२२ फागुन, काठमाडौं । प्लेयर अफ दि फाइनल, वेष्ट ब्याटर र प्लेयर फ दि टुर्नामेन्ट । सोमबार सम्पन्न ललितपुर मेयर्स कप महिला टी–२० क्रिकेटमा पाएको यो सफलताले बताउँछ, नेपाली महिला क्रिकेटका स्टार हुन् ज्योति पाण्डे ।
सशस्त्र प्रहरीको एपीएफ क्लबलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेकी ज्योतीले राष्ट्रिय टिममा अवसर पाउँदा पनि आफूलाई प्रमाणित गरिसकेकी छन् । तर उनलाई बेलाबेला दशक लामो खेल जीवन अन्त्य गर्नुपर्छ कि भन्ने लाग्छ ।
विराटनगरमा क्रिकेट पृष्ठभूमिमा हुर्किएकी ज्योतीको सोचले समग्र नेपाली महिला क्रिकेटरको प्रतिनिधित्व गर्छ । किनकी नेपालको महिला टोलीले अन्तर्राष्ट्रिय यात्रा प्रारम्भ गरेको डेढ दशक भइसक्दा पनि क्रिकेटरहरुले करिअर देख्न पाएका छैनन् ।
पहिलो पुस्ताकै महिला क्रिकेटरहरु राष्ट्रिय टोलीमा छन् । तर न निरन्तर प्रतियोगिता छ, न करियर ।
यद्यपि खेल जीवनप्रति कुनै गुनासो नरहेको ज्योती बताउँछिन् । उनकै शब्दमा भन्दा उनी राम्रो भविश्यको खोजीमा छिन् । राम्रो अवसर आएको अवस्थामा आफूलाई सबैभन्दा मनपर्ने खेल छोड्ने दिन धेरै टाढा नरहेको उनी बताउँछन् । ‘म आफ्नै रुचिले खेलमा आएकी हुँ । १२ वर्षदेखि क्रिकेट खेलिरहेको छु । मलाई ब्याटिङ र विकेटकिपिङ गर्न मन पर्छ,’ २९ वर्षीया ज्योतीले भनिन्, ‘सजिलो/अप्ठ्यारो समय राष्ट्रिय टिममा बिताएँ । सक्रिय उमेर क्रिकेटमा बिताएकोमा पछुतो छैन । तर बाँकी जीवनबारे सोच्नुपर्ने बेला भएको छ ।’

ज्योतीले भनेझैं नेपालमा महिला खेलाडीले क्रिकेटलाई करिअरकै रुपमा विकास गर्ने अवस्था बनिनसकेको सत्य हो । विश्वव्यापी रुपमै तुलनात्मक रुपमा महिला क्रिकेट पछाडि छ । अर्धव्यवसायिक खेल गतिविधि हुने नेपालमा त महिला क्रिकेटको अवस्था दयनीय नै छ । घरेलु प्रतियोगिता नियमित छैन, उमेर समूहका प्रतियोगिता छैनन्, फ्रेन्चाइज प्रतियोगिता छैन, राष्ट्रिय टिमको तयारीमा निरन्तरता छैन र खेलाडीको सुविधामा ध्यान दिइएको छैन ।
समग्रमा महिला क्रिकेटको संरचना नै कमजोर छ । ‘महिला क्रिकेट टिम अझै परिचित भइसकेको छैन । मैले खेल्न सुरु गर्दाको समयमा त बरु अलिअलि माहोल थियो । तर जति मिहिनेत गर्दा पनि हामीले महिला क्रिकेटलाई चिनाउन सकेका छैनौं । अहिले पनि नेपाली महिला क्रिकेट टिम छ भन्नेबारे धेरैलाई थाहा छैन,’ ज्योति भन्छिन्, ‘हामी पनि विश्वकपमा छनोट हुने सकिरहेका छैनौं ।’
ज्योतीका बुवा प्रदीप पाण्डे राष्ट्रिय खेलकुद परिषद (राखेप)का क्रिकेट प्रशिक्षक हुन् । पारिवारिक माहोलबाटै क्रिकेटमा रुचि भएपछि ज्योती पढाइलाई निरन्तरता दिने शर्तमा यो खेलमा होमिएकी थिइन् । अहिले भोलिका लागि आफूले खोजेको उचित अवसरका लागि उनलाई त्यही पढाइले सहयोग गर्ने उनको विश्वास छ । ‘जुनसुकै खेलमा भएपनि पढाइ छाड्नु हुँदैन । क्रिकेट कतिपय अवस्थामा दिमागी खेल हुन जान्छ । पढाइले सीप निखार्न सजिलो हुन्छ,’ एमबीए अध्ययनरत ज्योती अनलाइनखबरसँग भन्छिन् ।
सन् २०११ मै राष्ट्रिय टोलीको क्याम्पमा परेर पनि टिममा पर्न असफल ज्योतीले २०१६ को अक्टोबरमा टी–२० विश्वकप एसिया छनोटअन्तर्गत हङकङसँगको खेलबाट राष्ट्रिय टोलीमा डेब्यू गरिन् । अर्को महिना भारत, पाकिस्तान र श्रीलंका समेत सहभागी महिला टी–२० एसिया कपमा पनि ज्योतीले अवसर पाएकी थिइन् । फुटसल खेल्दा हात भाँच्चिएपछि २०१९ मा टी–२० विश्वकप एसिया छनोट र थाइल्याण्डमा आयोजित महिला टी–२० म्याच गुमाएकी उनी १३औं दक्षिण एसियाली खेलकुदमा टिमकी ‘वैकल्पिक’ खेलाडी थिइन् ।
