
२९ वैशाख, जनकपुरधाम । मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीमाथि पैसा बाँडेको आरोप लागेको छ ।
जनकपुरधामस्थित सीताशरण होटलमा बसेर अन्सारीले मतदातालाई रिझाउन पैसा बाँडेको आरोप एमालेका कार्यकर्ताहरुले लगाएका छन् ।
एमालेका कार्यकर्ता अन्सारी बसेको होटल घेराउ गर्न पुगेपछि सो क्षेत्र तनावपूर्ण बनेको छ ।
मुस्लिम समुदायका अगुवालाई बोलाएर अन्सारीले रकम वितरण गरिरहेको सूचना पाएपछि आफूहरु त्यहाँ पुगेको नेकपा एमालेका जनकपुरधाम नगर कमिटी सचिव राजु साहले दाबी गरे ।
नेकपा एमालेका कार्यकर्ता पुगेर होटेल नै घेराउ गरेपछि पुगेको प्रहरी टोलीले अन्सारीलाई सुरक्षासहित बाहिर निकालेको छ ।
मेरो चरित्र हत्या गर्ने प्रयास भयो : अन्सारी
अन्सारीले भने आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको बताएका छन् । जनकपुरधामका स्वतन्त्र उम्मेदवार जानकीराम साहको पक्षमा मतदाता रिझाउन रकम वितरण गरेको आरोप उनीमाथि लागेको छ ।
सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो राख्दै अन्सारीले होटेलमा बसिरहँदा आफूमाथि अभद्र व्यवहार गरिएको बताएका छन् । उनले अभद्र व्यहवहार गर्न लाग्दा प्रहरीले सकुशल त्यहाँबाट निकालेर विमानस्थलमा पुर्याइदिएपछि अहिले काठमाडौं पुगेको बताएका छन् ।
उनले आरोपको खण्डन गर्न आजै पत्रकार सम्मेलन गर्न लागिएको जानकारी गराएका छन् ।
प्रतिक्रिया 4