+
+

सर्वोच्चका प्रस्तावित न्यायाधीशले भने : यति धेरै अविश्वास गर्ने भए न्यायाधीश किन चाहियो ?

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १५ गते १८:२८

१५ चैत, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तिलप्रसाद श्रेष्ठले गोलाप्रथाबाट पेशी तोक्ने प्रक्रिया बेठीक रहेको बताएका छन् । यसलाई न्यनीकरण नगर्ने हो भने न्याय प्रणालीमा गम्भीर समस्या उत्पन्न हुने उनले बतँए ।

मंगलबार संसदीय सुनुवाई समितिमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रस्तावित न्यायाधीश श्रेष्ठले गोलाप्रथा न्यूनीकरण नगरे सर्वोच्चसँगै उच्च र जिल्ला अदालत पनि केही वर्षमा डुब्ने टिप्पणी गरेका छन् ।

आफूले गोला प्रथा न्यूनीकरण गर्न फागुन १ गते सर्वोच्च अदालतमा पाँच पृष्ठ लामो सुझाव दिएको भन्दै उनले भने, ‘यसलाई न्युनकीरण गरिएन भने सर्वोच्च अदालत त डुब्यो डुब्यो, उच्च र जिल्ला अदालत केही वर्षमा सर्वोचच अदालतको स्थितिमा पुग्छ ।’

मुद्दाको पेशी व्यवस्थापनमा सेटिङ हुने गरेको प्रश्न उठेपछि सर्वोच्च अदालत र उच्च अदालतमा गोला प्रथाबाट न्यायाधीश र मुद्दा तोक्ने गरिएको छ ।

हाल उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रहेका श्रेष्ठले न्यायाधीश र अदालतमाथि यति धेरै अविश्वास गर्नु उचित नभएको बताए । ‘यति धेरै अविश्वास गर्ने भए न्यायाधीश र अदालत किन चाहियो ?’ उनले प्रश्न गरे ।

गोला प्रथा सुरु भएपछि मुद्दाको फर्छ्यौट दर अत्यन्तै कम भएको भन्दै श्रेष्ठले गोला प्रथाले भ्रष्टाचार भने नरोक्ने जिकिर गरे । ‘खास गरेर प्रधानन्यायाधीश र मुख्य न्यायाधीश मुद्दा तोक्दा हुन सक्ने चलखेल, जुन अहिले सेटिङ भनिन्छ, त्यो नियन्त्रण भएकै हो । तर यसले भ्रष्टाचार कम गर्छ ?’ उनले प्रश्न गरे, ‘पहिले न्यायाधीशसँग कुरा मिलाउँछ, अनि उसकोमा जुन दिन मुद्दा पर्छ, त्यही दिन हेर्छ । नत्र स्थगित गराउँछ ।’

उनले अघि भने, ‘मुद्दा स्थगित गराउन कन्ट्रोल गराउन पनि नसक्ने…, मैले रिसर्च गरेको छु ५२ पटकसम्म एउटा मुद्दा स्थगित भएको छ । किन हुन्छ ? अदालतले ५२ पटक स्थगित हुँदा पनि किन यति धेरै स्थगित गरेको भन्न नसक्ने, कानुन व्यवसायीले ५२ पटक स्थगित गर्न पाउनुपर्ने अनि मुद्दा एकै वर्षम्मा छिन्नुपर्ने ? यस्तो कसरी हुन्छ ?’

गोला प्रथाको अहिलेको अवस्था केही वर्षसम्म रहेमा न्यायाधीशले नभई नेपाल बार एशोसिएसन र सेवाग्राहीले नै गोला प्रथा अन्त्यको माग गर्ने श्रेष्ठले बताए ।

सुनुवाइका क्रममा सांसदहरुले सर्वोच्च अदालतमा पेशी तोक्न अवलम्बन गरिएको गोला प्रथा ठीक कि बेठीक भनी प्रश्न गरेका थिए ।

नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले विशेष प्रकृतिक मुद्दा हेर्न विशेष क्षमताको न्यायाधीश चाहिने विषय पनि उठेको भन्दै गोला प्रथाले यसलाई प्रभावित पार्छ कि पार्दैन भनी प्रश्न गरिन् ।

नेकपा माओवादी केन्द्रका सांसद देव गुरुङले गोला प्रथालाई निरन्तरता दिनु आवश्यक छ कि छैन भनी प्रश्न गरेका छन् ।

‘चिट्टा प्रणालीबाट मुद्दा तोक्ने जो सुरु भयो चोलेन्द्रशम्शेर जबराको पालामा विभिन्न प्रश्न उठ्यो त्यो बेला गोलाप्रथा ठीक थियो । तर आम रुपमा सिस्टमकै रुपमा कति ठीक होला या नहोला ?’ उनको प्रश्न थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?