
९ चैत, काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघको आसन्न महाधिवेशनले सहमतिबाटै नयाँ नेतृत्व चुन्ने अध्यक्ष नरेश कटुवालले बताएका छन् । महाधिवेशनबारे जानकारी दिन बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कटुवालले यस्तो बताएका हुन् ।
आगामी नेतृत्व कसले लिन्छ ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले वरिष्ठ उपाध्यक्षलाई नै अध्यक्ष बनाउने विषयमा छलफल चलिरहेको बताए । अहिले महासंघको वरिष्ठ उपाध्यक्ष कुमार कार्की छन् । अन्य पदाधिकारीहरु पनि सहमतिबाटै चुन्ने गरी छलफल भइरहेको उनको भनाइ छ ।
महासंघको चौथो साधारण सभा तथा दोस्रो राष्ट्रिय माधिवेशन आगामी २२ गते गर्दैछ । बानेश्वरको एभरेष्ट होटल काठमाडौंमा हुने समारोहको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने तय भएको महासंघले बताएको छ ।
उनका अनुसार समारोहमा उपराष्ट्रपति पुनसँगै अर्थमन्त्री जनार्दन शर्मा लगायत उच्च सरकारी अधिकारीहरुलाई समेत उपस्थितिका लागि निम्ता पठाइएको छ ।
महासंघले आफ्ना पुराना मागहरु पूरा गर्न समेत पत्रकार सम्मेलनमार्फत ध्यानाकर्षण गराएको छ । पछिल्लो समय बैंकहरुले अस्वभाविक रुपले बढाएको ब्याजले उद्योगी व्यवसायीहरुको ढाड सेकिएको छ र महँगी बढाएर आम उपभोक्ता सर्वसाधारणहरुमा नकरात्मक असर परेको भन्दै यसतर्फ सोच्न महासंघले सरकारसँग अनुरोध गरेको छ ।
‘महासंघले यसअघि पनि विभिन्न विषयहरुलाई आफ्ना एजेण्डाको रुपमा अघि सारी पूरा गराउनका लागि राज्यका विभिन्न निकायहरुमा ज्ञापन–पत्र बुझाएका थियौं’ अध्यक्ष कटुवालले भने, ‘ती एजेण्डाहरु पूरा गराउनका लागि पटक-पटक गरिएका प्रयासहरु केही पूरा भए, धेरै जसो पूरा हुन बाँकी नै छन्, हामीले उठाएका मागहरु समेत पूरा गराउन हामी पुनः सरकारको ध्यानाकर्षण गराउँछौं ।’
प्रतिक्रिया 4