+
+

‘मैले खेलेको सबभन्दा खराब खेल’

विश्वकपको सम्मुखमै पुगेर एउटा खराब दिन व्यहोरेको नेपाली टोलीका कुनै पनि सदस्य त्यो क्षणलाई सम्झन चाहँदैनन्, तर अहिलेसम्म बिर्सन पनि सकेका छैनन् ।

गोविन्दराज नेपाल र नमिता दाहाल गोविन्दराज नेपाल र नमिता दाहाल
२०७८ फागुन १८ गते २०:५०

१८ फागुन, काठमाडौं । टी-२० विश्वकपमा पुग्न यूएईले १७६ रनको लक्ष्य पेस गरेपछि नै नेपाल दबावमा परिसकेको थियो । पहिलो ओभरमै आसिफ शेख र लोकेश बम लगातार आउट भएपछि अर्को एण्डबाट हेरिरहेका कुशल भुर्तेलको मनमा चिसो पस्यो । किनकि आशिफ र कुशलले ६/७ ओभर टिकेर खेल्ने हो भने १७५ को लक्ष्य पार गर्न सजिलो हुन्छ भन्ने नेपालको बुझाइ थियो । तर आशिफसँगै लोकेश पनि आउट भएपछि कुशलसामु दीपेन्द्र सिंह ऐरीसँग मिलेर नेपालको पारी उकास्ने दायित्व आयो ।

टी-२० विश्वकप ग्लोबल क्वालिफायर ‘ए’ मा तेस्रो भएर नेपाली टोलीका प्रमुख ब्याटर कुशल भुर्तेल भन्छन्, लोकेश र आशिफ आउट भएपछि हामी ‘ब्याकफुट’मा पुग्यौं । दीपेन्द्र आएपछि दुई जनाले १५/१६ ओभरसम्म पुर्‍याए जित्न सकिन्छ भन्ने थियो ।’

फिलिपिन्सविरुद्ध शतक र क्यानडाविरुद्ध अविजित रहेका कुशल यूएईसँग तीन ओभर पनि टिक्न सकेनन् । उनी मात्र ७ रनमा आउट भए । १३ ओभरसम्म टिकेका दीपेन्द्रले सर्वाधिक ३८ रन त बनाए, तर नेपाल ६८ रनले पराजित भयो ।

विश्वकपको सम्मुखमै पुगेर एउटा खराब दिन व्यहोरेको नेपाली टोलीका कुनै पनि सदस्य त्यो क्षणलाई सम्झन चाहँदैनन् । तर अहिलेसम्म बिर्सन पनि सकेका छैनन् । कुशल भन्छन्, ‘पूरा प्रतियोगिताभर त्यही एउटा खेल नराम्रो भयो, हामीले पूरै प्रतियोगिता गुमायौं ।’

क्यालिफायर ‘ए’ का ८ टोलीलाई दुई समूहमा बाँडेर ओमानमा प्रतियोगिता आयोजना गरिएको थियो । बी समूहमा परेको नेपालले ओमान, फिलिपिन्स र क्यानडालाई हराउन धेरै मिहिनेत गर्नु परेन । तीनै खेलमा नेपालले विपक्षीलाई १०० रनको योगफल कटाउन दिएन । तर एउटै खेल बिग्रियो, जुन जित्नुपर्ने थियो ।

यसले नेपालको विश्वकप यात्रा मात्र रोकिएन, गत वैशाखमा टी-२० डेब्यु गरेका कुशलको प्रदर्शन पनि छायाँमा पर्‍यो । समूह चरणमा ओमानसँग ५ रनमै आउट भएका कुशलले फिलिपिन्सविरुद्ध १०४ रनको अविजित शतकीय पारी खेलेका थिए । यससँगै टी-२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने तेस्रो खेलाडी बने । क्यानडासँगको तेस्रो खेलमा अविजित ३४ रन बनाए । सेमिफाइनलमा यूएईसँग पराजित भएपछि तेस्रो स्थानका लागि भएको खेलमा ओमानविरुद्ध नै कुशलले अविजित ५५ रनको अर्धशतकीय पारी खेले ।

वैशाखमा मलेसिया र नेदरल्याण्ड्स सम्मिलित त्रिदेशीय शृंखलाका क्रममा लगातार चार अर्धशतक प्रहार गरेका कुशलको यसपालिको प्रदर्शनले पूर्व कप्तान पारस खड्काको कीर्तिमानलाई उछिनेको छ । कुशलले १ शतक र ५ अर्धशतक पूरा गरेका छन् । टी-२० अन्तर्राष्ट्रियको ११ इनिङ्समा ४९८ रन जोडेका उनको औसत रन ७१ छ । ‘व्यक्तिगत हिसाबले हेर्दा मेरो प्रदर्शन ठीकै छ, तर हाम्रो प्रमुख लक्ष्य भनेको विश्वकप छनोट थियो । विश्वकपमा पुग्न नसक्दा अरु सबै खुसीहरू फिक्का भए’ यसपल्ट विश्वकप छनोटमा ब्याटबाट सबैभन्दा राम्रो प्रदर्शन गरेका उनी विश्वकपको सपना टुटेकोमा विक्षिप्त छन् ।