२०२१ को नोभेम्बरमा महिला टी–२० विश्वकप एसिया क्वालिफायरका लागि बनेको नेपाली टोलीमा पुनरागमन गरेकी ज्योतीले यसपल्ट धेरै अवसर पाइनन् । क्वालिफायरअघि कतारसँगको तीन टी–२० खेलको श्रृंखला क्लिन स्वीप गर्दा उनले दुई खेल खेलिन् । टिममा दुईजना विकेटकिपर ब्याटर (काजल श्रेष्ठसहित) हुँदा पालैपालो खेलाइएको थियो । युएईमा नेपालले पाँच खेल खेल्दा ३ खेलमा अवसर पाएकी उनले ब्याटिङ गर्नै पाइनन् ।
अर्थात घरेलु प्रतियोगितामा राम्रो गर्दागर्दै अन्तर्राष्ट्रिय खेलमा उनले थोरै अवसर पाएकी छन् । ‘म आफ्नो प्रदर्शनबाट सन्तुष्ट छैन,’ ज्योती भन्छिन्, ‘अन्तर्राष्ट्रिय प्रतियोगितामा तयारी गरेर घरेलु प्रतियोगिता खेल्ने हो । घरेलु प्रतियोगिता अनुसार अन्तर्राष्ट्रियमा राम्रो प्रदर्शन गर्न सकेको छैन । आफ्नो प्रदर्शन राम्रो नहुनुमा मलाई आफैं तयार थिइनँ कि जस्तो भयो । धेरै नै सुधार गर्नुपर्नेछ भन्ने लाग्छ ।’
लगानी र अवसर बढाउने हो भने महिला क्रिकेटले पुरुषको तुलनामा धेरै सफलता हासिल गर्नसक्ने नेपाल क्रिकेट संघ (क्यान)कै पदाधिकारीले बताउने गरेका छन् । तर योजना तर्जुमा र कार्यान्वयनमा क्यान आफैं धेरै पछाडि छ । कुनै समय नेपालले सहजै पराजित गर्न सक्ने थाइल्याण्डजस्तो टोली नियमित विश्वकप खेल्ने भइसकेको छ । हङकङ, युएईलगायतले नेपालसामू चुनौति पेश गर्न थालेका छन् । नेपालले भने विश्वकपको सपना देख्न छाडेको त छैन, तर त्यसको तयारीका लागि प्रभावकारी काम पनि गरेको छैन ।
‘सीमित प्रतियोगिता खेलेर र प्रतियोगिताअघि २ महिनाको तयारी गरेर विश्वकपको सपना देख्न सकिंदैन भनेर हामीले पनि उठाइरहेको कुरा हो । वर्षमा एक–दुईवटा घरेलु प्रतियोगिता र अन्तर्राष्ट्रिय प्रतियोगिताले मात्र ठूलो लक्ष्य प्राप्त हुँदैन,’ ज्योती भन्छिन्, ‘हामीले थाइल्याण्डलाई हराउने गरेका थियौं भन्ने सुनेको थिएँ । अहिले थाइल्याण्डको स्तर धेरै माथि पुगेको छ । उनीहरु वर्षभरि नै प्रशिक्षण गर्छन्, धेरै अभ्यास खेल खेलिरहेका हुन्छन् र नियमित प्रतियोगितामा सहभागी हुन्छन् । हाम्रो चाहिं दुई वर्षमा मुस्किलले एउटा प्रतियोगिता हुन्छ, त्यसमा पनि एक महिनाअघि क्याम्प बोलाएर तयारी सुरु गरिन्छ ।’
त्यसो भए विश्वकप खेल्न के गर्नुपर्छ त ? ज्योती भन्छिन्, ‘महिला क्रिकेट टोलीको विकासका लागि खेलाडीलाई सुविधा चाहियो, अन्तर्राष्ट्रिय एक्स्पोजर, विदेशी प्रशिक्षकसहित स्तरीय ट्रेनिङका साथै छोरीहरुलाई क्रिकेट खेल्ने वातावरण बनाउन अभिभावकलाई नै प्रोत्साहित बनाउने कार्यक्रम सञ्चालन गर्नुपर्छ ।’ साथै पुरुष क्रिकेटरलाई जस्तै अन्तर्राष्ट्रिय एक्स्पोजर दिनुपर्ने उनको जोड छ । त्यसो भएमा पाँच वर्षभित्र विश्वकप खेल्न सकिने उनको विश्वास छ ।
क्रिकेट खेल्न सुरु गर्दैगर्दा उनले विश्वकप र अन्तर्राष्ट्रिय फ्रेन्चाइजमा पुग्ने लक्ष्य राखेकी थिइन् । त्यो सपना अझै पूरा भएको छैन । ‘हामीले धेरैपल्ट विश्वकप छनोट खेलेका छौं । पार गर्न सकेका छैनौं,’ उनी भन्छिन्, ‘क्रिकेट खेलाडीकै रुपमा आफ्नो लक्ष्य र भइरहेको प्रगतिबाट सन्तुष्ट छैन । विदेशमा महिला क्रिकेटका ठूला फ्रेन्चाइज लिग भइरहेको हुन्छ । बंगलादेश, अस्ट्रेलियामा नियमित प्रतियोगिता हुन्छ । त्यहाँसम्म पुग्न पाएको छैन । सायद हाम्रो क्षमता नपुगेर होला वा त्यहाँसम्म प्रयास नभएर होला ।’
भिडियो/तस्वीर : चन्द्र आले/अनलाइनखबर
                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
प्रतिक्रिया 4