६ वैशाख, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नवौं राष्ट्रिय खेलकुदमा पनि सहभागिता जनाउने भएको छ ।
एनआरएनए स्पोर्टस एकेडेमीका सदस्यसचिव धर्मराज गिरी र राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्यसचिव टंकलाल घिसिङबीच मंगलबार विभागीय टिमको हैसियदबाट नवौं खेलकुदमा पनि एनआरएनए टिमको सहभागिता निरन्तरता दिने सहमति भएको हो ।
नवौं राष्ट्रिय खेलकुद जेठ २२ देखि २८ सम्म गण्डकी प्रदेशमा हुँदैछ ।
एनआरएनए स्पोर्टस एकेडेमीका सदस्यसचिव गिरीले यस संस्करणमा खेल र खेलाडी संख्या बढाएर सहभागी हुने तयारी गरिएको अनलाइनखबरलाई बताए ।
‘अघिल्लो संस्करणमा छोटो समयमा तयारी गर्नुपर्ने भएकाले ६ खेलमा मात्र सहभागिता थियो । यसपल्ट कम्तिमा १८ खेलका १५० भन्दाबढी खेलाडी सहभागी गराउने तयारी गरेका छौं,’ सदस्यसचिव गिरीले भने ।
उनले तयारीका लागि एनआरएनएको ६५ सदस्य राष्ट्रमा पत्राचार गरिसकिएको जानकारी दिए ।
एनआरएनएले यसपल्ट आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बक्सिङ, बुद्धिचाल, क्रिकेट, फुटबल, जुडो, कराँते, लन टेनिस, सफ्ट टेनिस, पौडी, टेवल टेनिस, भलिबल, तेक्वान्दो, बास्केटबल र रग्बी खेलमा सहभागिता जनाउनेछ ।
प्रतिक्रिया 4