+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

उर्गेनलाई १२ गीत तयार गर्न २७ लाख पारिश्रमिक

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ४ गते १४:१७
गायक तथा संगीतकार उर्गेन दोङ । फाइल तस्वीर

४ फागुन, काठमाडौं । ‘टाढा भएपनि’ बोलको गीतबाट चर्चामा आएका गायक तथा संगीतकार उर्गेन दोङ १२ वटा नयाँ गीतको अडियो तयार गर्नका लागि २७ लाख रुपैयाँमा अनुबन्धित भएका छन् । सम्झौताअनुसार उनले गीतको रचना, संगीत, एरेन्ज, गायक-गायिकाको स्वर र रेकर्डिङको जिम्मेवारी लिनुपर्नेछ ।

उनलाई तीन संस्था आतिथ्य इन्टरटेन्मेन्ट, स्वप्निल क्रियसन र अहोभाग्य क्रियसनले महिनाको एउटा गीतको अडियो तयार गर्नेगरी उक्त पारिश्रमिकमा अनुबन्ध गरेका हुन् ।तीन संस्थाका तर्फबाट प्रबन्ध निर्देशक कृष्णराज राई र उर्गेनबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उर्गेनले सम्झौताअनुसार एक वर्षसम्म हरेक महिना एउटा गीतको अडियो तयार गर्नुपर्ने हुन्छ ।

‘नेपालमा मोडलहरुलाई राम्रो पारिश्रमिक भएपनि गायक, संगीतकारलाई यो खालको पारिश्रमिक दिएको त्यति सुनिंदैन । अडियो सस्तोमै गरेर भिडियोमा महंगो लगानी गर्ने प्रचलन छ,’ उर्गेनले अनलाइनखबरसँग भने, ‘उहाँहरुको सोच पनि पहिलो प्राथमिकता अडियोलाई दियो भने क्वालिटीको गीत निस्कन्छ भन्ने छ । मैले पनि चाहेको त्यस्तै थिएँ । यसरी अनुबन्ध भएर काम गर्न पाउँदा एकदमै खुसी लागेको छ ।’

‘बिउरन स्टुडियो नेपाल’का नामक स्टुडियो सञ्चालक गर्दै आएका उर्गेनले मेहनत गरेर राम्रो गीत दिने आफ्नो प्रयास रहने बताए ।

कम्पनीका प्रबन्ध निर्देशक राईले आफूहरु व्यावसायिक रुपले अगाडि बढ्ने सोचअनुरुप उर्गेनसँग सम्झौता गरिएको बताए । उनले पनि भिडियो भन्दा अडियोमा बढी मेहनत हुनुपर्ने मान्यताले त्यसरी सम्झौता गरिएको बताए । उनले भने, ‘गीत राम्रो निर्माण भयो भने भिडियो त्यति धेरै खर्च गरेर बनाउनुपर्छ भन्ने हामीलाई लाग्दैन । गीत राम्रो बनाउन गीतकार, संगीतकारहरुले निकै मेहनत गरेका हुन्छन् । हामी व्यावसायिक रुपले अगाडि गइसकेपछि उहाँहरुलाई पनि राम्रो होस् भन्ने सोच हो ।’

रोजगारीका सिलसिलामा केही वर्ष दुबईमा बिताएका काभे्रका उर्गेन तीन वर्षअघि सांगीतिक क्षेत्रमा केही गर्ने सोचले नेपाल फर्किएका थिए ।

नेपाल फर्किएसँगै उनी ‘नेपाल आइडल सिजन ३’मा समेत सहभागी हुन पुगेका थिए । तर नेपाल आइडलमा अगाडि जान सकेनन् । जब डेढ वर्षअघि आफ्नै शब्द, संगीत, एरेन्ज, स्वर तथा निर्देशनमा ‘टाढा भएपनि’ बोलको गीत ल्याए । यो गीतलाई दर्शक-श्रोताले एकदमै रुचाए । त्यसपछि उर्गेनका ‘तिमीले चुमेका हात’, ‘दुई दिनको माया’, ‘माया तितोमिठो’ जस्ता गीतहरु रुचाइएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?