यदि नेपाल टी-२० विश्वकपमा पुगेको भए आफ्नो प्रदर्शनको मूल्य अर्कै हुन्थ्यो भन्ने लाग्छ । हुन पनि सन् २०१४ मा पहिलोपल्ट टी-२० विश्वकप खेलेको नेपाल त्यसयता छनोट हुन असफल छ । यदि यो पटक विश्वकपमा पुग्न सकेको भए कुशलको प्रदर्शनलाई भुल्न सकिन्नथ्यो । ‘नेपाल क्रिकेट टोलीको इतिहासमै सबैभन्दा महत्वपूर्ण खेल थियो त्यो । मैले वा जसले खेलेको भए पनि टिमलाई जित दिलाउन सकेको भए त्यसको रौनक नै बेग्लै हुन्थ्यो’ उनी भन्छन्, ‘त्यही सेमिफाइनलको खेल मैले करियरकै खराब खेलें ।’

ब्याटिङ चलेन, बलिङले इज्जत धान्यो

ओमान टूरमा जानुअघि नेपालको ब्याटिङ सुधारिएको दाबी गरिएको थियो । वैशाखमा घरेलु मैदानमा आयोजित त्रिदेशीय शृंखलाको प्रदर्शनका आधारमा त्यसो भनिएको हुनसक्छ । विश्वकप छनोटअघि ओमान, युएई र आयरल्याण्ड सहभागी चारदेशीय श्रृंखलाकै क्रममा नेपालको ब्याटिङको परीक्षा भइसकेको थियो । छनोट प्रतियोगिताको कुनै पनि खेलमा ब्याटिङले भर दिलाउन सकेन । बरु ओमानको पिचमा बलिङतर्फ सानदार प्रदर्शन देखियो । युएईविरुद्ध खेलेको समिफाइनलबाहेक सबै खेलमा नेपालको बलिङ आक्रमण प्रभावशाली रह्यो । कुनै पनि खेलमा विपक्षीले १०० रनको योगफल पार गर्न सकेनन् ।

ग्लोबल क्वालिफायर्सका लागि श्रीलंकाली टोलीका धम्मिका प्रसाद बलिङ सल्लाहकारका रुपमा आएका थिए । उनको प्रयासले नेपालको बलिङ अझै खारिएको कुशलको विश्लेषण छ । ‘धम्मिका सर आएर बलिङमा राम्रो सुधार भयो । कहाँ कुन पोजिसनमा कसले बलिङ गर्ने भन्ने कुरा उहाँले सिकाउनुहुन्थ्यो । ब्याटिङका लागि विशेष व्यवस्था थिएन’ कुशलले भने, ‘हुन त प्रमुख प्रशिक्षक (पुबुदु दाशानायके) सर आफै‌ं ब्याटिङ प्रशिक्षक हुनुहुन्छ । तर सबै खालका सल्लाहकार चाहिन्छ, फिटनेस ट्रेनरदेखि हरेक कुरा हुनुपर्छ ।’

ब्याटिङतर्फ ओपनिङमा देखिएको कमजोरीबारे कुशल भन्छन्, ‘आशिफ र मैले जसरी खेलिरहेका थियौं त्यसरी उता गएर खेल्न सकेनौं । प्रधानमन्त्री कप र बन्द प्रशिक्षणमा जति पनि खेल्न सकेनौं । हामीले ६/७ ओभरसम्म लैजानुपर्ने थियो । युएईसँग पनि त्यस्तै भयो । सुरुमै हामी दुवै आउट हुन पुग्यौं ।

कोरोना संक्रमण र इन्जुरी

ओमान जानुअघि त्रिवि क्रिकेट मैदानमा आयोजित प्रधानमन्त्री क्रम राष्ट्रिय टी-२० का दौरान कुशललाई कोरोना संक्रमण भयो । नेपाल पुलिसका लागि सेमिफाइनल र फाइनल खेल्नै सकेनन् । तथापि समूह चरणमा भएको प्रदर्शनका आधारमा उनी उत्कृष्ट ब्याटर चुनिए । कोरोना निको भएपछि बन्द प्रशिक्षणमा फर्किएका कुशल ‘ग्रोइन’ इन्जुरीबाट गुज्रनुपर्‍यो । यही समस्याका कारण कुशलले चारदेशीय शृंखलाका सुरुवाती दुई खेल खेल्न सकेनन् ।

