+
+

तल्लो तहका प्रहरीका लागि अभूतपूर्व काम भयो : शैलेश थापा क्षेत्री

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १४ गते २२:४२

१४ वैशाख, काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नो कार्यकालमा तल्लो तहका प्रहरी कर्मचारीका लागि अभूतपूर्व काम भएको दाबी गरेका छन् ।

तीस वर्ष सेवा अवधिका कारण १९ वैशाखबाट अवकाशमा जान लागेका महानिरीक्षक थापाले बुधबार प्रहरी प्रधान कार्यालय, नक्सालमा पत्रकार सम्मेलन गरेर भने, ‘आईजीपी विशिष्ट श्रेणीको कर्मचारी हो, ऊ सधैँ विशिष्ट श्रेणीप्रति मात्र केन्द्रीत हुन्छ भन्ने आरोप लाग्थ्यो । मैले त्यसलाई चिरेँ भन्ने लाग्छ ।’

उनका अनुसार तल्लो तहका प्रहरी कर्मचारीका लागि तीन वटा पद थप गरेर बढुवा गर्नु पर्ने ठूलो संख्यामा प्रहरी कर्मचारीहरुको मनोबल बढेको छ । हालै सरकारले नेपाल प्रहरीमा वरिष्ठ प्रहरी नायब निरीक्षक, वरिष्ठ प्रहरी हवल्दार र प्रहरी सहायक हवल्दारको पद थप्ने निर्णय गरेको थियो ।

‘मेरो कार्यकालमा प्रहरीमा झण्डै १५ हजार नयाँ पद थपिए, त्यसमा बढुवा हुँदा मनोबलको हिसाबले पनि राम्रो काम भयो’ उनी भन्छन् । त्यसबाहेक प्रहरीमा सबैभन्दा वेवास्ता गरिएका प्रहरी कार्यालय सहयोगीका लागि पनि महत्वपूर्ण काम गरेको उनले स्मरण गरे ।

‘भान्छा, मेस र बगैंचामा काम गर्ने प्रकाशहरुमाथि खासमा विभेद भइरहेको थियो’ क्षेत्रीले भने, ‘उनीहरु ३० वर्षसम्म काम गर्दा पनि समान हैसियतमा फर्किन्थे, अब चाहिँ उनीहरुले अवकाश हुँदा पाँचौं तहसम्म बढुवा हुने व्यवस्था गरेका छौं ।’

आफ्नो कार्यकालभरि प्रहरीलाई राजनीति हस्तक्षेपबाट पनि जोगाउने प्रयास गरेको उनले बताए । ‘प्रहरी आफैंमा स्वतन्त्र एजेन्सी होइन, ऐन र नियमावलीले नै सरकार र गृह मन्त्रालयको भूमिका तोकेको छ’ उनले भने, ‘तर बाहिरी वातावरणबाट प्रहरीका कुनै निर्णय गाइड हुँदा पनि त्यसलाई संगठनकै हितमा ल्याउने प्रयास भएको छ ।’

प्रहरी महानिरीक्षकको रुपमा आफ्नो भूमिका पनि ‘हस्तक्षेप’लाई संगठनको हितमा ल्याउने प्रयास गर्नु भएको उनले बताए । ‘यदी त्यसलाई संगठनको हितमा ल्याउन सकिन्न भने त्यसकालाई च्यानलाइज गर्नुपर्छ भन्ने हो, त्यसका लागि नीतिगत सुधार गरिएका छन्’ क्षेत्रीले भने । त्यस हिसाबमा आफू सन्तुष्ट रहेको उनले बताए ।

तर केही नसुल्झिएका पुराना अपराधको अनुसन्धान टुंगो लगाउन नसकेकोमा चाहिँ आफूलाई कमी महसुस भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?