्खेको पर्खै छु’ अडियोकै कारण श्रोता-दर्शकले रुचाए । यस गीतको भिडियो सामान्य तरिकाले बनाइएको छ । तर, भिडियोले युट्युबमा ४२ लाख बढी भ्युज पाइसकेको छ । यी उदाहरणबाट प्रष्ट हुन्छ कि गीत चल्न पहिले अडियो नै बलियो हुनुपर्छ । शब्द, संगीत र संगीत संयोजनले नै श्रोताको मन जित्नुपर्छ । कमजोर अडियोमा जतिसुकै स्टार कलाकार राखेर, झकिझकाउ सेट बनाएर भिडियो बनाएपनि श्रोता-दर्शकले रुचाउँदैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?