गम्भीर चोट नभए पनि फिल्डिङ र रन लिने क्रममा दौडिन गाह्रो भएको थियो । ‘हारेपछि फिट थिइनँ भन्न त मिल्दैन तर अलिअलि समस्या भए पनि खेल्ने निधो गरेको थिएँ । राष्ट्रिय जर्सी लगाएपछि देशका लागि खेल्नु कर्तव्य पनि हो’ कुशलले थपे, ‘चोटका कारणले नै ठूलो मौका गुमाएको जस्तो त लाग्दैन ।’

टी-२० मा पहिलो शतक

नेपालका तर्फबाट यसअघि पूर्वकप्तानद्वय पारस खड्का र ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेका थिए । फिलिपिन्सविरुद्ध शतक प्रहार गरी टी-२० मा शतक बनाउने तेस्रो नेपाली खेलाडी बनेका कुशलले राम्रो रनरेटले ब्याटिङ गर्दा शतक बनेको बताए ।

‘शतक बनाउने कुरा हरेक खेलाडीको लक्ष्य हुन्छ । फिलिपिन्सलाई धेरै अन्तरमा हराउने गरी हामीले तयारी गरेका थियौं । किनभने रनरेटको महत्व थियो । जसरी हुन्छ, २०० रनको योगफल कटाउने लक्ष्य राखेका थियौं,’ कुशलले भने ।

‘टिमको एकतामा समस्या छैन’

विश्वकपको सम्मुखमा नेपाली क्रिकेटमा ठूलो ‘भूकम्प’ गयो । नेपाल क्रिकेट संघ (क्यान)ले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित चार क्रिकेटरलाई अनुशासनको कारबाही गरेपछि नेपाली टिममै प्रष्ट दुई गुट देखियो । ज्ञानेन्द्रलाई हटाएर सन्दीप लामिछानेलाई नयाँ कप्तान बनाइयो । ओमानमा सन्दीपले पहिलोपल्ट राष्ट्रिय टिमको कप्तानी सम्हाले । प्रशिक्षक पनि नयाँ अनुबन्धन गरिए । कुशलका अनुसार त्यो विवाद अहिले इतिहास भइसकेको छ । त्यसलाई लिएर टिममा कुनै समस्या नरहेको उनले बताए ।

‘अहिले टोलीमा समस्या छैन । हामी सबै एकजुट भएर खेलिरहेका छौं’ उनले भने, ‘हामी टुरमा जानुअघि नै सबै सकेर एकजुट भएर वर्ल्डकप खेल्ने लक्ष्य लिएर गएका थियौं । अहिले टोलीमा केही पनि किसिमको गुट उपगुट छैन ।’

सन् २०१६ मा यू-१९ विश्वकप खेलेका कुशल, सन्दीप, आरिफ शेख र दीपेन्द्र सिंह ऐरी अहिले सिनियर टोलीको प्रमुख सदस्य छन् । तीमध्ये सन्दीपले यसपालिदेखि कप्तानी पाएका छन् । ‘सन्दीप नयाँ कप्तान थियो, तर अनुभवी खेलाडी ज्ञानेन्द्र दाइ, शरद दाइ र दीपेन्द्रले मिलेर उसलाई अनुभव तथा जानेको कुरा सिकाइरहनुभएको थियो । उसलाई पनि गाह्रो भने भएन होला !’ कुशलले भने, ‘अग्रजको साथ थियो । पुबुदु सरले पनि खासै भार पर्न दिनुभएको थिएन ।’ कप्तानी जसले गरे पनि टोलीमा सबैले आफ्नो शतप्रतिशत दिएको उनले बताए ।

अहिले नेपालले एकदिवसीय सिरिजका लागि तयारी गरि रहेको छ । विश्व क्रिकेट लिग टूमा राम्रो प्रदर्शन गरी एकदिवसीय मान्यता कायम राख्ने नेपालको लक्ष्य छ । यसबारे कुशल भन्छन्, ‘२०२४ को अर्को टी-२० विश्वकपअघि २०२३ को एकदिवसीय मान्यता कायम राखी अझ उच्च बनाउने सोचका साथ मेहनत गरिरहेका छौं । यो एकदिवसीय वर्ल्डकप खेल्ने रहर छ । एकदिवसीय मान्यता बचाएर अंक तालिका पनि माथि उठाउने लक्ष्य छ ।’

तस्वीर/भिडियो : विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?