
१९ फागुन, विराटनगर । क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएको मोरङ कारागारमा खानेपानीको समस्या रहेको कैदीबन्दीले गुनासो गरेका छन् । ३०० जना क्षमता रहेको कारागारमा ९६९ कैदीबन्दी छन् । कष्टकर रुपमा बसिरहेका कैदीबन्दीले खानेपानीको समस्या भएको गुनासो गरेका हुन् ।
खानेपानीकै कारण कैदीबन्दीमा छालासम्बन्धी समस्या पनि देखिएको चौकीदार अभिषेक गिरीले बताए । ‘कारागारमा २०६ जना छालाका बिरामी छन्,’ उनले भने, ‘धाराको पानीले पुग्दैन, कैदीबन्दीले भूतिगत पानी प्रयोग गर्नुपर्छ ।’
भूमिगत पानी पहेलो भएका कारण छालामा समस्या देखिएको उनले बताए । ‘कपडा धुँदा पहेलो हुन्छ,’उनले भने,‘ धेरै कैदीबन्दीमा छालाको समस्या छ ।’
चौकीदार गिरीले कारागार प्रशासनमार्फत शुद्ध खानेपानीको व्यवस्था गर्न माग गरिएको बताए । पानीका कारण स्वास्थ्यमा समस्या आएको गुनासो गरेपछि पानी जाँच गर्नका लागि सम्बन्धित निकायमा पत्रचार गरिएको जेलर महेन्द्र खड्काले जानकारी दिए ।
गर्मीमा बासको चिन्ता
कारागार कैदीबन्दीले सहज रुपमा बस्न पाउँदैनन् । क्षमता कम भएका कारण एउटै कोठामा १०० जनासम्म सुत्नु परेको एक कैदीले बताए । ‘एउटा ठूलो कोठामा एक सय जनासम्म सुत्नुपर्छ, ठाउँ नभएका कारण बाहिर प्यासेजमा पनि साथीहरू सुत्छन्,’ती कैदीले भने,‘जाडोमा त ठिकै हो, गर्मीमा धेरै गाह्रो हुन्छ ।’
एक मिनेटको चार रुपैयाँ
कारागारभित्र टेलिफोनको महँगो शुल्क तोकिएको छ । कैदीबन्दीका अनुसार कारागारबाट बाहिर फोन गर्दा प्रतिमिनेट चार रुपैयाँ शुल्क तिर्नुपर्छ । तर, नेपाल टेलिमकले प्रिपेड प्रयोगकर्ताका लागि नेटवर्क भित्र प्रतिमिनेट १ रुपैयाँ पचास पैसा र अन्य नेटवर्कमा प्रतिमिनेट २ रुपैयाँ शुल्क निर्धारण गरेको छ ।
चौकिदारले प्रतिमिनेट चार रुपैयाँ तोकेको भन्दै कैदीबन्दीको गुनासो छ । कारागारका जेलर खड्काका अनुसार मंसिरसम्म कारागारबाट बाहिर फोन गर्दा प्रतिमिनेट १३ रुपैयाँसम्म तिर्नुपर्थ्यो । पछिल्लो समय शुल्क घटाइदिएको उनले बताए ।
रोजगारमा कैदीबन्दी
जिल्ला कारागारमा रहेका कैदीबन्दीले आयआर्जनमा पनि जोडिएका छन् । चौकीदार गिरीका अनुसार २६६ जना कैदीबन्दी मुडा बनाउने काममा जोडिएका छन् । कैदीबन्दीले बनाएको मुडा काठमाडौँसम्म निर्यात हुने उनले बताए ।
कारागारमा रहेका चारजना कैदीबन्दी टोपी बनाउने र ३५ जना फर्निचर बनाउने काममा जोडिएको उनले बताए । कैदीबन्दीका लागि गार्मेन्टको काम सिकाउने पनि तयारी भइरहेको उनले बताए ।
प्रतिक्रिया 4