+
+

६५ अर्बको इन्धन आयात

रासस रासस
२०७८ फागुन २ गते १४:४१

२ फागुन, काठमाडौं । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्ज नाका हुँदै नेपालका लागि आयात हुने पेट्रोलियम पर्दाथको कारोबारमा गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा उलेख्य वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७७/७८ को पहिलो छ महिनाको तुलनामा चालू आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा ३३ अर्ब ४८ करोड २९ लाखभन्दा बढी मूल्यको १० लाख सात हजार ६९० लिटर इन्धन बढी आयात भएको हो ।

पेट्रोलियम पर्दाथअन्तर्गत डिजल, पेट्रोल, मट्टितेल, हवाइ इन्धनलगायत पर्दछन् । आर्थिक वर्ष २०७७/८७ को साउनदेखि पुससम्मको छ महिनामा वीरगञ्ज नाका प्रयोग गरी ३१ अर्ब ८९ कराड २१ लाख मूल्यको सात लाख ८३५ लिटर इन्धन आयात भएको तुलनामा चालू आवको सोही अवधिमा ६५ अर्ब ३७ करोड ५१ लाख मूल्य बराबरको १७ लाख आठ हजार ५२५ लिटर डिजल पेट्रोल, मट्टितेल तथा हवाइ इन्धन आयात भएको छ ।

यो समीक्षा अवधिको तुलनामा १०५ प्रतिशत बढी मूल्यको १४४ प्रतिशत इन्धन आयात भएको हो । कोरोना सङ्क्रमणका कारण गतवर्ष उद्योग व्यापार, यातायात, विकास निर्माण कार्य प्रभावित भएका कारण इन्धनको आयातमा कमी आएको थियो । चालू आवको पहिलो छ महिनामा कोरोनाको प्रभाव खासै यी क्षेत्रमा नदेखिएका आयात वृद्धि भएको भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए ।

उनले गत आवको पहिलो ६ महिनाको तुलनामा चालू आवको सोही अधिमा डिजल २२ प्रतिशत, पेट्रोल २५ प्रतिशत, हवाइ इन्धन तीन हजार २८८ प्रतिशत, खाना पकाउने ग्याँस १५ प्रतिशत बढी आयात भएको छ भने मट्टितेलको आयात ४० प्रतिशत कम भएको बताए ।

गत आर्थिक वर्षको पहिलो ६ महिनामा वीरगञ्ज नाकाबाट २३ अर्ब १० करोड ३४ लाखको पाँच लाख चार हजार ४१७ केल डिजल, सात अर्ब ४८ करोड २१ लाखको एक लाख ६४ हजार १६६ केल पेट्रोल, एक अर्ब पाँच करोड ९८ लाखको २६ हजार ११२ केल हवाइ इन्धन र २४ करोड ६६ लाखको ६ हजार १४० केल मट्टितेल आयात भएको थियो ।

चालू आवको सोही अवधिमा ४४ अर्ब ४१ करोड ८१ लाखको छ लाख १४ हजार ३४८ केल डिजल, १६ अर्ब १२ करोड नौ लाखको दुई लाख पाँच हजार २५२ केल पेट्रोल, चार अर्ब ४३ करोड २३ लाखको आठ लाख ८४ हजार ७६४ केल हवाइ इन्धन र ३४ करोड ३७ लाख रुपैयाँको चार हजार १६० केल मट्टितेल आयात भएको सूचना अधिकारी गुप्ताले जानकारी दिए ।

उनले गत वर्ष इन्धन आयातबाट २४ अर्ब ९७ करोड ७८ लाख राजस्व सङ्कलन भएको थियो भने चालू आवको ६ महिनामा ३३ अर्ब ४९ करोड ७६ लाख सङ्कलन भएको बताए । त्यसै यहाँको नाका प्रयोग गरी खाना पकाउने एलपी ग्याँसको आयात १५ प्रतिशत बढी भएको छ ।

गत आर्थिक वर्षको पहिलो छ महिनामा सात अर्ब ४९ करोड ४८ लाख मूल्यको एक लाख १९ हजार ७०० मेट्रिक टन आयात भएको तुलनामा चालू आवको सोही अवधिमा १५ अर्ब २५ करोड ६३ लाखको एक लाख ३७ हजार ३७३ मेट्रिकटन ग्याँस आयात भएको भन्सार कार्यालयले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?