+
+

रिडीमा बन्दै गरेको तीनमुखे पुलको काम अन्तिम चरणमा

अनिल खत्री अनिल खत्री
२०७८ फागुन १८ गते १८:२६

१८ फागुन, गुल्मी । गुल्मी, पाल्पा, स्याङ्जाको संगमस्थलमा तीन जिल्ला जोड्ने तीनमुखे पुलको काम अन्तिम चरणमामा पुगेको छ । उक्त पुल नेपालकै चारधाम मध्येको एक धाम रुरुक्षेत्र धाम रिडीमा पर्छ ।

तीन जिल्लाको प्रसिद्ध धार्मिक तिर्थस्थल पाल्पा, गुल्मी, स्याङ्गजा जिल्लालाई जोड्ने कालीगण्डकीको रिडीमा निर्माण हुन लागेको नेपालकै नमूना तीनमुखे पुल लामो समयदेखि निर्माण कार्य रोकिएको थियो । तर, केही महिनायता भइरहेको निर्माण कार्यले अब छिट्टै पूरा हुने देखिएको छ ।

ठेकेदार कम्पनीले कहिले बाढी, पहिरो र कोरोना त कहिले आर्थिक अभाव लगायतका समस्या देखाउँदै समयमा निर्माण कार्य सम्पन्न गरेको थिएन ।

अहिले प्रत्येक लठ्ठाको दुईतिर जाली, लाइटिङ, टपमा सोलार र भर्‍याङ, रेलिङ निर्माण र झण्डा राख्ने संरचना निर्माणको काम भइरहेको र अब वैशाखभित्रै सम्पूर्ण काम सकिने लब्लीना कन्स्ट्रक्सनका सुशान्त यादवले बताए ।

आगामी वैशाख १ गतेभित्र पुलको उद्घाटन गर्ने गरी काम तीव्र पारिएको उनको भनाइ छ । तीनमुखे पुलको ०७४ साल असार ९ गते निर्माण कार्य सम्पन्न गर्ने गरी ०७१ मंसिर १५ गते निर्माण सुरु भएको थियो । कूल ९ करोड ८८ लाख २६ हजार ३३२ रुपैयाँ लागतमा पुल निर्माणको क्रममा छ ।

यो पुल सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो हुने दखिएको छ । जसले गर्दा स्थानीय व्यवसायीलगायत अन्य नागरिकहरू समेत खुशी भएको स्थानीय भिस्म ज्ञवालीले बताए ।

पुल निर्माण भएमा त्यस क्षेत्रको धार्मिक र पर्यटकीय विकासमा सहयोग पुग्ने र कालीगण्डकीको करिडोरसँगै रुरु क्षेत्रमा बन्न लागेको पुलले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुर्‍याउने स्थानीयको भनाइ छ । कालीगण्डकी नदीको बीचमा ९ मिटर रनिङ गोलाइ भएको पिल्लर निर्माण भएको छ ।

पुलमा २५ मिटर उचाइ सहितको भ्युटावर, ३ जिल्लाको तीनैतर्फ १७७ मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको छ । यो पुलले स्याङ्जाको कालीगण्डकी गाउँपालिका-१ चण्डीभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका–१४ अर्गली र गुल्मीमा रुरुक्षेत्र गाउँपालिका–१ रिडी जोडेको छ ।

पुल बनेसँगै पुलको एउटा मुखबाट पस्ने मान्छे जुन जिल्लामा जान चाह्यो त्यही जिल्लामा जान सक्ने डिजाइन छ । नेपालमै नमुनाको रूपमा रिडिमा तीनमुखे झलुङे पुल बनेसँगै गुल्मी, पाल्पा र स्याङजाका स्थानीयहरू सहजताका साथ एकै ठाउँमा जोडिने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?